साप्ताहिक संवाददाता
नयाँ वर्षको पहिलो दिनदेखि धेरैले चुरोट छोड्नेछन्, २ अथवा ३ गतेदेखि फेरि त्यसलाई निरन्तरता दिनेछन् ।
निशांक रानाभाट
प्रत्येक महिना पात्रो पल्टाइन्छ अनि वैशाख १ गते पूरै पात्रो झिकेर फालिन्छ, त्यति हो नयाँ वर्ष भनेको ।
अमृत
नयाँ वर्षको दिन जे काम गर्यो, वर्षभरि त्यही गरिन्छ रे, भनेपछि मेरो साथीको वैशाख १ गते विवाह भो, अब उसको वर्षभरि विवाह हुने भयो— हैट †
देवता
राजा सलहेशको बगैंचामा फुल्ने अर्किडजस्तै भैसकेछ जिन्दगी...साला वैशाख १ गते धूमधामले फुल्छ, मज्जा लाग्छ । फेरि अर्को दिन ओइलाई हाल्छ ।
पंकज कुमार
करिब १२ वर्ष पहिलेको नयाँ वर्ष भैंसी गोठालो गएर थालनी गरिया थ्यो दूध खान, आजसम्म टुटेको छैन।
जुनकीरी
वैशाख १ कति गते पर्छ हँ ?
विन लादेन
ए बौलाहा पाजी–पजिनी हो, पहिचान जोगाओ । नेपाली न्यू इयर त वैशाख १ गते हो ।
सोनुकुमार शाह
सरकारी नियम कानुन पनि न्यू इयर रिजोल्यूसन जस्ता । पहिला बनाम्, त्यसपछि हेरम्ला ।
आनन्द नेपाल
नयाँ वर्ष लागे नि, नलागे नि, आफूमा भने नयाँपन आउनुपर्छ । र, त यो जीवन जिउन सजिलो छ, नत्र एकदम सारो ।
सर्टिफाइड गोर्खे
उमंग उही, वेदना दु:ख उही, पात्रो उही काम– नाम उही, मेहनत उही दाम उही, इमान उही पहिचान उही । न विस्मात छ न कुनै हर्ष, अनि आज के को नयाँ वर्ष ?
विक्रम कोइराला
नयाँ वर्ष दुई चोटि मनाउनेले आफ्नो उमेर दुई–दुई वर्ष जोडून् न । के होला हालत ? त्यसैले आफ्नो चाडपर्व र संस्कृतिलाई सम्मान गरौं ।
अरुण भट्टराई
हाम्रो नयाँ वर्ष वसन्ती वहारबाट प्रारम्भ हुन्छ, ठिहिर्याउने जाडोबाट होइन । एक वर्षमा पटक–पटक नयाँ वर्ष आउँदैन । तिरंगी र फिरंगीहरूदेखि सावधान ।
मनोज भण्डारी
मन पुरानै, तन पुरानै, सम्बन्ध पुरानै, साथी नयाँ–पुराना सबैलाई ह्दयभरिको शुभकामना नयाँ वर्षको ।
स्नेह सायमी
हामी सबैलाई कथा मन पर्छ । चाहे त्यो काल्पनिक होस् अथवा सत्य कथा । अरूले लेखेको होस् अथवा आफैंले लेखेको । नयाँ वर्ष सबैको कथा बनोस्, त्यो पनि अविस्मरणीय कथा ।
निमेष पौडेल
दिन, महिना, वर्ष बित्छ । पात्रो फेरिन्छ । घट्छ आयु, हुन्छ मृत्यु, कात्रो बेरिन्छ— सबैलाई नयाँ वर्षको शुभकामना ।
मञ्जरी
नयाँ वर्ष हो कि नयाँ विमार उफ....।
अनु खनाल
ओठमा नओइलाउने मुस्कान लिएर, अवसरहरूको खुड्किला चढ्दै सबैका पाइलाहरू सफलताको शिखरमा पुगून्— नयाँ वर्षको न्यानो शुभकामना ।
बिम्मी शर्मा
नयाँ दिन तर उही काम । नयाँ वर्ष तर उही दाम ।
गिरिराज गौतम
आशा साह्रै सुन्दर शब्द हो, साह्रै–साह्रै नै । नयाँ वर्ष हाम्रा सबै आशा शुभ बन्ने कामना ।
नारायण वाग्ले
विगत ८/१० वर्ष यता १९/२० पटक मैले गरेको वाचा— अंग्रेजी नयाँ वर्ष त यस्तै भो, नेपाली नयाँ वर्षबाट त पक्का सुध्रन्छु– यो तालले भएन ।
शिशिर अधिकारी
वर्षमा दुई पटक नयाँ वर्ष मनाइन्छ । उसको मन भने एकपटक नि नफर्कने ?
माया गुरुङ
मेरा लागि प्रत्येक दिन नयाँ वर्ष, नयाँ दिन, नयाँ काम, नयाँ उत्साह, नयाँ उमंग, शुभदिन, शुभ पल ।
सबु रेग्मी
नेपाल सम्भवत: धेरै चाडपर्व, उत्सव र नयाँ वर्ष मनाउने देशमा पर्छ ।
युवा क्याफे
कसैले कति वर्षको भइस् भने भने कति भन्नु ? ३ सय ६५ दिनमा दुई–तीन पटक नयाँ वर्ष आउँछ ।
प्रकाश
नयाँ–नयाँ वर्ष आइरहे, जिन्दगी उस्तै नै रह्यो । गाउँ फेरें, नाम फेरें, कर्म भने फेरिन । अभागीलाई जति ठाउँ सरे पनि सुख छैन ।
करुण थापा
राजनीतिक बेथितिले थिचेको, नाकाबन्दीले थलिएको, भूकम्पले ढलेको मेरो देश जुन दिन उठ्नेछ, त्यही दिन मेरा लागि दसैं, तिहार, लोसार, छठ तथा नयाँ वर्ष उत्सव हुनेछ ।
मोहित जोशी
व्यापारीलाई व्यापार गर्न र पार्टी गर्नेलाई पिउने बहानाका लागि एउटा न एउटा चाड आइरहन्छ...आज नयाँ वर्ष रे ।
सन्तोष थापा मगर
साल फेरियो तर जिन्दगीको छाल उस्तै, यादमा धड्किरहने मुटुको चाल उस्तै । नयाँ वर्ष त नयाँ बहार लिएर आउनुपर्ने, तर मेरो आँखाको आँसुको ताल उस्तै ।
अशोकराज श्रेष्ठ
पात्रो हेर्नुपर्यो, वैशाख महिनामा ३१ गते छ कि छैन ? लौ नयाँ पात्रो नै रहनेछ । पात्रोमा बरु गते थपौं तर १९ वर्षपछिको निर्वाचन सफल पारौं ।
मिलन पाण्डे