साप्ताहिक संवाददाता
हुनत आज मुर्ख दिवस अर्थात् ‘अप्रिल फस्ट’, तर यो खबरमा केही सत्यता चाँही छ । नेपाली चलचित्रकी अहिलेकी सर्वाधिक व्यस्त एवं चर्चित अभिनेत्री प्रियंका कार्की अपहरणमा परेकी छिन् । उनलाई अपहरण गरिएको भिडियो हिजो शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको १८ घण्टामै उक्त भिडियो झन्डै ४५ हजारभन्दा बढि पटक हेरिएको छ । प्रियंकालाई केही गुण्डा जस्ता देखिने मानिसहरुले आँखामा पट्टी बाँधेर अपहरणका मुख्य योजनाकार सामू लगेको पनि भिडियोमा देखिन्छ । योजनाकार पनि अरु कोही नभएर स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हुँदै हजारौं दर्शकको मन जितेर स्टेज किङकै रुपमा चिनिन थालेका लोकप्रिय गायक प्रमोद खरेल भएको भिडियोमा देखिन्छ । गायक प्रमोद खरेलको चर्चित गीत ‘ओई झुमा झुम्कावाली’को म्युजिक भिडियोमा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्कीलाई उनी असाध्यै व्यस्त रहेकीले फेरी आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्नका लागि प्रमोदले उनलाई अपहरण गराएको बुझिन्छ ।
वास्तवमा यसैलाई दृश्य बनाएर प्रमोदको नयाँ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो तयार पारिएको हो । म्युजिक भिडियोको शुरुवात प्रियंका कार्कीको अपहरण शैलीमा गरिएको गायक प्रमोद खरेल बताउँछन् । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक डिपी खनालको शब्द रचना तथा संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा ‘लाईदेउ न मायाले’ बोलको गीत गाएका छन् । साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै खर्चिलो म्युजिक भिडियोलाई गायक खरेलले आज शुक्रवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । दिक्षा क्रिएसनले निर्माण गरेको यो भिडियोको थुप्रै म्युजिक भिडियो तथा एउटा चलचित्र निर्देशन गरिसकेका सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।
यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी नम्बर वान नायिका प्रियंका कार्कीको साथ पाएका छन् । यसअघि झुम्कावाली...गीतमा पनि गायक खरेललाई प्रियंकाले साथ दिएकी थिइन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अभिनय गरेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै अभिनेत्री कार्कीले आफु गायक प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा सधैं उत्साहित हुने धारणा व्यक्त गरिन् ।
अघिल्लो साता दरबारमार्गस्थित नेपालकै सबैभन्दा ठूलो क्लब ‘डेजा भू’ मा छायांकन गरिएको भिडियोमा गायक खरेल स्वयं अभिनेताको रुपमा प्रस्तुत भएका छन् । अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् । निशान घिमिरेद्वारा सम्पादित उक्त भिडियोमा डिआईडी फेम सुनिल क्षेत्री तथा उनको समूह नेपाली ठिटोजले कोरियोग्राफी गरेका छन् ।
यस्तो छ भिडियो :