वर्ष ०७३ मा मुलुकको सामाजिक, राजनीतिक एवं आर्थिक जीवनका बहुल पक्षमा विविध घटना घटे । तीमध्ये केही सुखद घटना थिए, जसले समाजलाई आशातीत मार्गदर्शन गर्ने काम गरे । केही नकारात्मक घटनाले भने समाज एवं आमनागरिकलाई निराश बनाए । यस्ता दुवै किसिमका परिघटनाले नेपाली समाजलाई निरन्तर तरंगित तुल्याइरहे । केही पात्रको सकारात्मक प्रयासका कारण समाज निराशाबाट आशाको सुखद गोरेटोतर्फको यात्रामा अघि बढ्यो । थोरै सही समाजका विविध क्षेत्रमा त्यस्ता नायकहरूको उदय भयो, जसले सिंगो समाजलाई आशातीत भविष्यको सपना देख्न प्रेरित गरे । समाजका सबै क्षेत्रमा सकारात्मक प्रयास, कार्य र उपलब्धिका कारण केहीले वर्षभरि नै मुलुक र आमनागरिकको जीवनलाई समेत प्रभावित तुल्याइरहे । सकारात्मक कर्मका कारण त्यस्ता व्यक्तिहरू न्युजमेकर्सको छविमा देखिए । कतिपय पात्र स्वार्थ, विवाद, नकारात्मक पथ र कर्मका कारण वर्षभरि नै विवादित भए । त्यस्ता व्यक्तिहरूले समाजलाई निराश बनाए । साप्ताहिकले वर्ष ०७३ समाजमा सकारात्मक प्रयासका कारण चर्चामा रहेकाहरूलाई वर्षका बार्ह शीर्षकमा प्रस्तुत गरेको छ ।
राजनीति
केपी ओली, जनार्दन शर्मा, गगन थापा
वर्षभरि नै चर्चामा रहने पात्र हुन्— एमाले अध्यक्ष केपी शर्मा ओली । प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दीअगाडि नझुकी चीनसँग महत्वपूर्ण सम्झौता गरेपछि उनी धेरैको रोजाइमा थिए । ओलीको सरकार गत असारमा अल्पमतमा पर्यो र साउनमा उनी सत्ताबाट बाहिरिए, तर नाकाबन्दीदेखि बनेको उनको राष्ट्रवादी छवि र त्यसपछि राष्ट्रिय राजनीतिमा प्रस्तुत गरेको अडानका कारण उनी वर्षभरि नै न्युज मेकर्स रहे ।
लोडसेडिङ अन्त्य गर्न खेलेको भूमिका तथा उज्यालो नेपाल अभियानका कारण ऊर्जामन्त्री जनार्दन शर्मा निरन्तर मिडियामा छाइरहे । रुकुमका शर्मा एकीकृत माओवादी केन्द्रका युवा नेता हुन् । गर्न चाहे सबै कुरा सम्भव छ भन्ने कुरा उनले आफ्नो कर्मबाट सिद्ध गरिदिए, जुन अन्य राजनीतिज्ञहरूका लागि पनि पाठ हुन सक्छ ।
विद्यार्थी राजनीतिदेखि नै चर्चामा रहेका गगन थापाले वर्ष–२०७३ मा पहिलो पटक मन्त्री बन्ने सौभाग्य प्राप्त गरे । कांग्रेस–माओवादी गठबन्धन सरकारमा गगन जब स्वास्थ्यमन्त्रीका रूपमा शपथ लिँदै थिए, सामाजिक सञ्जालमा उनीमाथि खबरदारीका औंलाहरू ठडिइरहेका थिए, तर गगनले आफ्नो अगुवाइमा स्वास्थ्य क्षेत्रमा थुपै्र सुधार योजना अघि सारेर आफूतिर ठडिएका औंलाहरूलाई जवाफ फर्काए ।
प्रशासन
कुलमान घिसिङ, कृष्ण देवकोटा
सधैं काम नलाग्ने भनेर आलोचना खेप्ने प्रशासन संयन्त्रमा कुलमान घिसिङ आशाको किरणका रूपमा देखा परे । घिसिङ २९ भदौमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका हुन् । ११ औं तहबाट एकैपटक फड्को मार्दै नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका घिसिङले आफ्नो व्यवस्थापकीय क्षमता दर्साउँदै काठमाडौंलाई झिलिमिली बनाइदिए । रामेछापको बेथानमा जन्मिएका घिसिङले पुल्चोक क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’मा मास्टर्स गरेका छन् भने पोखरा विश्वविद्यालयबाट ईएमबीए गरेका छन् ।
