साप्ताहिक संवाददाता
- गायक प्रमोद खरेलले चैत १८ गते आफ्नो नयाँ गीत ‘लाइदेऊ न मायाले...’ आफ्नै आधिकारिक युट्युब च्यानलमा अपलोड गरे । अपलोड भएको पहिलो २४ घण्टा नबित्दै उक्त भिडियो १ लाखभन्दा बढी पटक हेरियो ।
- चलचित्र ‘ए मेरो हजुर–१’ को शीर्षक गीतको भिडियो युट्युबमा अपलोड गरिएको पहिलो २४ घण्टामा झन्डै २ लाख पटक हेरियो । एक साता नबित्दै उक्त भिडियो झन्डै १५ लाख पटक हेरिएको छ ।
- यो वर्ष प्रदर्शन भएका चलचित्रमध्ये सर्वाधिक व्यवसाय गर्न सफल दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्कापञ्जा’ तीन महिनाअघि युट्युबमा अपलोड गरिएको थियो । उक्त अवधिमा उक्त चलचित्र ८७ लाख पटक हेरिएको छ । यही चलचित्रको ‘पूर्व–पश्चिम रेल...’ को भिडियो १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ ।
यी त युट्युबमा आधारित लोकप्रियताका केही उदाहरणमात्र हुन् । पछिल्ला केही वर्ष यता नेपाली टेलिभिजन च्यानलको साटो युट्युबका च्यानलहरू लोकप्रिय बन्दै गएका छन् । आफूले चाहेका बेला आफूलाई मन लागेको कुरा हेर्न पाइने सुविधा भएकाले टेलिभिजनको तुलनामा युट्युब बढी लोकप्रिय भएको हो । विश्वव्यापी रूपमै युट्युबको प्रभाव बढेपछि नेपाल पनि यसबाट अछुतो रहन सकेन । यतिबेला नेपाली चलचित्र होस् अथवा चलचित्रको गीत, म्युजिक भिडियो होस् अथवा हास्यश्रृंखला सबै युट्युबमा हेर्न पाइन्छ । कान्तिपुर टेलिभिजनका समाचार बुलेटिनहरूसमेत युट्युबमा सहजै उपलब्ध हुन थालेका छन् । युट्युबको बढ्दो प्रभावकारितालाई नेपाली मनोरञ्जन क्षेत्रले राम्रै सदुपयोग गरेको छ।
कतिपय अवस्थामायुट्युब बाध्यकारीसमेत हुन थालेको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीलाई विश्वास गर्ने हो भने उनले अनलाइनमा अनधिकृत रूपमा लिक हुने क्रममा रहेको आफ्नो चलचित्र ‘छक्कापञ्जा’ लाई बाध्य भएर युट्युबमा अपलोड गर्नु पर्यो । यसबाट विदेशका दर्जनौं सहरमा प्रदर्शन हुने पूर्वनिर्धारित कार्यक्रमसमेत रद्द गर्नु परेको तीतो अनुभव गिरीसँग छ । चलचित्रको
डिजिटल अधिकार प्राप्त हाईलाईट्स नेपालले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेपछि उक्त चलचित्र सिनेमा हलबाट सधैंका लागि बिदा भयो । नेपाली चलचित्रका प्राय: कीर्तिमान तोड्ने यो चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, शिवहरि पौड्याल, जितु नेपाल, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र गत भदौ २४ गते प्रदर्शनमा आएको थियो ।
पछिल्ला केही वर्षयता कुनै पनि गायक, गायिका, संगीतकार, गीत, चलचित्र सफल भयो कि भएन भन्ने मुख्य आधार नै युट्युब बन्न थालेको छ । जुन गीतको भिडियोले युट्युबमा धेरै दर्शक पायो, त्यही गीतलाई लोकप्रिय मान्न थालिएको छ । रेडियो तथा टेलिभिजन काउन्टडाउनले समेत युट्युबको दर्शक संख्यालाई मान्यता दिन थालेपछि युट्युब बिस्तारै लोकप्रियताको मापक बन्न थालेको हो ।
युट्युबमा जो मन पराइए
