राजनीति र अन्य सामाजिक कुराले जनतालाई चिन्तित बनाइरहेका बेला नेपाली खेल जगत्ले बेला–बेलामा आशाको सञ्चार गरिरहन्छ । त्यहीँ एउटा स्टारको पर्फमेन्सका कारण सारा नेपालीले आफ्ना दु:ख बिर्सने अवसर पाउँछन् । कहिले फुटबलमा, कहिले कराँतेमा तथा कहिले अल्ट्रा रेसमा यस्ता स्टार जन्मिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय उपाधि जितिरहेका छन् । एक दशकयता क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता प्रशंसनीय छ । हालै क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले देखाएको खेलकौशल यस्तै लोभलाग्दो छ । नेपालको सुदूरपश्चिमी सहर महेन्द्रनगरमा जन्मिएका दीपेन्द्रसिंहले फागुनको अन्तिम साता सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा जुन किसिमको प्रदर्शन गरे, त्यसले उनको मात्र होइन, नेपालकै क्रिकेटको उज्वल भविष्यतर्फ संकेत गरेको छ । राष्ट्रिय टिममा पहिलो पटक छानिएका दीपेन्द्र नेपाललाई एक खेल जिताउन सफल पनि भए । राम्रो खेल खेले पनि दीपेन्द्र असाध्यै कम बोल्छन् ।
तपाईंका कारण नेपालले केन्यालाई जित्यो, पहिलोपल्ट नै यति ठूलो प्रदर्शनको आशा गर्नुभएको थियो?
खेल्न मैदानमा उत्रनुको अर्थ जित्नु नै हो । मलाई विश्वास थियो । मलाई मात्र होइन, हरेक खेलाडी मैदानमा त्यस्तै आशा लिएर उत्रन्छ । त्यसमा कसैको ब्याडलक हुन्छ भने केही चम्कन्छन् ।
तर तपाईंको गुडलक भयो हो ?
होइन, राम्रो खेलेका कारण हो । मैले जति खेल खेलेको छु, सबैमा राम्रो गरेको छु । मलाई आफ्नो खेलमा विश्वास छ ।
तपाईंको खास उमेर कति ?
१७ वर्ष मेरो पासपोर्टमा भएको आधिकारिक उमेर हो । मेरो त्यही उमेरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । म नेपाल प्रहरीको जागिरे पनि हुँ । त्यहाँ मेरो उमेर २० वर्ष उल्लेख छ ।
प्रहरीले तपाईंलाई कसरी जागिरमा लियो ?
नेपाल प्रहरीलाई क्रिकेट टिम बनाउनुपरेको थियो । मलाई पनि खेलजीवनलाई अघि बढाउन जागिर चाहिएको थियो । त्यसैले कुरा मिल्यो । नेपाल प्रहरीले मजस्ता दर्जनौं युवालाई जागिर दिएर देशको क्रिकेटमा ठूलो योगदान गरेको छ ।
अन्तर्राष्ट्रिय खेलमा अन्डर टिनको खेल खेल्दै हुनुहुन्छ, दार्ही जुँगा झ्याप्प आएको छ, तपाईं टिन एजमा हुनुहुन्छ भनेर पत्याउँछन् त ?
यति मज्जाले सप्रिएको दार्ही जुँगा फाल्न मन लागेन । यो मेरो आफ्नै फेसन हो । आखिर सबै खेलाडीको आ–आफ्नो स्टाइल हुन्छ, मेरो पनि होस् भनेर पालेको ।
तपाईं कुन खेलाडीको फ्यान ?
एम एस धोनीको । धोनीको कप्तानी तथा खेल फिनिसिङ गर्ने कला मलाई एकदमै मन पर्छ । मैले उहाँको बोयोपिक ‘धोनी, अन टोल्ड स्टारी’ हेरेँ । उक्त चलचित्र हेरेपछि उहाँले गरेको संघर्ष र मौका आउँदा गर्ने पर्फमेन्सले मलाई आश्चर्यचकित तुल्यायो । त्यसपछि मैले उहाँका सबै कुरा पच्छ्याउने गरेको छु ।
तर धोनीको कुनै फेसन छैन । त्यस्ता सरल खेलाडीको फ्यानको यो फेसन, अलि अनौठो लाग्यो ।
फ्यान हुनुको अर्थ उक्त व्यक्तिको गुणलाई फलो गर्ने हो । बाँकी आफ्ना सौख पनि हुन्छन् । सबै कुरा कपि गर्यो भने दीपेन्द्रसिंह ऐरीचाहिँ कहाँ बाँकी रहन्छ त ?
कसको फ्यान हुनुहुन्छ ?
