साप्ताहिक संवाददाता
वर्ष २०७४ प्रारम्भ भएको छ । नामजस्तै यो संवत्सरले परिस्थितिअनुकूल सामान्य शुभफल प्रदान गर्नेछ । यो वर्ष मुलुकमा ठूलो परिवर्तन नआए पनि लोकमतका आधारमा समयानुकूल विधिको शासन स्थापित हुन सक्छ । ठूलो प्राकृतिक समस्या पनि सामना गर्नुपर्ने छैन । अनुकूल समयको थोरै वर्षाले पनि धर्तीको उर्वराशक्ति बढाउनेछ भने वर्ष उत्पादनशील नै रहनेछ ।
वर्ष स्वामी बुध र मन्त्री बृहस्पति भएकाले पनि यो वर्ष शुभ रहनेछ, तर राजकुमार बुध यो वर्षको राजपदमा आसीन हुने हुँदा मुख्य शासकमा विवेक एवं अनुभवको कमी देखिनेछ भने मन्त्री बृहस्पति जगल्लग्न कुण्डलीको दुई स्थानमा आसीन रहेकाले सरकारका अनुभवी मन्त्रीहरू निष्प्रभावी हुनेछन् । शासक तथा प्रशासकहरूको दूरदृष्टिरहित विवेकहीन निर्णयविरुद्ध जनता एवं तल्ला निकायहरू जागरूक हुनेछन् । राष्ट्रप्रेम जागृत हुनेछ भने जनआकांक्षाले नै सरकारलाई न्यायसंगत मार्गमा प्रवृत्त गराउनेछ ।
यो वर्ष अप्ठ्यारो परिस्थितिबीच राष्ट्रिय हितले महत्त्व पाउनेछ । परिस्थितिसामु दलहरू आ–आफ्नो अडान छाड्न बाध्य हुनेछन् । असन्तुष्ट समूहहरूले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अवलम्बन गर्नेछन् । राजनैतिक दलहरूमा विकासको भावना जागृत हुनेछ । प्रतिपक्षीहरूसमेत मुलुकको हितमा एकजुट हुनेछन्, तर मुलुकलाई विकासको गन्तव्यतर्फ डोर्याउने नेतृत्वको अभाव खड्किनेछ ।
वैदेशिक रोजगारीले थप प्रश्रय पाउने हुँदा रेमिट्यान्समा वृद्धि हुनेछ । व्यापार तथा उद्योगमा लगानी बढ्नेछ भने रोजगारीका अवसर पनि सिर्जना हुनेछन् । शुक्रको प्रभावका कारण नेतृत्वमा बस्नेहरूले मुलुकको विकासभन्दा व्यक्तिगत सुख–सुविधा, भ्रमण, कला, साहित्य, उपहार–पुरस्कार एवं औपचारिकता तथा मनोरञ्जनमा समय बिताउनेछन् ।
मुलुकको आन्तरिक तथा बाह्य शान्ति–सुरक्षा एवं विकास–निर्माणका महत्त्वपूर्ण कार्यमा सेनाको भूमिका बढ्नेछ । २०७४ को भदौ २१ गतेदेखि भाग्यभावमा बृहस्पतिको स्थानान्तरणले दीर्घकालीन योजना तयार हुनुका साथै मुलुकको आयस्रोतमा अभिवृद्धि हुनेछ । समग्र प्रशासन तथा शैक्षिक क्षेत्रमा सुधार आउनेछ । असार, भदौ तथा फागुन महिनामा नेतृत्व हेरफेरको सम्भावना देखिन्छ ।
मुलुकको दक्षिण–पश्चिम दिशाको सीमाक्षेत्रमा हुने अराजक क्रियाकलापले समस्या निम्त्याए पनि अन्तर्राष्ट्रिय जगत्मा शक्ति राष्ट्रहरूले शान्तिको नीति अवलम्बन गर्नुका साथै मुलुकको कूटनीतिक अभ्यासमा सुधार आउने हुँदा छिमेकीसँगको सम्बन्ध सुमधुर बन्नेछ ।