साप्ताहिक संवाददाता
वाइफाई चल्छ भने जान्छु, नत्र जान्नँ । गइयो भने पनि एक्लै कहाँ गइन्छ र ? रामले सीता र लक्ष्मण लगेजस्तै आफूलाई मन पर्ने मान्छे साथै लिएर जान्छु ।
इतु जोजिजु, गायिका
दुई दिनमै भ्याएर आउँछु अनि रामायण–टुको कथा सुरु हुन्छ ।
सुमी मोक्तान, अभिनेत्री
पहिलो एक वर्ष आउने १३ वर्षका लागि तयार हुन योग साधना गर्छु । चार वर्ष सुर साधना गर्छु । चार वर्ष विश्व संगीत र साहित्यको अध्ययन गर्छु । तीन वर्ष प्रशिक्षक भएर चेलाहरू उत्पादन गर्छु । बाँकी दुई वर्ष चेलाहरूमार्फत मेरो ज्ञान समाजमा फैलाउन लगाउँछु र आफूचाहिँ योग गर्छु अनि वनवास सकिएपछि समाजमा फर्किएर सांगीतिक खोजकर्ता योगगुरुका रूपमा आफुलाई अगाडि ल्याउँछु । अन्तिममा भोलिपल्ट बिहानै उठेर कस्तो राम्रो सपना देखिएछ भनेर मज्जाले हाँस्छु ।
मनोजराज शिवाकोटी, गायक
रामको जस्तो आज्ञाकारी कहाँ छु र म ? कलियुगको मान्छे, जसले मलाई वनवास पठाउन खोज्छ उसैलाई वनबास पठाइदिन्छु ।
निशान घिमिरे, भिजुअल एडिटर
एउटा ल्यापटप र डायरी लिएर जान्छु । डायरीमा मेरो जंगल यात्राका बारेमा टिपोट गर्छु र ल्यापटपमा पुस्तक लेख्छु । उताबाट फर्किएपछि त्यही पुस्तक प्रकाशन गरेर चर्चित हुन्छु ।
सञ्जीव खत्री, पाकशास्त्री
जंगलमै रिसोर्ट खोल्छु ।
प्रल्हाद बोगटी, संगीतकार
मोबाइल र वाइफाई हुनुपर्छ, १४ वर्ष त के सधैं बस्न सकिन्छ ।
सुजन सुवेदी, फेसन व्यवसायी
रामले वनवासमा सीतालाई लगेझैं राम्री गर्लफ्रेन्ड पनि साथमा लान पाए १४ वर्ष मात्र किन ? २८ वर्ष नै बसिन्थ्यो नि ।
गजित विष्ट, अभिनेता
हरेक वर्ष जंगल फेस्टिभलको आयोजना गर्ने थिएँ ।
सोभित बस्याल, इभेन्ट आयोजक
सीतालाई सँगै लिएर हिंड्नुपर्ला । जंगलमा सिकार गर्न जाँदा रावणले छल गरेर भगाउला भन्ने पो डर छ । बरु जान्न होस् ।
नवनीतराज प्रधान, अभिनेता
आफूलाई त जहाँ भए पनि रमाइलो गर्नुपर्छ, जंगल होस् वा घर । भएजति बेस्ट फ्रेन्डलाई लिएर जान्थें । हरेक दिन सिकार खेलेर बारबिक्यू पार्टी गर्थें ।
सुजना ढकाल, मोडल
सीताझैं श्रीमती पनि पछि लागे त गज्जबै हुने थियो ।
निराजन लुइँटेल, इभेन्ट आयोजक
जंगलका जनावर तथा आदिवासीहरूका लागि क्युज सिनेमा हल खोल्थें ।
सुमित मैनाली, प्रदर्शक
वनवासको १४ वर्षमा गीत–संगीत तथा साहित्य क्षेत्र अनि देशलाई मार्गनिर्देश गर्ने एउटा नौलो अनि महत्वपूर्ण गीतिग्रन्थ (महाकाव्य) पूरा गर्ने थिएँ ।
डिपी खनाल, गीतकार
सर्प र अन्य जीवजन्तुको वृत्तचित्र बनाउँथें । फर्केर डिस्कभरी, एनिमल प्लानेट वा नेसनल जोग्राफीजस्ता च्यानललाई बेच्ने थिएँ ।
