दिनेश अमात्य, प्रमुख, महानगरीय अपराध महाशाखा
आईटीमा भएको अभूतपूर्व विकासले अहिले विश्वलाई एउटा मुठ््ठीमा ल्याइदिएको छ । यसको सदुपयोग पनि भएको छ भने दुरुपयोग पनि भएको छ । सदुपयोग गर्नेहरूले यसबाट प्रशस्तै फाइदा उठाइरहेका छन् । दुरुपयोग गर्नेहरूले यसलाई प्रयोग गरेर कसैको धन सम्पत्तिमा क्षति पुर्याउने, कसैको मानमर्दन गर्ने, इज्जतमा धक्का पुर्याउने आदि काम गरिरहेका छन् ।
पहिले आर्थिक लाभ लिने गरी ठूला–ठूला डकैती हुन्थे । ती डकैतीका लागि एउटा समूह नै निर्माण गर्नुपथ्र्यो, हातहतियारसहित कसैको घरमा डकैती गर्न जानुपथ्र्यो । त्यसमा पनि कति सम्पत्ति र सुनचाँदी हात लाग्छ भन्ने ग्यारेन्टी हुँदैन्थ्यो । कहिलेकाहीं आफ्नो क्षतिभन्दा न्यून उपलब्धि हात लाग्थ्यो । गोली बारुद पड्काउँदा कसैको ज्यानसमेत जान सक्थ्यो ।
अहिले त्यो अवस्थाबाट परिवर्तन भएर आईटी बेस्ड अपराध हुन थालेका छन् । एउटा सानो एसएमएस पठाएर ठूला–ठूला डकैती गरेकोभन्दा धेरै पैसा, डिमान्ड गर्न सकिरहेका छन् । इमेल र फेसबुकबाट एउटा म्यासेज पठाएकै भरमा मानिसलाई त्रसित र आतंकित बनाउन सकिने अवस्था छ अहिले, ठूला–ठूला विस्फोट गराइरहनु पर्दैन ।
मानिसलाई प्रलोभनमा पार्न ठूला–ठूला गफ र भाषण गरिरहनु पर्दैन । च्याटिङमा गएर ‘तिमी मलाई मन परेको साथी, तिमी नै सबै कुरा हौ, तिमीलाई म यो उपहार पठाइदिन्छु’ भनेर लाखौंको उपहार पठाइदिने नाममा ठगी गर्ने काम पनि भैरहेका छन् अहिले । यतिसम्म कि ‘तिमी राम्री रै’छौ, म विहे गर्छु, म विदेशी नागरिक हुँ’ भनेर लोभमा पारेर लाखौं रुपैयाँ विभिन्न सर्कल हुँदै आफ्नो खातामा जम्मा गर्न लगाइएको समेत पाइन्छ । अपराधीहरू अहिले संसारको एक कुनामा बसेर अर्को कुनामा सहजै अपराध गर्न सक्ने भएका छन् । कतिपयले अमेरिका बसेर नेपालमा अपराध गरिरहेका छन् भने नेपालमा बसेर अमेरिकाका डेबिट–क्रेडिट कार्ड होल्डरको पैसा स्वाहा पारिरहेका छन् । अहिले आईटीमा भएको अभूतपूर्व विकासका कारण एक कुनामा बसेको मानिसले माइल र कोसौं टाढा पनि मानमर्दन गरेका एवं आर्थिक क्षति पुर्याइएका घटना प्रशस्तै छन् । अहिलेको अपराध ट्रेन्ड पनि यही हो ।
