आज शुक्रबार सातौं संस्करणको बिग आइकनको फाइनलसँगै विजेताको घोषणा हुँदैछ । सातौं बिग आइकनको उपाधिका लागि चितवन पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ तथा कास्की याम्जाकोटकी प्रिया गुरुङबीच प्रतिस्पर्धा छ । फाइनल कार्यक्रममा अन्तिम प्रतिस्पर्धामा पुगेका यी तीनका अतिरिक्त उत्कृट १० मा पुग्न सफल प्रतिभाको प्रस्तुतिसमेत सुन्न पाइनेछ । बिग आइकनको फाइनलमा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरव पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्मा तथा कुश्माका लक्ष्मण दर्जीले आफ्नो प्रस्तुतिमार्फत पोखरा सभागृह गुञ्जाउनेछन् । बिग आइकनमा यो वर्ष १ हजार १ सय ५२ जना सहभागी थिए ।
प्रिया गुरुङ
बिग आइकनको मञ्च उनका लागि नौलो भने थिएन । पाँचौं बिग आइकनमा उनी यो मञ्चमा आएकी थिइन् । त्यतिबेला उनी उत्कृष्ट २० सम्मको यात्रा तय गरेर बाहिरिएकी थिइन् । यसपटक बिग आइकनमा आउने खासै सोच थिएन, तर साथीहरूले कर गरेपछि उनले यसमा सहभागी नभै सुखै पाइनन् र साथीहरूले गरेको कर सार्थक पनि भयो ।
२० वर्षीया प्रिया गुरुङ यतिबेला सामाजिक संजाल युट्युबमा ‘भाइरल’ भएकी छिन् । हेमन्त रानाले गाएको ‘साइँली’ गीतको प्रतिउत्तरमा उनले गाएको गीत ‘साइँला’लाई यूट्युबमा राम्रो ‘भ्यूअर्स’ मिलेको छ । बिग आइकनमा आएपछि उनले उक्त गीत युट्युबमा अपलोड गरेकी थिइन् । जब उक्त गीत युट्युबमा अपलोड भयो, त्यसपछि प्रियाको चर्चा थप चुलियो । भर्खर विवाह बन्धनमा बाँधिएकी प्रियालाई सासू, ससुरा तथा श्रीमान्को साथले पनि संगीतमा केही गर्न हौस्याएको छ । उनलाई कतिपय बेला लाग्छ, ‘सातौँ बिग आइकन आफू नै बन्ने त होइन’, तर जब उनी आफ्ना प्रतिस्पर्धीहरूलाई हेर्छिन् त्यसपछि भने उनलाई शंका लाग्छ । ‘सबै उस्तै छन् । त्यसैले कुनै दाबा गर्न सकिँदैन ।’ प्रियाले भनिन् ।
सागर आले
चितवन पटिहानीबाट बिग आइकन बन्ने सपना साँचेर पोखरा हुइँकिएका सागर आलेलाई लाग्छ, ‘सपना देख्नेकै पूरा हुन्छ ।’ त्यही सपना साकार तुल्याउने दौडमा उनी लक्ष्यको नजिक पुग्दैछन् । पोखरामा आफन्तकहाँ बसेर उनले बिग आइकनको यात्रालाई अघि बढाइरहेका छन् । सागर चितवन पटिहानी वरपर चर्चित भैसकेका गायक हुन् । सम्बन्धको हिसाबले छैटौँ बिग आइकन साजन आले उनका आफ्नै दाइ हुन् । सागर आफ्ना दाजुको इतिहास दोहोर्याउने पक्षमा छन् । यद्यपि उनी आफ्नो लक्ष्य प्राप्ति त्यति सहज हुने भने देख्दैनन् ।
चितवनको सप्तगण्डकी मल्टिपल कलेजमा कक्षा १२ मा अध्ययन गरिरहेका सागरले बिग आइकन बन्ने धुनमा केही समययता आफ्नो पढाइलाई समेत बेवास्ता गरिरहेका छन् । ‘मलाई बिग आइकन बन्नु छ, कुनै पनि हालतमा ।’ सागर भन्छन्— चितवन आइडलमा उत्कृष्ट ८ र नेपाली तारामा उत्कृष्ट २० सम्म पुगिसकेका सागर बिग आइकनका लागि आफूलाई ‘डिजर्भिङ’ मान्छन् । सागरलाई प्रतियोगितामा आफ्नो निकटतम प्रतिस्पर्धी प्रिया गुरुङ लाग्छिन् । ‘प्रिया भर्सटाइल छिन् । उनको स्वर पनि मीठो छ । यदि म बिग आइकन भइनँ भने प्रिया नै हुनुपर्छ जस्तो लाग्छ,’ सागरले भने ।
सुवास गुरुङ
पोखरा लेखनाथ सैनीक बस्तीका सुवास गुरुङ निकै मिजासिला छन् । उनको सबैभन्दा ठूलो चाहना भनेको मिडियामा आउनु हो । त्यसको माध्यम उनले गायनलाई बनाएका छन् । ‘मिडियामा धेरैवटा विधामार्फत प्रवेश गर्न सकिन्छ, तर मैले जानेको विधा गायन हो र म यही विधाबाट मिडियामा छाउन चाहन्छु ।’ ‘द सैनिक सेभियर्स’ उनको ब्यान्ड हो । गुरुङ साथीहरू मिलेर खोलिएको उक्त ब्यान्डका भोकलिस्ट हुन् । रक पप शैलीका गीत उनको रुचिको विषय हो ।
बिग आइकनको चौथो संस्करणदेखि नै उनी यो मञ्चसँग परिचित छन् । त्यतिबेला उनी पहिलो चरणको अडिसनबाटै बाहिरिएका थिए । तत्पश्चात् उनी छैटौँ बिग आइकनमा पुन: सहभागी भए । त्यतिबेला उनको यात्रा उत्कृष्ट २० मा पुगेर टुंगियो । उनले त्यतिमै हिम्मत हारेनन् । सुवास भन्छन्– ‘बिग आइकन बन्नु मेरा लागि ठुलो कुरा हो ।’ आफूलाई नेपथ्यका गायक अमृत गुरुङको ‘सुपर फ्यान’ बताउने सुवासले आफू पनि त्यस्तै लोकप्रिय बन्न चाहेको उल्लेख गरे ।