पोखरा र चितवनजस्ता ठूला सहर पनि अहिले लोडसेडिङ मुक्त भैसकेका छन् भने घिसिङ नेपाललाई नै लोडसेडिङ मुक्त गर्ने अभियानमा जुटिरहेका छन् । कुलमानको कुशलता प्रशासन संयन्त्रको गुमेको साख स्थापित गर्ने महत्वपूर्ण कडी बन्यो । सहसचिव हुँदै सुदूरपश्चिम क्षेत्रीय निर्देशकबाट पदोन्नति भएर यही वर्ष भूमिसुधार सचिव भएका कृष्ण देवकोटा काठमाडौं उपत्यकामा दुई वर्षभन्दा बढी एउटै मालपोत कार्यालयमा रहेका अधिकृतहरूको एकैपटक उपत्यकाबाहिर सरुवा गरी चर्चामा आए । देवकोटाले पहुँचका आधारमा वर्षौंसम्म एकै स्थानमा बसी अकुत सम्पत्ति कमाउने कर्मचारीहरूविरुद्ध आफ्नै सक्रियतामा अनुगमन गरी अख्तियारलाई कारबाहीका लागि सिफारिससमेत गरे ।
कानुन
सुशीला कार्की, ओमप्रकाश अर्याल र कपिलदेव ढकाल
२७ असारमा शपथ लिएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेकी थिइन्— सुशीला कार्की । नेपालकै पहिलो महिला न्यायाधीश कार्की वर्षभरि नै चर्चामा रहिन् । अस्थायी न्यायाधीशका रूपमा न्याय क्षेत्रमा प्रवेश गरेकी सुशीलाको छवि साहसिक फैसला लिन सक्ने न्यायमूर्तिका रूपमा स्थापित छ । सर्वोच्चमा उनको आगमनले न्याय क्षेत्रमा आशाका किरणहरूको सञ्चार गरायो । प्रधानन्यायाधीश कार्की यसपालि लोकमान प्रकरणदेखि आइजीपी प्रकरणसम्म जोडिएर निरन्तर चर्चामा रहिन् ।
सर्वोच्च अदालतमा परेका दुई ठूला मुद्दाले पनि निकै चर्चा पाए, जसमध्ये एउटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति बदर हुनुपर्ने माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेका थिए । ७ चैत २०६९ मा उनले लोकमानको नियुक्त गैरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । लोकमानलाई सर्वोच्चले २४ पुसमा अख्तियारको प्रमुख आयुक्तको पदमा रहन अयोग्य घोषित गर्दै पदमुक्त गर्यो । २०५५ सालमा कानुनी व्यवसायमा प्रवेश गरेका अर्याल त्यसपछि ‘लोकमान लडाउने वकिल’ का रूपमा चर्चाको शिखरमा रहे ।
अर्को मुद्दा थियो, आईजीपी प्रकरणसँग जोडिएको । कांग्रेस–माओवादी केन्द्र सरकारले तेस्रो वरियताका जयबहादुर चन्दलाई प्रक्रिया मिचेर आइजीमा बढुवा गर्न खोजेपछि उक्त निर्णय बदर गर्न माग गर्दै २८ माघमा अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रमाइलो त के भने मन्त्रिपरिषद्ले आईजीपी नियुक्त नगर्दै उनले सरकारले विधी मिचेर आईजीपी नियुक्त गर्न लागेको भन्दै उक्त रिट दायर गरेका थिए, जसका कारण आईजीपी नियुक्त गरेको केही घण्टामै सर्वोच्चले उक्त निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश जारी गर्यो ।
समाजसेवा
धुर्मुस–सुन्तली र पुष्पा बस्नेत
