उदयपुरका पर्यटकीय स्थल ताप्ली र रौता पोखरीमा हरेक नयाँ वर्षका दिन मेला लाग्ने गरेको छ ।
ताप्ली पोखरी
यो पोखरी जिल्लाको ताप्ली गाउँपालिकामा छ । कटारी नगरपालिकाबाट सिद्धिचरण राजमार्ग हुँदै चार–पाँच घण्टाको यात्रापति ताप्ली पोखरी पुगिन्छ । यो पोखरीले प्राकृतिक सौन्दर्य, धार्मिक गाथा एवं पर्यटकीय महत्त्व समेटेको छ । समुद्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी रहन्छ । यो पोखरीबाट सगरमाथासम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ ।
बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पुग्छन् । ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराइ ३ मिटर छ । तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । यो मन्दिरमा नयाँ वर्षका दिन पूजा–आराधना गर्नाले रोगव्याधि निको हुने जनविश्वास छ । यही पोखरीको नाममा ताप्ली गाउँपालिकाको नामांकन गरिएको हो ।
रौता पोखरी
रौता पोखरी जिल्लाको रौतामाई गाउँपालिकामा अवस्थित छ । यो पोखरी सदरमुकाम गाईघाटदेखि उत्तर–पश्चिम क्षेत्रमा समुद्र सतहभन्दा ५ हजार ९ सय फिट उचाइमा छ । रौता पोखरी आसपासमा रहेका ग्रामीण होटलहरूमा लोकल कुखुराको मासु तथा ढिंडो खान पाइन्छ । यहाँ धर्मशाला पनि छ । रौता पोखरीको पूर्वतिर हरियो जंगल, चित्रेथाम तथा धौलागिरि हिमालको दृश्यावलोकन गर्न पाइन्छ । साँझ पर्दै गएपछि पोखरीको पानी नीलो रंगमा परिवर्तन हुन्छ ।
यो पोखरीको मन्दिरमा मगर पुजारी छन् । किंवदन्ती अनुसार गुरुङले पत्ता लगाएर पूजा–आराधना थालेको भए पनि गुरुङ फर्किएर गएपछि आसपासका मगरले त्यहाँ पूजा–आराधना गर्न थालेका हुन् ।
रौतारानीको पूजा–आराधना गर्नाले दीर्घायु एवं सु–स्वास्थ्य प्राप्त हुने जनविश्वास छ । यही पोखरीको नाममा रौतामाई गाउँपालिकाको नाम राखिएको हो । यो पोखरीमा पनि हरेक नयाँ वर्षका दिन विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजित गरिन्छ ।