साप्ताहिक संवाददाता
चैत ४ गते मध्यदिनमै मोरङको कटहरीमा ४४ वर्षीया दीपा निरौला डाँगा तथा बुहारी २३ वर्षीया अस्मिता भट्टराई डाँगाको निधारमा गोली हानी भएको हत्या निजहरूकै भतिजा तथा जेठाजु नाताका एक व्यक्तिले गरेको रहस्य खुलेको छ । मोरङ प्रहरी एवं क्षेत्रीय अनुसन्धान समूहको १५ दिन लामो प्रयासपछि प्रहरीले उक्त हत्याकाण्डको अभियुक्तलाई सार्वजनिक गरेको छ । यस क्रममा प्रहरीले इन्द्रचन्द्र डाँगाका भतिजा विराटनगर मधुमाराका २६ वर्षीय विष्णुकुमार डाँगालाई पक्राउ गरेको छ । विष्णुको घरको खानतलासी लिने क्रममा लुकाएर राखिएको एक थान अमेरिकी पेस्तोल, मृतक सासू र बुहारीका मोबाइल, पेस्तोलको गोली तथा २ लाख ८४ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । अभियुक्त विष्णुले हत्या गरेको स्वीकार गरिसकेकाले मोरङ अदालतबाट म्याद थप गराई थप अनुसन्धान भैरहेको मोरङका एसपी सन्दिपराज भण्डारीले बताएका छन् ।
हत्याका मुख्य अभियुक्त पक्राउ परे पनि प्रहरीले उक्त हत्याको कारण भने खुलाएको छैन् । ३० जनाभन्दा धेरै व्यक्तिसँग गरिएको सोधपुछ तथा अनुसन्धानपछि हत्यामा अभियुक्त विष्णुको संलग्नता देखिएको थियो । त्यसपछि चैत १७ गते राति विष्णुको घरमा छापा मारेर हत्यामा प्रयोग गरिएको पेस्तोल एवं सासू–बुहारीको मोबाइल बरामद गरियो । एसपी भण्डारीका अनुसार– घटनाको प्रकृति हेर्दा यो लुटपाटका लागि नभै घरायसी कारणले भएको हत्या हो ।
कारण अझै खुलेन
मुख्य अभियुक्त विष्णु पक्राउ परे पनि सासू–बुहारीको हत्याको कारण अझै खुल्न सकेको छैन । एसपी सन्दीपराज भण्डारीका अनुसार यस विषयमा प्रहरी अनुसन्धानकै क्रममा छ, थप कुरा क्रमश: खुल्दै जानेछ भने ठोस कारण पनि चाँडै सार्वजनिक हुनेछ । प्रहरी स्रोतका अनुसार अन्तरजातीय विवाह गरेर डाँगा परिवारमा भित्रिएका सासू दीपा तथा बुहारी अस्मिताले परिवारको आर्थिकस्थिति सुधार्न खर्च नियन्त्रण गरी खटनपटन गर्न थालेपछि डाँगा परिवारभित्र आन्तरिक किचलो बढेको थियो । प्रहरीले घटनामा डाँगा परिवारका अन्य को–को सदस्य संलग्न छन् वा भाडाका व्यक्ति पनि प्रयोग गरिएका थिए भन्ने कुरा खुलाएको छैन ।
को हुन् विष्णुकुमार ?
विजयकुमार डाँगाका छोरा हुन विष्णुकुमार । २०४७ साल वैशाख १७ गते मोरङको कटहरीमा जन्मिएका विष्णुले विराटनगरबाट एसएलसी तथा प्लस टु सकेर बैंगलोरमा ब्याचलर तह अध्ययन गरेका थिए । स्वदेश आएसँगै विष्णु आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ ।