साप्ताहिक संवाददाता
तरकारीवालीको चर्चा
यो वर्ष गोरखाकी कुसुम श्रेष्ठ अर्थात् तरकारीवाली सामाजिक सञ्जालमा सर्वाधिक चर्चित रहिन् । पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले खिचेका दुई तस्बिर फेसबुक तथा ट्विटरमा भाइरल भए । भारतीय सञ्चारमाध्यमले पनि तरकारीवालीको खुलेर प्रशंसा गरे । चितवन र गोरखाबीचतिर त्रिशूली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी कुसुमको तस्बिर सामाजिक सञ्जालमा ट्ेरन्डिङमात्र भएन, उनी नेपालका सञ्चारमाध्यमहरूमा पनि उत्तिकै छाइन् ।
असामाजिक हर्कत
यो वर्ष प्रधानमन्त्री, मन्त्रीसहित प्रभावशाली व्यक्तिका निजी विवरण सामाजिक सञ्जालमा व्यापारिक प्रयोजनका लागि राख्ने परम्परा विकसित भयो । प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक बटुल्ने काम गर्यो । अर्को एउटा साइटले स्वास्थ्यमन्त्री गगन थापाको तस्बिर राखेर आफ्नो फेसबुक पेजको विज्ञापन गर्यो । लोडसेडिङ अन्त्य गर्ने अभियानका नेतृत्वकर्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नक्कली एकाउन्टबाट आजित भएर आफ्नै आधिकारिक फेसबुक पेज खोले ।
गगनको राजीनामाको हल्ला
गगन थापालाई स्वास्थ्य मन्त्रीबाट फिर्ता बोलाउने हल्लामाथि सामाजिक सञ्जालमा चर्को बहस भयो । धेरैले उनलाई फिर्ता बोलाउन नहुने भन्दै आफ्ना मत प्रस्तुत गरे । कतिपयले उनले जनताका पक्षमा काम गरिरहेको भन्दै ‘फिर्ता बोलाउनुपर्ने’ व्यंग्य कसे । गगनका विषयमा चलेको उक्त हल्लामा सञ्चारकर्मी रविन्द्र मिश्रदेखि कलाकार दीपकराज गिरीसम्मले प्रतिक्रिया जनाए ।
डोजर आतंक
सामाजिक सञ्जालमा ‘डोजर’ शब्द प्रयोग गर्ने रमाइलो ट्ेरन्ड पनि चल्यो । सडक खनिरहेको डोजर हेर्नेहरूको भीड देखाउने एउटा तस्बिर सार्वजनिक भएपछि उक्त ट्रेन्ड चलेको हो । नेपालमा डोजरले काम गरिरहेको दृश्य हेर्न मानिसहरूको भीड जम्मा हुने परम्परा पुरानै हो, यद्यपि सामाजिक सञ्जालमा उक्त तस्बिर आएपछि एक प्रकारको डोजर आतंक नै सिर्जना भयो ।
सार्वजनिक बिदाको रडाको
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण प्रारम्भ हुने दिन दिइएको सार्वजनिक बिदाले पनि सामाजिक सञ्जालमा ठूलो चर्चासहितको विरोध पायो । प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको घोषणा गर्न नपाउँदै प्रारम्भ भएको विरोध झन्डै एक सातासम्म जारी रह्यो ।
भूषण–बाबुराम ट्विट–वार
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजा त्रिभुवनलाई यथोचित सम्मान गर्ने अर्को स्थान खोजेर सहिदगेटमा सहिदहरूलाई मात्र राख्नुपर्ने भावको एउटा ट्विट गरे, जसले राम्रो रि–ट्विट पायो । उनको ट्विटमा सञ्चारकर्मी भूषण दाहालले रि–ट्विट गर्दै ‘कस्तो होला, यहाँलाई अन्तै सम्मानित स्थानमा सारेर लायक युवालाई मात्र नयाँ शक्तिमा राख्ने व्यवस्था गरे जस्तै होला’ भनेपछि ठूलै ट्विट–वार चल्यो ।
प्रियंका कार्कीको स्टाटस
वर्ष २०७३ को प्रारम्भमै अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा पोस्ट गरिएका आफ्ना तस्बिरहरूमा अरूले गरेका नकरात्मक टिप्पणीको खुलेर विरोध गरिन् । उनले कलाकारहरू दर्शकलाई मनोरञ्जन प्रदान गर्न चाडपर्व नभनी दिन दिनरात मेहनत गर्ने र त्यस्तो नकारात्मक टिप्पणी सुन्न पर्दा चित्त दुखेको बताएकी थिइन् । ‘हामी कलाकर दिन रात मेहनत गर्छौं । कहिले चलचित्रका छायांकन, कहिले कार्यक्रम । दसैं, तिहार, चाड पर्व केही नसोची यहाँहरूलाई मनोरञ्जन दिन देश–विदेश पुग्छौं, केका लागि ? यही आलोचना खेप्नका लागि ? कति चित्त दुख्छ होला सोच्नुस् त ।’ प्रियंकाले आफूले सेयर गरेको तस्बिरबाट टिप्पणीकर्ताहरूको व्यक्तिगत जीवनमा के ठेस पुर्याएँ भनेर प्रश्न समेत
गरेकी थिइन् ।
सुमन भाइको कुरा
कान्तिपुर टेलिभिजनमा सञ्चारकर्मी सुमन खरेलले कञ्चन शर्माको अन्तर्वार्ता लिएपछि ‘सुमन भाइ’ ह्यास ट्याग भाइरल भयो । ‘सुमन संग’ कार्यक्रमका क्रममा अन्तर्वार्ता दिँदै शर्माले सुमन भाइ भन्ने शब्द पटक–पटक दोहोर्याएपछि तथा शर्माले आफ्ना श्रीमान्विरुद्ध झूटा आरोप लगाएको कुरा बाहिर आएपछि उक्त ह्यास ट्याग भाइरल भएको हो ।
प्रधानमन्त्रीको चिन्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल दुरुपयोग हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुका साथै यसलाई कसरी ठीक पार्ने सुझाव दिन पत्रकारहरूसँग आग्रह नै गरे । प्रधानमन्त्री दाहालले फेसबुकसहितका सामाजिक सञ्जालमा गलत कुराहरू भाइरल हुने दुखेसो पोखे । प्रधानमन्त्रीले भने— अहिले यो फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको, कुनै जिम्मेवारी नभएकाले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने खतरा पैदा भएको छ । यो रियल जर्नालिस्टका लागि बढी चासोको विषय हो भन्ने लागेको पनि प्रधानमन्त्रीले बताए ।
यमबुद्धको निधन
र्यापर यमबुद्धले बेलायतमा आत्महत्या गरेको खबर सार्वजनिक भएपछि फेसबुक तथा ट्विटरमा उनलाई समवेदना नदिने कोही भएन । कतिपयले त उक्त आत्महत्यालाई हत्याको संज्ञा दिँदै ब्रिटिस प्रहरीको छानबिन कमजोर भएको भन्नसमेत भ्याए ।
एसएसबीको गोलीकाण्ड
नेपाल–भारत सिमामा गोली हानी हत्या गरिएका नेपाली युवा गोविन्द गौतमको समर्थन तथा भारतीय प्रहरी एसएसबीको विरोधमा सामाजिक सञ्जालमा व्यापक चर्चा भयो ।
प्रहरीको चेतावनी
सामाजिक सञ्जालमा गालीलगौजको प्रयोग बढ्न थालेपछि यो वर्ष नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा अश्लील एवं अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गरायो । फेसबुक तथा ट्विटरजस्ता समाजिक सञ्जालमा अश्लील तथा अपशब्द प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको र पीडितपक्षबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा आघात पुगेको गुनासा आउन थालेपछि प्रहरीले यसतर्फ सबैको ध्यानाकर्षण गराएको हो । यदि कसैले अरूको प्रतिष्ठामा आँच पुर्र्याउने कमेन्ट गरेको खण्डमा कानुन बमोजिम कडा कारबाही गरिने कुरा पनि प्रहरीले प्रस्ट पारेको छ ।
सामाजिक सञ्जालमा वर्षका उत्कृष्ट पाँच
फेसबुकमा टप
रेखा थापा, अभिनेत्री
३१,४२,३६२
अञ्जु पन्त, गायिका
२०,५७,०७९
प्रियंका कार्की, अभिनेत्री
१९,३३, ६५९
मुना थापामगर, गायिका
१८,८९,९७७
नम्रता श्रेष्ठ, अभिनेत्री
१५,१५,०५८
ट्विटरमा टप
डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
७,६६,१४७
गगन थापा, स्वास्थ्यमन्त्री
५,७८,१७६
रवीन्द्र मिश्र, सञ्चारकर्मी
५,६२,८९९
लोकमानसिंह कार्की, पूर्वप्रशासक
३,५७,६७२
कमल थापा, उप–प्रधानमन्त्री
३,४०,२९२
इन्स्टाग्राममा टप
प्रियंका कार्की, अभिनेत्री
३,५८,०००
सृष्टि श्रेष्ठ, अभिनेत्री
२,६२,०००
नम्रता श्रेष्ठ, अभिनेत्री
२,३०,०००
केकी अधिकारी, अभिनेत्री
१,६८,०००
माल्भिका सुब्बा, पूर्व मिस नेपाल
१,३५,०००