आन्तरिक तथा बाह्य पर्यटकहरूमा पोखरामा आयोजना गरिने फेवा नववर्ष महोत्सवमा पुगेर नेपाली नयाँ वर्षको स्वागत गर्नूपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ । नेपाली युवाहरूमा नेपाली संस्कृतिप्रतिको रुचिमा आएको वृद्धिले पनि यसलाई सहज बनाएको हो । उक्त महोत्सवमा नेपालीका अतिरिक्त विदेशी पर्यटकहरू उलेख्य मात्रामा सहभागी हुने गरेका छन् । नयाँ वर्षको उपलक्ष्यमा पोखरामा परिकार तथा सांस्कृतिक प्रदर्शन गरिन्छ, जसका साथमा लाइभ म्युजिक तथा दोहोरी गीतको समेत मज्जा लिन पाइन्छ । चौधौं संस्करणको फेवा नववर्ष महोत्सव चैत २९ गतेदेखि वैशाख २ गतेसम्म कोमागाने पार्कमा सञ्चालन हुने भएको छ ।
उक्त अवसरमा साधारण गेस्ट हाउसदेखि रूपाकोट रिसोर्ट, होटल पोखरा ग्रान्ड, सांग्रिला रिसोर्टजस्ता तारे होटलले विशेष प्याकेज उपलब्ध गराउने भएका छन् । नयाँ वर्ष मनाउन पोखरा पुग्ने आन्तरिकपर्यटकहरूलाई लक्षित गरेर होटल तथा रिसोर्टले आफ्नो स्तरअनुसार आवासमा ४० प्रतिशतसम्म तथा खानेकुरामा १५ प्रतिशतसम्म छुट दिने बताइएको छ । नयाँ वर्ष मनाउन पोखरा पुग्नेहरूलाई छिमेकी जिल्लाका होमस्टे पुर्याउने व्यवस्थासमेत मिलाइनेछ । नयाँ वर्षको उपलक्ष्यमा धम्पुस, घान्दु्रक, मुक्तिनाथ, स्याङ्जा सिरुवारी आदि पर्यटकीय स्थल घुम्न जानेहरू पनि उत्तिकै हुन्छन् । नयाँ वर्षको अवसरमा पोखरामा घुम्न आउनेहरूलाई प्याराग्लाइडिङ, बञ्जिजम्प तथा ट्रेकिङमा विशेष प्याकेजसमेत उपलब्ध गराइन्छ ।
यहाँ नेपाली नयाँ वर्षलाई लक्षित गरेर डान्स पार्टी, फेसन शो तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने क्रम पनि बर्सेनि बढ्दै गएको छ । पोखरामा रहेका अक्सिजन लाउञ्ज बार, आइरिस पव, इमोन्स क्याफे, सुगरक्यान, जोब्रा, फ्रिडम क्याफे, मधुशाला, विजिवि, त्रिसरा, वन लव, नेगबोरहुड, ओरेन्ज हाउस, राइस वुल, डुङ्गा रेस्ट्रो एण्ड लाउञ्ज बार आदिमा विभिन्न कलाकारका साथमा लाइभ म्युजिकको मज्जा लिँदै नयाँ वर्षको स्वागत गर्न पाइनेछ ।
त्यसैगरी रंगिला डान्सबार, क्लब ९९ डान्स बार, देशिबार, परदेशी, ताजमहल, टकिला, बलिउड, स्काइ प्यालेस, मार्कुस, एक्सबार, रोयल गोरखा प्यालेस एन्ड डान्सबारमा समेत मनोरञ्जक कार्यक्रमहरू हुनेछन् । मेलोडी क्याफे, सेन्टरप्वाइन्ट तथा ओपन हाउस गजल साँझ आदिले नयाँ वर्षमा ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नेछन् ।
रिमझिम, पोखरा दौंतरी, हाम्रो, बिसौनी, गाउँसहर, न्यू रूपाहिल, सात ताल, शिखर, फेवा, निरमाया, मान्द्रो, सुनाभागा, भञ्ज्याङ, वर–पिपल, गोधूलि, चौतारी आदि दोहोरी साँझमा समेत नेपाली नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम हुने बताइएको छ ।
पोखरामा घुम्न सकिने ठाउँ
नयाँ वर्ष मनाउन पोखरा आउनेहरूको मुख्य आकर्षण फेवाताल हो जहाँ डुंगामा सयर गर्दै प्राकृतिक सुन्दरता नियाल्न पाइन्छ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले यो तालको महत्व बढाएको छ । पोखरा र वरिपरि रहेका वेगनास, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी, न्युरेनी तथा कमल पोखरीको आ–आफ्नै महत्व तथा विशेषता छ । यसैगरी पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरू देख्न सकिन्छ । माछापुच्छ्ेर, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पोखराको सुन्दरता बढाएको छ ।
पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा धेरै पर्यटक पुग्ने गुफा हो । दुई भागमा विभाजित उक्त गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेको मन्दिर छ । यो गुफा भित्रैबाट डेभिड फल्स देखिन्छ । त्यसैगरी बाटुलेचौरस्थित महेन्द्र गुफाभित्र १ सय २५ मिटरसम्म सजिलै जान सकिन्छ । महेन्द्र गुफाबाट ७ सय मिटरको दूरीमा रहेको चमेरे गुफा १ सय ५० मिटर लामो छ ।
यसबाहेक पोखरामा रहेका विभिन्न संग्रहालय, विन्ध्यवासिनी तथा भद्रकाली मन्दिर, हेम्जा गुम्बा, शान्तिस्तूपा, पुम्दिकोट टावर, काहूँडाँडा, सराङ्गकोट, लभ्लीडाँडा, रातोमाटे डाँडा, पामे, पावरहाउस, माटेपानीगुम्बा, रुपाकोट आदि रमणीय स्थान पुगेर नयाँ वर्षलाई अविस्मरणीय बनाउन सकिन्छ ।