सामाजिक सञ्जालभित्र राखिएका सम्बन्धका कारण उत्पन्न यौन दुव्र्यवहारका कुरा हुन् वा क्षणिक उत्तेजना तथा भावावेशमा महिला र पुरुषले प्रदर्शन गरेका हाउभाउका कारण मानिसहरू समस्यामा पर्ने क्रम बढ्दो छ । यसबाट अपमानित हुनु, घरबार टुट्नु, दाम्पत्य जीवनमा समस्या सिर्जना हुनु सामान्य हुन थालेका छन् । कतिपय घटनामा त घरबास बसाउनै आँटेका युवावुयतीहरूको घरबार भाँडिएको छ । एउटासँग विवाहको कुरा चलिरहेको हुन्छ, अर्कोले सामाजिक सञ्जालमा त्यो मेरी श्रीमती हो, हामी लिभिङ टुगेदरमा बसेका थियौं जस्ता कुरा भनिदिन्छ र उसको बस्नै लागेको घर भताभुंग हुन्छ । सँगै हुँदा खिचिएका नितान्त गोप्य भिडियोहरू विवादपछि सामाजिक सञ्जाल र इन्टरनेटमा अपलोड गर्नेहरूका कारण सामाजिक समस्या एवं विचलनका समस्या उत्पन्न भैरहेका छन् । अहिले धेरै केही गर्नै पर्दैन, मन नलागेको बेला सानो पोस्ट गरिदिएकै भरमा मानिसको मानमर्दन हुने अवस्था छ । त्यसैले अहिलेको चुनौती भनेकै ‘पर्पस युज अफ आईटी’ नै हो ।
सोसल मिडियाको दुरुपयोग गरेर हुने अपराध क्रमश: वृद्धि भैरहेको छ । यसको प्रमुख कारण भनेको तिनको सही तरिकाले प्रयोग गर्न नजान्नु नै हो । सामाजिक सञ्जाल प्रयोग गर्दा के–के कुरामा सजगता अपनाउनुपर्छ, के–के कुरामा हेक्का राख्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसको ख्याल नगर्दा समस्या सिर्जना हुन्छ । उदाहरणका लागि बैंकमा एकाउन्ट छ, डेबिट–क्रेडिट कार्ड पनि छ, त्यसको सुरक्षित प्रयोग गर्न सकिएन भने त्यसका केही डाटा ह्याकहरूको हातमा पुग्ने र उनीहरूले पैसा चोरी गर्ने सम्भावना बढ्छ । सामाजिक सञ्जालको एकाउन्ट ह्याक गरेर गोप्य डाटा चोरी गर्नुका साथै ब्ल्याकमेलिङ, चोरी, चरित्रहत्या एवं ठगी गर्ने क्रम पनि यिनै कारणले बढिरहेका छन् । लोटरीका नाममा ठग्नेहरू पनि छन् ।
अरूको इमेल नै ह्याकिङ गरेर आफू समस्यामा परेको भनेर साथीभाइ एवं परिवारका सदस्यहरूलाई पैसा मागेर इमेल पठाइएको पनि पाइन्छ । म अमेरिकाबाट आउँदा पर्स छुट्यो, हङकङमा अलपत्र परेको छु, टिकटको हजार डलर पठाइदेऊ भनेर मेल गर्ने र पैसा ठग्ने गरिएको पनि पाइन्छ । त्यस्तो अवस्थामा साथीभाइ एवं परिवारका सदस्यहरूले साँच्चै समस्यामा परेछ भनेर पैसा पठाइदिइरहेका हुन्छन् तर त्यो पैसा ह्याक गरेर अर्कैतिर पुगिरहेको हुन्छ । त्यस्ता ह्याकरले उसले जति साथीभाइ एवं आफन्तलाई मेल करस्पोन्ड गर्छ, ती सबैलाई यस्तै इमेल पठाएर रकम ठगी गरिरहेका हुन्छन् ।
कसरी सुरक्षित हुने ?