पेसाले हास्यकलाकार हुन्— सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, तर पछिल्ला वर्षमा यो जोडीको छवि मानकका रूपमा स्थापित हुँदैछ । सरकारले भूकम्पबाट बिल्लीबाठ भएका नेपालीको घर निर्माण गर्न ढिलाइ गरिरहेकै बेला यो नमुना जोडीले भने काभ्रे र सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत नमुना बस्ती निर्माण गरेर भूकम्पपीडितहरूलाई घामपानीबाट बच्ने ओत दियो । वर्षको अन्त्यतिर मधेस झरेको यो जोडी अहिले महोत्तरी जिल्ला बर्दिवास–२ मा गरिबीको चपेटामा रहेका मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेर हस्तान्तरणको अन्तिम तयारीमा छ, जसका कारण यो जोडी वर्ष २०७३ भरि नै नेपाली सञ्चारमाध्यममा छाइरह्यो ।
समाजसेवामा उत्कृष्ट योगदान पुर्याएबापत पुष्पा बस्नेतले यो वर्षको मंसिरमा यसअघिका चारवटा सीएनएन हिरोलाई पछि पार्दै सीएनएन सुपरहिरोको प्रतिष्ठित एवार्ड हात पारिन् । सन् २०१२ की सिएनएन हिरो पुष्पाले जेल परेकाहरूका असहाय सन्तानलाई प्रदान गरेको मातृत्व र अभिभावकत्व संसारभर प्रशंसित छ ।
स्वास्थ्य
डा. गोविन्द केसी र डा. पुकारचन्द्र श्रेष्ठ
चिकित्सा शिक्षा गुणस्तर सुधार र वरिष्ठताका आधारमा डिन नियुक्तिलगायतका १२ सूत्रीय माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी दसौं पटक अनशन बसे । चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक अनशन बसिरहेका डा. केसी दसौं पटकको अनशनमा पनि उनले विगतमा उठाएकै विषयले प्राथमिकता पाएको थियो, तर त्यसको केन्द्रमा भने त्रिविको उपकुलपति कार्यालयले वरियता मिचेर २८ कात्तिकमा डिन नियुक्ति गरेका प्रा. डा. केशवप्रसाद सिंहको बर्खास्ती रह्यो । उनको २२ दिन लामो अनशनको बलमा वरियताको तेस्रो नम्बरमा रहेका डा. सिंह बर्खास्त त भए नै, वरियतामा एक नम्बरमा रहेका प्रा.डा. जगदीशप्रसाद अग्रवाल नै डिन नियुक्त भए ।
वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ यो वर्ष नेपालमै पहिलोपल्ट सफल कलेजो प्रत्यारोपणसँगै चर्चामा आए । २२ मंसिरमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उनीसहितको कोरियन चिकित्सकहरूको टोलीले ८ घण्टा लगाएर बलराम नागाको कलेजो प्रत्यारोपण गरेका थिए । नागालाई उनकी ४२ वर्षीय दिदीले कलेजो दिएकी थिइन् । डा. श्रेष्ठकै पहलमा सरकारले मस्तिष्क मृत्युपछि अंगदानसम्बन्धी ऐन पनि यसै वर्ष ल्याएको हो । उक्त ऐनसँगै मस्तिष्क मृत्यु भएका मानिसबाट आँखा, मृगौला, पेनक्रियाज, कलेजो, छालाजस्ता महत्वपूर्ण अंगहरूको प्रत्यारोपणसम्बन्धी कानुनी बाटो खुलेको छ ।
चलचित्र
दीपकराज गिरी, दीपाश्री निरौला,, भोजराज भाट, मीनबहादुर भाम