कमल प्यासी देवकोटा, रंगकर्मी
स्वर्गवासी नै भइन्थ्यो नि । इन्टरनेट, पार्टी, परिवार, साथीभाइ सबै नभएपछि त्यसै स्वर्गवासी भैहालिन्छ नि ।
सोनाम पाख्रिन, भिजे/मोडल
म त खुसी हुँदै जान्थे । आखिर यहाँको अवस्था कंक्रिटको जंगलमा बसेजस्तै त छ । धूवाँ, धूलो, अभाव, बेरोजगारीभन्दा टाढा त भइन्छ । बरु त्यो १४ वर्षमा जंगललाई नेताहरू बस्न लायक बनाउँछु ।
सन्दीप पोखरेल, मिस्टर नेपाल
त्यस्तो गोल्डेन चान्स त के मिल्ला र कलियुगमा ? सीता पनि साथमै हुन्छिन् । त्यही निहुँमा रामले रावणलाई सक्नुपरेको थियो । अहिले त जताततै रावण भेटिन्छन् । जिन्दगी त रावणहरूलाई सिध्याउँदैमा बित्छ ।
सुरेश थापा, दर्शने
राम पनि सीता नजाने भएकी भए कहाँ जान्थे होला र ? म त झन् जंगलमा टन्नै कलियुगे सीताहरूलाई लगेर डिजे पार्टी गर्न पाए मात्र जान्छु ।
डिजे तामा
राम त धेरै भाग्यमानी, उनी वनवास होइन हनिमुन गएका हुन् । संसारमा राम्री श्रीमती अनि बडीगार्डमा लक्ष्मणजस्तो बलशाली भाइ साथमा भए के चाहियो ? म त आफ्नो १२ वर्षे वनवासमा एक्लै थिएँ । मजस्ता धेरै नेपाली अहिले पनि वनवासमा छन् ।
माधव वाग्ले, चलचित्र निर्माता
जंगलको राजा सिंहलाई साथी बनाउँछु र जंगलको प्रधानमन्त्री भएर बस्छु ।
बादल प्रसाईं, गायक
रामले श्रीमती लिएर गएका थिए, म एक्लै जान्छु ।
सावित्री केसी, चलचित्र निर्देशक
ट्राभलिङ टु जंगल फोर्टिन इयर्स भनेर स्टाटस लेख्थेँ । जानैपर्ने भएपछि के गर्नु त अब ?
कुशल पाण्डे, अभिनेता
सँगै गएका सीता र लक्ष्मण, उतै भेटिने हनुमान, सुग्रीव, बाली, जाम्बोवानहरूलाई भेला गरेर नाटक निर्देशन गर्थें । राम गएको वनमा त हरेक जीवजन्तु मानिससरह नै सोच्न र बोल्न सक्छन् क्यार, त्यसैले दर्शकको अभाव पनि हुँदैन ।
केदार श्रेष्ठ, रंगकर्मी
सीताझैं कोही साथै हुन्छिन् कि हुन्नन्, सबै कुरा त्यसमै भर पर्छ । लक्ष्मण जस्तो कोही नभए पनि हुन्छ ।
अशेष अधिकारी, सञ्चारकर्मी
म त जान्नँ । यतै चलचित्र बनाउन छाडेर को जान्छ वनवास ? बरु मेरो साटो तपाईं नै जानुस् ।
अर्जुनकुमार, चलचित्र निर्माता
रमाइलो हुने थियो । काठमाडौंको कोलाहल र प्रदूषणबाट मुक्त त भइन्थ्यो ।
अर्जुन अधिकारी, म्युजिक भिडियो निर्देशक
म त यो देशको हालत देखेर आत्तिएको छु, खुसी हुँदै जान्थें । मेरो स्याङ्जाको घर पारी दुईपाखे वन छ । त्यहीं गएर बस्थे । गीत गाएर नि पैसो कमाउन सकिएन, बरु त्यतै आनन्द हुने थियो ।
पशुपति शर्मा, गायक