आईटीलाई कसरी प्रयोग गर्ने, यसका ट्रम्स एन्ड कन्डिसन के–के हुन्, यसबाट के–के फाइदा वा बेफाइदा हुन सक्छन्, यसबाट कसरी सुरक्षित रहनुपर्छ, हामीले के सेयर गर्ने, कस्तालाई साथी बनाउने, के–कस्ता कुरा नगर्ने ? जस्ता विषयमा एकदमै ख्याल गर्नुपर्ने अवस्था आइसकेको छ । आवेगमा आएर सामाजिक सञ्जालमा शारीरिक हाउभाउ प्रदर्शन गर्ने, भिडियो च्याटमा भावनामा बहकिएर गोप्यताहरू लिक गरेका कारण धेरै मानिस समस्या परेर प्रहरीकहाँ धाइरहेका छन् । त्यसैले सामाजिक सञ्जाल र टेक्नोलोजीको प्रयोग सही तरिकाले गरिएन भने यसले मानसिक तनाव एवं पीडा दिनुका साथै सामाजिक मान प्रतिष्ठामा समेत दाग लगाउन सक्छ ।
समाज समयसापेक्ष रूपमा चल्छ, जनघनत्वका आधारमा पनि अपराध बढ्दै जान्छ । अपराध मनोवृत्ति, अपराध प्रवृत्ति व्यक्तिमा निहित हुन्छ भन्ने भनाइ पनि छ । समाजमा देखिने परिवर्तनसँगै मानिसको इच्छा–चाहना पनि बढ्दै जान्छ । आईटीले हामीलाई सजिलै एकै ठाउँमा उभ्याइदिएको छ, अमेरिकामा बसेको एउटा सभ्य नागरिकले के गर्छ, हामी नेपालको कुनै कुना कन्दरामा बसेका मानिसले पनि हेर्न, देख्न तथा सुन्न पाउँछौं । त्यसअनुरूप हामी आफूलाई परिमार्जित गर्न चाहन्छौं, तर बिडम्बना के छ भने हामीसँग त्यो स्रोत साधन, प्रविधि, शिक्षादीक्षा र सचेतना छैन । यी सबैको अभावमा हामीले प्रविधिको प्रयोग सही तरिकाले गरिरहेका हुँदैनौं ।
भनिन्छ, ‘लिटिल नलेज इज डेन्जरस’ । बन्दुक पड्किन्छ तर कता राख्दा पड्किन्छ भन्ने थाहा नभएरै नाल आफूतिर राखेर पडकाउँदा आफैं सिद्धिइन्छ । हामीले विश्वमा भएका विभिन्न वैज्ञानिक आविष्कारहरू प्रयोग गरिरहेका छौं त्यसको प्रयोगका सम्बन्धमा हामीसँग पूर्ण जानकारी छैन । हामी प्रयोगकै नाममा प्रयोग गर्न आतुर हुन्छौं । त्यसको अध्ययन, विश्लेषण गर्दैनौं, प्रयोगका टर्म एन्ड कन्डिसनलाई अक्षरश: पालना गर्दैनौं । नजानेरै कहिलेकाहीं हामीले गरेका क्रियाकलाप गलत सावित भएर त्यसबाट अपराधको जन्म हुनसक्छ ।
प्रविधिको प्रयोगमा मानिसलाई रमाइलो महसुस हुन्छ । जसका कारण हामी वाइल्ड र वाइड रेन्जमा जान चाहन्छौं । मानिसहरू विभिन्न मनोवृत्ति एवं प्रवृत्तिका हुन्छन्, तिनीहरूमध्ये हामी मौकामा चौका हान्ने प्रवृत्तिका कतिपय मानिसको संगतमा पनि पुग्छौं । उसले प्रलोभित गर्दै जान्छ, त्यसमा फस्दै जाँदा आर्थिक, नैतिक एवं सामाजिक क्षति पुग्न सक्छ ।