दीपकराज गिरी र दीपाश्री निरौलाको नेपाली हास्य कलाकारितामा आफ्नो छुट्टै स्थान छ । यी दुईको सहयात्रा ‘धनियाँ र रामविलास’ शीर्षकको रेडियो कार्यक्रमबाट सुरु भएको हो । त्यसपछि यो जोडी हास्य टेलिश्रृखला ‘तीतो सत्य’ हुँदै अहिलेसम्म चलचित्र निर्माण र अभियनमा समेत उत्तिकै जमेको छ । गत वर्ष दीपाले आफूले निर्देशन गरेको पहिलो चलचित्रबाटै कीर्तिमानी सफलता हात पारिन् । उनको सफलताको इन्जिनियरिङ भने लेखक/निर्माता तथा कलाकार दीपकले गरेका थिए । वर्षभरि नै नेपाली फिल्म नगरीमा ‘छक्कापञ्जा’को बम्पर हिटको जति चर्चा भयो, त्यति नै चर्चामा छाए दीपक र दीपा पनि।
०७१ को किम्फबाट प्रदर्शनी सुरु गरिएको सञ्चारकर्मी भोजराज भाटको वृत्तचित्र ‘सुनकली’ लगातार तेस्रो वर्षसम्म ‘वाहवाही’ बटुल्न सफल रह्यो । कर्णालीको विकट मुगु जिल्लाका किशोरीहरूको फुटबल प्रेमको कथा उनिएको उक्त वृत्तचित्रले अहिलेसम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय गरी २१ वटा एवार्ड हात पारिसकेको छ । जसमध्ये ०७३ मा मात्र उक्त वृत्तचित्रले ७ वटा एवार्ड हात पार्यो । वर्षको अन्त्यमा स्पेनको फुटबल टिक एथलेटिको क्लब बिलबाओ निमन्त्रणामा वृत्तचित्रकी मुख्य पात्र सुनकली बूढा निर्देशक भाटसँगै स्पेन पुगेकी थिइन् । उनले त्यहाँ क्बलको फुटबल टिमसँग फुटबलसमेत खेलिन् । उक्त वृत्तचित्र १ सय ३८ अन्तर्राष्ट्रिय चलचित्र फेस्टिबलमा प्रदर्शन भैसकेको छ ।
मीनबहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ नेपालमा ०७३ मा प्रदर्शन गरिएको थियो । अघिल्लो वर्ष नै भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा क्रिटिक्सतर्फ उत्कृष्ट चलचित्र घोषित भएपछि बहुप्रतीक्षित मानिएको थियो । ‘कालो पोथी’ले ‘अग्र्यानिक फिल्म’को टिप्पणी मात्र पाएन, सबैको मन पनि जित्यो । झन्डै ४५ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा प्रदर्शन भैसकेको यो चलचित्रले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय एवार्ड हात पारिसकेको छ । स्क्रिप्टकै कारण छायांकन र पोस्ट प्रोडक्सनका लागि अन्तर्राष्ट्रिय फन्ड पाएको ‘कालो पोथी’ले माओवादी द्वन्द्व, नेपाली समाज एवं इतिहासको पृष्ठभूमिमा दुई बालकको मित्रताको कथा भन्छ ।
कला शैली
तेरिया फौजामगर, समुन्द्रमान सिंह श्रेष्ठ, अञ्जली लामा
नेपाली चेली तेरिया मगर ‘झलक दिखला जा’को नवौं संस्करणको विजेता भइन् । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारित हुने चर्चित रियालिटी शो को विजेता भएसँगै तेरियाको चर्चा अकासियो । जादुयी नृत्यका लागि प्रख्यात रुद्रपुर रुपन्देहीकी १४ वर्षीया तेरियाले यसअघि ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि पनि जितिसकेकी छिन् । जितपछि उनले भनिन्, म तेरिया मात्र नभै नेपालकी तेरियाका रुपमा परिचित हुन चाहन्छु ।
