साप्ताहिक संवाददाता
‘फुलको आँखामा फुलै संसार’ बोलको गीतपछि संगीतकार न्ह्यु बज्राचार्य र गीतकार दुर्गालाल श्रेष्ठले गायिकाका रुपमा आनी छोइङ शेर्पालाई गायिकाका रुपमा स्थापित गराए । उनै न्ह्यु र दुर्गालाल फेरी एकपटक एउटी गायिकालाई नेपाली गायन क्षेत्रमा स्थापित गराउने अभियानमा छन् । हालै दुर्गालाल श्रेष्ठको शब्द रचना एवं न्ह्यु बज्राचार्यको संगीतमा गायिका नविता पौडेलले गाएको एउटा गीत सार्वजनिक भएको छ।
‘जब देख्छु पातमाथि एक थोपो शीत,
टिप्न खोज्छु हात पर्छ, एउटा मिठो गीत.....’
युट्युबमार्फत सार्वजनिक भएको दुर्गालाल श्रेष्ठको रचना, न्ह्यु बज्राचार्यको संगीत र नवगायिका नविता पौडेलको यो गीतले दर्शक एवं श्रोताको मन जित्ने कुरामा गीतका सर्जकहरु विश्वस्त छन् । उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले एकल अभिनय गरेकी छिन् । धिरजजङ शाहले खिचेको र निशान घिमिरेले सम्पादन गरेको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।
गायिका नविता पौडेलले न्ह्यु बज्राचार्यको संगीत र दुर्गालाल श्रेष्ठको रचनामा आठवटा गीतहरुमा स्वर भरेकी छिन्, जुन क्रमशः पालैपालो म्युजिक भिडियोका रुपमा सार्वजनिक हुँदै जानेछ । आठवटा गीतहरु संग्रह गरेर उनले ‘सुस्तरी’ शिर्षकमा गीति एल्बम निकाल्ने भएकी छिन् । आठ मध्ये एउटा गीतमा चाँही गायक रामकृष्ण ढकालले गायिका पौडेललाई युगल गायनमा साथ दिएका छन् ।
केही समयपछि उनको दोश्रो गीत पनि सार्वजनिक हुँदैछ । ‘किन हेर्नु’ बोलको उक्त गीतमा अभिनेत्री केकी अधिकारी र अभिनेता अनिल थापाले अभिनय गरेका छन् । जसलाई विशाल भण्डारीले नै निर्देशन गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका तथा निशान घिमिरेले नै सम्पादन गरेका छन् ।
स्कुल तथा कलेजमा हुने कार्यक्रमहरुमा गीत गाउने गरेकी नविताको विवाह अमेरिका बसोबास गरिरहेका विप्लव तिमिल्सिनासंग भयो । विवाह लगत्तै उनी श्रीमानका साथ अमेरिका पुगिन् । अमेरिकाको उथाह राज्यमा बसोबास गरिरहेका विप्लव र नविताका तीन सन्तान पनि भए ।
नविताका अनुसार सन्तान हुर्कने क्रममा विप्लवले नविताको केही इच्छा भए पुरा गरिदिने बताएपछि नविताले आफ्नो गीति एल्बम तयार पार्ने अभियान थालिन् । आफ्नो गायन इच्छालाई बुझिदिने र साथ दिने श्रीमान विप्लवप्रति उनी आभारी छिन् । विप्लव पनि जीवनमा आफ्नो इच्छा भनेको गायिका नविता पौडेलको श्रीमान भनेर चिनिन पाउनु नै हो भन्ने बताउँछन् । श्रीमानले श्रीमतीलाई करियर निर्माणमा साथ दिएको यो एक गहिरो उदाहरण हो ।
नेपाल आएर आफुलाई मनपर्ने संगीतकार न्ह्यु बज्राचार्यलाई भेटिन् र त्यसपछि एल्बम तयार पार्न थालियो । संगीतकार न्ह्यु बज्राचार्य नविताका बारेमा भन्छन् –‘उनको स्वरमा अलग खाले मिठास मैले पाएँ । उनको शब्दोच्चारण पनि शुद्ध छ भने गायकी पनि कुनै पेशेवर गायिकाको भन्दा कम छैन । मैले दुर्गालाल दाईका शब्दहरुमा उनले स्वर न्याय गर्नसक्छ भन्ने लागेर गीत रेकर्ड गराउँदै गए । अहिले दुर्गादाई पनि भन्नुहुन्छ कि उहाँका शब्दले सहि आवाज पाएका छन् ।’
म्युजिक भिडियो लिंक :