शरद भेषवाकरको । उहाँ पनि फिनिसिङ गर्ने कलामा पोख्त हुनुहुन्छ । उहाँ जुनसुकै सिचवेसनलाई पनि क्यास गर्न सक्नुहुन्छ । उहाँ इमर्जिङ कपको उप–कप्तान हुनुहुन्छ । त्यसैले उहाँसँग खेल्ने क्रममा म उहाँको प्रशंसक भैरहेको छु ।
खासमा तपाईंसँग कुरा गर्न निकै गाह्रो हुने रहेछ, प्रेसलाई कसरी फेस गर्नुहुन्छ ?
सिक्दै जानुपर्ला ।
कलेज जाँदै हुनुहुन्छ कि छाड्नुभयो ?
मेरो साथी कुशल भुर्तेल बिहान कलेज जान्छ । ऊ मेरो रुम–मेट पनि हो र हामी सँगै खेल्छौं । ऊ कलेज जाँदा मलाई पनि कलेज जाउँm–जाउँm लाग्छ, तर मैले प्लस टु भन्दा माथि पढ्न सकिनँ ।
किन ?
म ११ क्लासमा अध्ययनरत छँदा नेपाल प्रिमियर लिग हुने भयो । जेठमा बोर्ड परीक्षा थियो, त्यसअघि नै खेल सुरु भयो । क्लोज क्याम्पमा बस्ने कि परीक्षा दिने भन्ने दोधारका बीच मैले खेल रोजेँ । त्यसबापत वन विभागमा काम गर्ने बुवाको गाली खाएँ । उहाँ मलाई सरकारी जागिरे बनाउन चाहनु हुन्थ्यो, मैले भने खेल रोजेँ । पढ्न छाडेर खेल्न जाँदा मैले बुवाको हातको कुटाइ पनि खाएको छु।
अहिले तपाईं सरकारी जागिरे हुनुहुन्छ, बुवा के भन्नुहुन्छ ?
बुबाले जुन दिन म विदेशमा खेल्न जाने भएँ भन्ने कुरा थाहा पाउनुभयो, त्यो दिन खुसी हुनुभयो । मानिसहरू पैसा तिरेर विदेश जान्छन्, म खेल खेल्न देशको प्रतिनिधि भएर विदेश जाँदै थिएँ । उनीहरू पनि ठूला मान्छे होलान् तर म आफ्नो ठाउँमा सन्तुष्ट छु । एसएलसीमा सेकेन्ड डिभिजन आएको थियो । एक नम्बर नपुग्दा म फस्ट डिभिजन हुनबाट रोकिएँ । त्यतिबेला पढेको भए पनि हुने थियो भन्ने नलागेको होइन तर आजभोलि नपढेकोमा त्यति चिन्ता लाग्दैन ।
फ्यान फलोइङ देख्दा कस्तो लाग्छ ?
मेरा धेरै फ्यान छैनन् । मलाई मानिसहरूले त्यति चिन्दैनन् । केही केटी साथी छन् । उनीहरूलाई फ्यान भन्न नमिल्ला कि ?
गर्लफ्रेन्ड ?
होइन, साथीहरू । गर्लफ्रेन्ड त बनाउने बेलै भएको छैन ।
तर केटीहरूले मरिहत्ते गर्छन् भन्ने सुनिन्छ नि ?
माया गर्न थालेका छन्, खुसी लाग्छ, तर म खेलमै फोकस हुन चाहन्छु । नेपालको क्रिकेट र मेरो करियरलाई माथि पुर्याउन चाहन्छु, तसर्थ मेरा लागि यो गर्लफ्रेन्ड बनाउने उपयुक्त समय होइन ।
कहाँ पुग्न चाहनुहुन्छ ?
नेपालले वान डे स्टाटस पाओस्, वल्र्डकप क्वालिफाइडमा परियोस् भन्ने चाहन्छु । टी–ट्वान्टीमा राम्रो प्रदर्शन गर्न चाहन्छु । हाम्रा सिनियर क्रिकेटरहरूले साह्रै राम्रो प्रदर्शन गरेर नेपाललाई एउटा उचाइमा पुर्याउनुभएको छ, उहाँहरूको इज्जत राख्न चाहन्छु ।
राजनीतिमा रुचि छ ?
छैन ।
चर्चित नेपाली क्रिकेटरहरूको नाम किन ज्ञानेन्द्र, पारस, दीपेन्द्र आदि भएको होला ?
चर्चित नेपाली क्रिकेटरको नाम शरद, शक्ति, वसन्त अनि विनोद पनि छ नि † मानिसहरूको ध्यान त्यतातिर चाहिँ किन नगएको होला ?