अञ्जली लामा ल्याक्मे अन्तर्राष्ट्रिय फेसन विकमा पहिलो ट्रान्सजेन्डरका रूपमा भाग लिएर चर्चामा आइन् । फेसन विकमा उनको सहभागिताले नेपालमा मात्रै चर्चा पाएन, उनी विश्वभरका मिडियाहरूमा उनी छाइन् । अग्लो जीउडालकी आकर्षक युवती देखिने अञ्जली पुरुषका रूपमा जन्मिएकी हुन भन्न गाह्रो पर्छ । परम्परागत पौभा कलामा नयाँ धार लिएर देखा परेका हुन्— चित्र कलाकार समुन्द्रमानसिंह श्रेष्ठ । ३८ वर्षीय श्रेष्ठका कलामा पाइने सामयिकी चिन्तन र प्रस्तुति निकै प्रभावी मानिन्छ । साढे दुई दशकदेखिको निरन्तरको कला साधना र परिश्रमपछि समुन्द्रका कलामा झनै निखार आएको छ । उनका चित्र लाखौं रुपैयाँमा बिक्री हुने गरेका छन् । यो वर्ष उनले इम्बोडाइड इनलाइटमेन्टजस्तो बृहत एकल चित्रकला प्रदर्शनी गरे ।
संगीत
हेमन्त राना, मीना निरौला तथा कालीप्रसाद बाँस्कोटा
‘सुन साइँली...’ गीत हिट भएपछि गायक हेमन्त राना नेपाली सांगीतिक आकाशका जबरजस्त छाए । नेपालगन्जका यी युवा गायकले तीन वर्ष अमेरिका बसेर फर्किएपछि उक्त गीत रेकर्ड गराएका थिए ।त्यही गीतले उनलाई नाममात्र दिएन्, स्टार गायकका रूपमा स्थापित नै गरिदियो । मीना निरौला र संगीतको साइनो नयाँ होइन, तर सेलिब्रेटी गायिकाको छवि बनाउन निरौलाले यो वर्ष रिलिज भएको ‘लुट–२’ को ‘ठमेल बजार..’ र ‘पर्व’को ‘कालेदाइ..’ सम्म कुर्नुपर्यो । यी गीतले उनलाई न्युजमेकर्स सेलिब्रेटी बनायो । भारतको मणिपुरमा जन्मिएकी मीना भारतमा शास्त्रीय संगीतमा स्नातक गरेर नेपाल आएकी हुन्। ‘ठमेल बजार...’ र ‘सुन साइली...’ दुवै हिट गीतका संगीत सर्जक कालीप्रसाद बाँस्कोटा हुन् । चलचित्र ‘रेसम फिलिली’ को गीत ‘पारि त्यो डाडाँमा...’ पछि उनका एकपछि अर्को गीत हिट भएका छन् । गत वर्ष उनको ‘निर जहिल्यै रिसाउनी...’ गीत हिट भएको थियो । यो वर्ष उनले कम्पोज गरेका दुई गीत ‘सुन सुन साइली...’ र ‘ठमेल बजार...’ हिट भए ।
साहित्य
रामलाल जोशी, सुविन भट्टराई
लेखक रामलाल जोशीको कथा संग्रह ‘ऐना’ले मदन पुस्कार हात पार्यो । कैलालीको धनगढीमा रहेर अध्यापन पेसामा संलग्न जोशी मोफसलमै रहेर साहित्य सिर्जना गर्छन् । ‘ऐना’ २०५७ सालमा गजल संग्रह ‘हत्केलामा आकाश’ प्रकाशन गरेका जोशीको दोस्रो कृति हो । १९ वटा कथा संग्रहित ‘ऐना’लाई सर्वत्र रुचाइयो ।
उपन्यास ‘समर लभ’ को सफलतापछि नेपाली युवा पाठकहरूको ढुकढुकी बनेका हुन्— सुबिन भट्टराई । त्यसपछि दोस्रो उपन्यास ‘साया’बाट पनि उनले उत्तिकै सफलता हात पारे । गत वर्षको दसैंमा सार्वजनिक भएको उनको तेस्रो उपन्यास ‘मनसुन’ हिट भएपछि त सुबिनको चर्चा थप चुलियो ।
खेलकुद
मीरा राई, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, विराज महर्जन
अल्ट्रा धावक मीरा राई नेसनल ज्योग्राफिक एडभेन्चर्स अफ द इयर भएपछि मिडियामा छाइन् । भोजपुरको ग्रामीण क्षेत्रमा जन्मिएकी मीरा माओवादी युद्धको समयमा छापामार भएकी थिइन् । २०६६ सालदेखि अल्ट्रा ट्रेलको दुनियाँमा प्रवेश गरेकी मीराले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सम्भवत: तीन वर्षमै अनुपम अन्तर्राष्ट्रिय सफलता हात पार्ने मीरा पहिलो नेपाली महिला एथलेट हुन् ।