त्यसैले पे च्यानल भएको इमेल प्रयोग गर्नुपर्छ । त्यस्ता सुरक्षित मेलका लागि केही शुल्क तिर्नुपर्छ, तर अहिले धेरै कमले मात्र यस्तो इमेल प्रयोग गर्छन् । भर्चुअल संसारबाट हुने ठूला ठगी र चोरीहरूबाट जोगिन तथा ह्याकहरूबाट सुरक्षित रहन यस्ता इमेलको प्रयोग उपयुक्त हुन सक्छ । अहिले धेरैजसो मानिस सित्तंैमा पाएको भनेर फ्री इमेल प्रयोग गर्छन्, तर त्यही फ्री इमेलमा टिकेको हाम्रो विश्वासमाथि ह्याकरहरूले ठूलो क्षति पुर्याइदिन्छन् । हाम्रो अज्ञानता, हाम्रो समवेदना, हाम्रो विश्वसनीयता एवं हाम्रो भावनासँग खेलवाड गरेर हामीमाथि, हाम्रो मान प्रतिष्ठा, इज्जत र सम्पत्तिमाथि धावा बोलिरहेका छन् । सानो अज्ञानताका कारण हाम्रै नाममा मानिसहरूले ठूलो रकम ठगिरहेका छन् ।
आईटीको विकासका कारण जसरी समाज जटिल बन्दै गएको छ, त्यसले क्रमश: अपराधमा नयाँ ट्रेन्ड विकसित गर्दै लगेको छ । सुरक्षा चुनौतीहरू पनि थपिइरहेका छन् । त्यसैले हाम्रो सुरक्षा ब्यवस्था, उपकरण, संयन्त्र, कानुन तथा नीतिलाई पनि समयानुकूल बनाउँदै लानु अपरिहार्य हुँदै गएको छ ।
महाशाखाका प्रमुख अमात्यसँगको कुराकानीमा आधारित
अपराधको ग्राफ
०७३ मा अपराध महाशाखामा सबैभन्दा धेरै परेका उजुरीमा साइबर क्राइम पहिलो नम्बरमा छ । अपराध महाशाखाको साइबर सेलका डिएसपी पशुपति रायका अनुसार यो वर्ष महाशाखामा साइबर क्राइमका ८ सय ३० उजुरी दर्ता भएका छन् । साइबर क्राइममा दर्ता भएका अधिकांश मुद्दा फेसबुकसँग जोडिएका छन् । ०७२ मा फेसबुकसँग जोडिएका ५ सय ३० भन्दा बढी उजुरी महाशाखामा परेका थिए, जुन अहिले झन्डै दोब्बरजति नै देखिन्छ । ‘यी सामान्यदेखि ठूला अपराधसम्मका घटनाका उजुरी हुन्,’ रायले साप्ताहिकसँग भने, ‘यसमा सानादेखि ठूला अपराधसम्म छन् ।’
त्यसपछि सबैभन्दा बढी ठगीका उजुरी दर्ता भएका छन्, जसमा वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठग्नेहरू धेरै छन् । महाशाखाका इन्सपेक्टर मञ्जित कुँवरका अनुसार अहिलेसम्म ठगीका ४ सय ५० उजुरी दर्ता भएका छन्, जसमध्ये वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका उजुरी झन्डै आधाजति छन् । यो वर्ष उच्च शिक्षाका नाममा विदेशमा पठाउने नाममा ठगिएका घटना पनि महाशाखामा दर्ता भएका छन् । यस्ता घटनामा झन्डै ३ करोड ८० लाख रुपैयाँ ठगिएको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ७ फागुनमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०१६ मा राज्यपक्षबाट ४ तथा गैरराज्य पक्षबाट २ सय ६६ जना गरी जम्मा २ सय ७० जना मारिएका छन् । जसमध्ये १५ जनाको हत्या अज्ञात पक्षबाट भएको छ । अपहरणमा पर्नेहरूको संख्या भने सन् २०१६ मा १७ छ, जसमध्ये १ जना महिला तथा १ जना पुरुषको अवस्था अझै अज्ञात छ । जसमध्ये पुरुष ९ जना र महिला ८ जना छन् । तथ्यांकमा सोही अवधिमा ३७ महिला यौन दुव्र्यवहारको सिकार भएका छन् । यसमा बलात्कारको सिकार हुने महिलाको संख्या भयावह छ । इन्सेकको प्रतिवेदनअनुसार सन् २०१६ मा २ सय ४२ जना महिला तथा बालबालिका बलात्कारको सिकार भएका छन् ।