अघिल्लो वर्ष प्रदर्शनमाआएको चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै...’ गीतले नेपालमा पहिलो पटक १ करोड पटक हेरिएको भिडियोकारूपमा कीर्तिमान कायम गरेको छ । उक्त गीतले वर्ष २०७३ मै१ करोड पटक हेरिएको कीर्तिमान कायम गरेको हो । आजको मितिसम्म आइपुग्दा उक्त भिडियो १ करोड७४ लाख ४५ हजार चार सय पटक हेरिसकिएको छ । आज पनि यो गीत हेर्ने दर्शकको संख्या उत्तिकै छ । राजनराज शिवाकोटीको संगीतको यो गीतमा अञ्जु पन्त तथा राजनराजको स्वर सुन्न सकिन्छ ।
लोकप्रियताको सूचीको दोस्रो नम्बरमा चलचित्र ‘लुट–२’ को ठमेल बजार रहेको छ । उक्त भिडियोले युट्युबमा १ करोड ३५ लाख ५८ हजार ५ सय ५९ दर्शक पाएको छ । मीना निरौलाको स्वरको यो गीतमा कालीप्रसाद बास्कोटाको संगीत निर्देशन छ । यो वर्षको सबैभन्दा सफल चलचित्र ‘छक्कापन्जा’ को ‘पूर्वपश्चिम रेल’ गीत तेस्रो स्थानमा छ । हालसम्म यो गीत १ करोड ३१ लाख पटक हेरिएको छ । यो गीतमा राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी, अञ्जु पन्त तथा भानुभक्त ढकालको स्वर सुन्न सकिन्छ । लोकप्रियताको सूचीमा हेमन्त रानाको ‘सुन साइँली...’ चौथो स्थानमा छ । हालसम्म ९४ लाख ६७ हजार ५ सय ९५ पटक हेरिएको यो गीतमा कालीप्रसाद बासकोटाको संगीत तथा हिमाल साउद र कालीप्रसादको शब्द छ ।
अघिल्लो वर्ष प्रदर्शनमाआएको चलचित्र ‘हाउ फन्नी’ को मेलिना राईको स्वरको ‘शिरैमा शिरबन्दी’ गीत पाँचौं स्थानमा छ । यो गीतलाई हालसम्म ८४ लाख लाख २३ हजार ४ सय ५६ जनाले हेरेका छन् । छैटौं नम्बरमा चलचित्र ‘पुरानो डुंगा’ को ‘निर जहिले रिसाउने...’ गीत ७२ लाख १९ हजार ७ सय ३० पटक हेरिएको छ । यो गीतका सर्जक पनि कालीप्रसाद बास्कोटा नै हुन् । चलचित्र ‘पर्व’ को ‘काले दाइ...’ ले कम समयमै दर्शकको मन जित्यो । मीना निरौलाको स्वरको यो गीतले हालसम्म ७४ लाख ५ हजार ७४ दर्शक पाएको छ । यो गीतका संगीतकार पनि कालीप्रसाद बासकोटा नै हुन् ।
यसबाहेक अघिल्लो वर्ष प्रदर्शन भएका चलचित्रमध्ये नाइँ नभन्नु ल–३ को कम्मरमाथि पटुकी (७६ लाख २५ हजार ८ सय ९४), परदेशीको ‘कुरा खाँटी हो’ (६३ लाख १४ हजार ८ सय ९), प्रेमगीतको म यस्तो गीत गाउँछु (५७ लाख ९२ हजार ३ सय ७३), छक्का पञ्जाको देख न चम्मा (५४ हजार ७ हजार १ सय७०) गीतले पनि दर्शकको मन जिते ।
बढ्यो अश्लीलता पनि
यो वर्ष युट्युबमा राम्रा चलचित्र मात्र अपलोड गरिएनन्, छोटा चलचित्रको नाममा अश्लील चलचित्र तथा अतिरञ्जित सामग्रीहरू पनि सार्वजनिक गरिए । कुलन टिभी, एनएचएस, मिलन फिल्म्स, इन्जोय नेपाल, ग्लोबल मेन च्यानल, गोल्ड टिभी आदिले विभिन्न किसिमका छोटा चलचित्र अपलोड गरेर छोटो समयमा बढी दर्शक बटुल्ने प्रयास गरे ।
वर्षका उत्कृष्ट पाँच चलचित्र
छक्का पञ्जा
निर्देशन : दीपाश्री निरौला
अपलोड मिति : पुस २८ गते
दर्शक : ८७ लाख ३ हजार ३ सय १२
गाजलु
निर्देशन : हेमराज बिसी
अपलोड मिति : पुस १ गते
दर्शक : ४० लाख ७७ हजार ९ सय ७४
हाउ फन्नी
निर्देशन : नीलु डोल्मा शेर्पा
अपलोड मिति : फागुन ६ गते
दर्शक : २९ लाख ५५ हजार ३ सय ७७
वीरविक्रम
निर्देशन : मिलन चाम्स
अपलोड मिति : चैत ४ गते
दर्शक : २५ लाख १ सय ४५
जंगे
निर्देशन : उत्कल थापा
अपलोड मिति : कात्तिक ११ गते
दर्शक : १२ लाख ४७ हजार ४ सय ४०