वर्षको अन्त्यतिर राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गर्दै आशालाग्दो प्रदर्शन गरेपछि युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको चर्चा भयो । उनले फागुनमा कीर्तिपुरमा भएको वल्र्ड क्रिक्रेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध डेब्यु खेलमा १९ तथा ५० रनको पारी खेलेर सबैको मन जिते । त्यसपछि बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा उनले बंगलादेशविरुद्ध प्रहार गरेको अर्धशतकीय पारीले दीपेन्द्रलाई नयाँ युवा स्टार क्रिकेटरका रूपमा चर्चामा ल्यायो ।
युवा क्रिकेटर सन्दीप लामिछाने पनि वर्षभरि नै मिडियामा छाइरहे । सम्भावना बोकेका यी बलरले अस्ट्रेलिया पुगेर पूर्व अष्ट्रेलियन कप्तान माइकल क्लार्कको एकेडेमीबाट समेत खेले । राष्ट्रिय टिमबाट उनको प्रदर्शनले पनि चर्चा बटुल्यो । विराज महर्जनको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिमले सोलिडारिटी कप जित्दै इतिहास बनायो । अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको फुटबल टोलीको कप्तानका समेत बन्न सौभाग्य उनले पाए । यसअघि विराजकै नेतृत्वमा नेपालले २०७२ मा बगबन्धु गोल्डकप र साग पनि जितेको थियो ।
व्यवसाय
विनोद चौधरी, भवानी राणा
वाइवाइको सञ्जाल विस्तार एवं फोब्र्समा एकमात्र डलर अर्बपति नेपालीका रूपमा उद्योगपति विनोद चौधरी समाचारमा छाए । उनले वाइवाइलाई विश्वव्यापी कम्पनीका रूपमा स्थापित गर्ने महत्कांक्षी योजना अगाडि सार्दै सर्विया, बंगलादेश तथा साउदी अरबमा नयाँ वाइवाइ प्लान्ट लगाउँदैछन् भने आउँदो दुई वर्षमा नेपालमा ३१ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । फोब्र्सको सन् २०१७ को अर्बपतिहरूको सूचीमा १ हजार ५ सय ६७ औं स्थानमा रहेका चौधरीको सम्पत्ति १ दशमलव ३ अर्ब अमेरिकी डलर छ ।
व्यवसायी भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्षका बन्ने लगभग पक्का भएपछि चर्चामा आइन् । संघको साधारणसभाले विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरेपछि राणाका लागि महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बन्ने भाग्य खुलेको हो ।
प्रविधि
गोविन्द गिरी
अमेरिकामा मिनी आईपीओमार्फत लगानी भित्र्याउने ई–कमर्स स्टार्टअप कम्पनी हो— सगुन । यसका संस्थापक नेपाली मूलका गोविन्द गिरी हुन् । अमेरिकी रक्षा मन्त्रालयको जागिर छाडेर केही छुट्टै काम गर्न तम्सिएका गिरीले तयार पारेको सगुन फेसबुकजस्तै सामाजिक सञ्जाल हो । सगुनले आफ्ना प्रयोगकर्तालाई मोनिटाइजेसनमार्फत लाभांश बाँड्ने जनाएको छ । प्रवासी नेपालीले अमेरिकामा दर्ता गरेको यो कम्पनीले अमेरिकी सेक्युरिटी एक्सचेन्जबाट सेयर निष्कासन गर्ने अनुमति पाएपछि यसको चर्चा चुलिएको थियो । गिरीले आगामी पाँच वर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दाबी समेत गरेका छन् ।