साप्ताहिक संवाददाता
ओलम्पिकजस्तो विश्वकै सर्वाधिक ठूलो खेल महोत्सवमा नेपालको सहभागिता खालि सहभागिताकै लागि मात्र हो अथवा त्योभन्दा बढी केही हो ? यस्तै नेपालका लागि ओलम्पिकजत्तिकै महत्त्व राख्ने राष्ट्रिय खेलकुदको आयोजना खालि आयोजनाकै लागि मात्र हो अथवा त्योभन्दा बढी केही हो ? यी प्रश्न २०७३ ले फेरि एकपल्ट सोध्ने प्रयास गरेको छ, किनभने वर्ष २०७३ मा नेपाली खेलकुद यिनै दुई ठूला प्रतियोगिता वरिपरि घुम्यो ।
ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुदमा अघिपछि जस्तै नेपालले कुनै पदकको आशा गरेको थिएन । रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली टिमको नेतृत्व गर्दै राष्ट्रिय झन्डा बोक्ने भाग्यमानी खेलाडी रहिन्— २१ वर्षीया फुपु ल्हामु खत्री । जुडोकी यी खेलाडीको प्रदर्शन भने अपेक्षा गरे जत्तिकै रह्यो र उनी आफैंले पनि भनिन्, ‘मेरो प्रदर्शन राम्रै भयो ।’ उनी नेपाली जुडो इतिहासमा ओलम्पिक प्रतिस्पर्धामा पूरा समय टिक्ने पहिलो खेलाडी पनि हुन् ।
शिरीष गुरुङले रियो ओलम्पिकमा एकपछि अर्को कीर्तिमान बनाए । यसपल्टको ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहलाई विदेशी मिडियाले लगातार पछ्याए । महिला सय मिटर ब्याकस्ट्रोकको हिट्समा उनी पहिलो पनि भइन्, तर उनको समय प्रतिस्पर्धाको अर्को चरण पुग्न पर्याप्त थिएन । अर्कातर्फ जितबहादुर मोक्तान ओलम्पिकमा सहभागी हुने पहिलो आर्चरी खेलाडी बने । उनले रियोमा अपेक्षाअनुरूप नै प्रदर्शन गरे ।
सरस्वती भट्टराईका लागि रियो ओलम्पिक–२०१६ धेरै अर्थमा सुखद रह्यो । ब्राजिल जानुअघि उनको एउटै लक्ष्य नयाँ राष्ट्रिय कीर्तिमान स्थापना गर्नु थियो र उनी त्यसमा सफल समेत भइन् । महिला १५ सय मिटर दौडमा उनको सबैभन्दा ठूलो लक्ष्य नै राष्ट्रिय कीर्तिमान मात्र हुन सक्थ्यो, किनभने त्यसमा कायम कीर्तिमान २६ वर्ष पुरानो थियो र त्यो राजकुमारी पाण्डेको नाममा थियो । सरस्वतीले रियोमा ४ मिनेट र ३३ दशमलव ९४ सेकेन्डको समय निकालिन् र हिट्समा सहभागी १४ खेलाडीमध्ये १३ औं स्थानमा रहिन् । यसको अर्थ उनी सेमिफाइनल पुग्न असफल भइन्, तर उनले निकालेको समय आपैंmमा ठूलो उपलब्धि थियो । राजकुमारीले सन् १९९० को बेइजिङ एसियाली खेलकुदमा ४ मिनेट ३४ दशमलव ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । तेक्वान्दोमा निशा रावलको प्रदर्शन पनि खासै रहेन । यी सबै अर्थमा रियो ओलम्पिक नेपालका लागि कुनै ठूलो उपलब्धि लिएर आएन । बरु यसअघि झैं बढी पदाधिकारी रियो पुगेर त्यसलाई अर्को विवादको विषय बनाए ।
हुने–नहुनेको अन्यौल र धेरैपटकको स्थगन पछि पूर्वाञ्चलले अन्तत: सातौं राष्ट्रिय खेलकुदको आयोजना गर्यो, तर यो मैदानमा प्राप्त हुने सफलताभन्दा खराब व्यवस्थापनका कारण चर्चामा रह्यो । भलै यो राष्ट्रिय खेलकुद एउटा ठूलो ब्रेक थ्रु थियो, तर त्यसले कमैलाई मात्र चित्त बुझाउन सक्यो । नेपाली घरेलु खेलकुदको सबैभन्दा ठूलो महोत्सव विराटनगरमा सुरु भएर धरानमा सम्पन्न भएको थियो । प्रतियोगिता जहिलेदेखि सुरु भयो, त्यसका सकारात्मक पक्षको भन्दा कमजोरीकै बढी चर्चा भयो ।
सबैको अनुभव थियो, अहिलेको जत्तिको खराब व्यवस्थापन राष्ट्रिय खेलकुदमा यसअघि कहिल्यै देखिएको थिएन । विवाद र अनुशासनहीनताका प्रसङ्ग पनि उत्तिकै बाहिर आए । आर्थिक चलखेल र अनियमिताका रहस्य पनि खोलिए । कमजोर भौतिक पूर्वाधारको दुखेसो पनि उत्तिकै गरियो । आयोजक सहरहरू तथा आयोजक राष्ट्रिय खेलकुद परिषद्का लागि यो जत्तिको नमज्जा सायद अरू केही थिएन । त्यसैले ओलम्पिक र राष्ट्रिय खेलकुदले धेरै उत्तर दिनुको धेरै प्रश्न खडा गर्यो ।
वर्ष २०७३ नेपाली खेलकुदका लागि अरू कारणले पनि निराशाजनक रह्यो, विशेषत: नेपाली क्रिकेट । खालि विवाद मात्र भैरहने नेपाली क्रिकेट यसपल्ट शून्यकै स्थितिमा झर्यो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बनमा रहेको स्थितिमा कुनै प्रकारको प्रगति हुन सकेन । विवाद अहिले पनि यथावत छ । भलै यसबीच राष्ट्रिय टिमले भने लगातार प्रतियोगिताहरूमा सहभागिता जनाई रह्यो । आईसीसी महिला विश्वकप छनौटमा पनि नेपालको प्रदर्शन कमजोर सावित भयो । उपलब्धिका रूपमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) भने सम्भव भयो । नेपालले यू–१९ एसियाकप तथा एसीसी इमरजिङ टिम्स कपमा पनि खासै केही गर्न सकेन ।
नेपाली फुटबलका लागि वर्ष २०७३ धेरै अर्थमा सुखद रह्यो । नेपालले एएफसी सोलिडारिटी कप जितेर एसियाकप छनोटको तेस्रो चरण खेल्ने अवसर प्राप्त गर्यो । भारतमा सम्पन्न वुमेन्स साफ
च्याम्पियनसिपमा भने नेपाल पहिलोपल्ट फाइनलमा पुग्न असफल भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आए पनि उसको नेतृत्वमा हुने प्रतियोगिता शून्यकै स्थितिमा रह्यो । सबैभन्दा ठूलो समस्याका रूपमा वर्ष २०७३ मा पनि लिग हुने सकेन र लिग कहिले हुने हो, त्यो पनि निश्चित हुन सकेन । लिगको अभावमा नेपाली फुटबलको भविष्य शून्यकै स्थितिमा झर्न सक्ने स्थितिले धेरैलाई चिन्तित तुल्यायो । नेपाली घरेलु फुटबललाई जोगाउने एक मात्र आधार मोफसलमा हुने प्रतियोगिता रहे ।
महिला बडी बिल्डिङमा ननिता महर्जनले पहिलो पदक दिलाएर इतिहास बनाइन् । यस्तै इतिहास बन्यो, पुरुष भलिबलमा । वर्षको अन्त्यतिर पुरुष भलिबलले यो खेलको इतिहासमै पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जित्यो । नेपालले भलिबलमा सहभागिता जनाउन थालेको ४१ वर्ष भैसकेको थियो र यस क्रममा पहिलो पदक रह्यो– कांस्य । नेपालले यो उपलब्धि माल्दिभ्समा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलमा प्राप्त गरेको हो ।