समयसँगै फेसनको विविधता पनि विस्तृत हुँदै गएको छ । यो ट्रेन्ड विश्व बजारमा स्पष्ट देख्न सकिन्छ भने नेपालमा पनि त्यसको प्रभाव कम छैन । पाँच वर्षअघिको नेपाली फेसनलाई हालको अवस्थासँग तुलना गर्ने हो भने आकाश–पातालको फरक पाइन्छ । हरेक वर्ष नेपालमा फेसनको दायरा दोब्बर अनुपातमा वृद्धि हुँदै गएको छ । बागबजारस्थित सिटी स्क्वायरमा सञ्चालित वान टु वेयरका फेसन डिजाइनर ईश्वर श्रेष्ठ र पुरु तन्डुकारका अनुसार वि.सं. २०७३ मा नेपालमा लोकप्रिय केही पहिरन :
वेस्टर्न गाउन
आधुनिक पहिरनको नामले चर्चा कमाएको वेस्टर्न गाउनले यो वर्ष नेपाली फेसनको वातावरण तताएको थियो । महिलाहरूले अत्यधिक रुचाएको वेस्टर्न गाउन नेपाल भित्रिएदेखि नै लगातार लोकप्रियताको सिंढी उक्लिरहेको छ । यसैकारण यो वर्ष वेस्टर्न गाउनले बजारमा आफ्नो छुट्टै स्थान बनायो ।
ह्यान्ड वर्क/मेसिन वर्क डिजाइन टिनएजरहरूमा ह्यान्ड वर्कको चोलीमा मेसिन वर्क सल तथा लेहेंगाको माग बढेको छ । तीन वर्षदेखि निरन्तर नेपाली फेसनमा बलियो जरा गाडेको यो डिजाइनले २०७३ मा फेसन बजारलाई निकै प्रभावित गर्यो ।
वानपिस/गाउन
वेस्टर्न डिजाइन भए पनि नेपालमा छुट्टै छाप पारेको वानपिस र गाउन नेपाल भित्रिएदेखि नै कहिल्यै बाहिरिने अवस्था आएन । आधुनिक युवतीमा वानपिस र पाको उमेरका महिलाहरूमा गाउनको छुट्टै क्रेज छ । यसैकारण २०७३ सालमा पनि गाउनको माग कायमै रह्यो ।
लेहेंगा
नेपाली युवतीहरू मर्मेड सेटभन्दा अम्रेला स्टाइलका लेहेंगाप्रति बढी आकर्षित छन् । यो क्रम २०७३ सालमा पनि कायमै रह्यो । विभिन्न कलर तथा फेब्रिकमा नयाँ डिजाइनका लेहेंगा थपिने क्रम जारी भएकाले फेसन पारखीहरूको नजर अहिले पनि लेहेंगामै छ ।
पार्टी साडी
पार्टी तथा सार्वजनिक समारोहका लागि विशेष रुचाइने साडीको माग कायमै छ । केही समयअघि लाइट साडीप्रति आकर्षित महिलाहरू २०७३ मा ह्याभी साडीतर्फ आकर्षित भएको देखियो ।