साप्ताहिक संवाददाता
नेपालमा यतिबेला डेढ दर्जनभन्दा बढी राष्ट्रिय टेलिभिजन च्यानल प्रसारणमा छन् । क्षेत्रीय रूपमा प्रसारण हुने टेलिभिजन च्यानलको संख्या त्योभन्दा बढी छ । वर्ष २०७३ मा तीमध्ये अधिकांश च्यानलले आफ्ना कार्यक्रमलाई निरन्तरता मात्र दिए केही च्यानलले केही अन्तर्राष्ट्रिय ब्रान्डका कार्यक्रमलाई नेपाली च्यानलमा ल्याउने प्रयास गरे ।
कान्तिपुर टेलिभिजनले वर्ष २०७३ मा बाल गायनमा आधारित रियालिटी शो ‘सुरशाला आइडल जुनियर’ प्रसारण गरेर नयाँ विधामा आफ्नो प्रभाव विस्तार गर्यो । सुरशाला एकेडेमीको सहकार्यमा तयार पारिएको उक्त कार्यक्रमबाट देशले नै प्रतिभावान बाल गायक–गायिका पाएको छ । कान्तिपुर टेलिभिजनबाटै प्रसारण भएको अभिनेता सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ दर्शकमाझ अत्यन्त लोकप्रिय रह्यो । हास्यरस भए पनि समाजका विकृति–विसंगति माथि व्यंग्य कसिने उक्त कार्यक्रमका प्रत्येक श्रृंखला वर्षभरि नै लोकप्रिय रहे । यही कार्यक्रमका कारण कलाकार क्षेत्री स्वदेश तथा विदेशका कार्यक्रममा समेत व्यस्त भए । कान्तिपुर टेलिभिजनले दिनेश डिसीको सक्रियतामा पुरानो हास्यव्यंग्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ को नयाँ संस्करण ‘ट्वाक्क टुक्क रिटन्र्स’ प्रसारण गर्यो । नयाँ तथा पुराना अभिनेता–अभिनेत्रीहरूलाई सहभागी गराउँदै तयार पारिएको यो कार्यक्रमले राम्रो हाइप बनाइरहेको छ।
प्राय: संगीत तथा मोडलिङमा आधारित कार्यक्रममा जोड दिइरहेको इमेज च्यानलले वर्ष २०७३ मा पहिलो पटक लोकदोहोरीमा आधारित रियालिटी शो ‘इमेज लोक कलाकार’ प्रसारण गर्यो । लोकदोहोरी क्षेत्रका कलाकारहरूले समेत स्वागत गरेको यो कार्यक्रमका लागि च्यानलले देशका प्रमुख सहरमा पुगेर अडिसन गर्दै लोक गायनका प्रतिभालाई काठमाडौं ल्याएर प्रतिस्पर्धा गराएको थियो ।
वर्ष २०७३ को अन्त्यमा ठूलै तामझामका साथ एपी वान च्यानलले आफ्नो औपचारिक प्रसारण प्रारम्भ गर्यो । त्यसअघि नै यो च्यानलले अमेरिकाको लोकप्रिय रियालिटी शो ‘अमेरिकन आइडल’ तथा भारतको ‘इन्डयन आइडल’ को नेपाली संस्करण ‘नेपाल आइडल’ लाई औपचारिक रूपमा नेपाल भित्रायो । अडिसनमा प्रतिभावान गायक–गायिकाको उल्लेख्य सहभागिता पाएको यो कार्यक्रमले दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त गर्ने हो मूल्यांकन गर्न बाँकी नै छ ।
हिमालय टेलिभिजन पनि अन्तर्राष्ट्रिय ब्रान्ड ‘रोडिज’ लाई नेपाल भित्र्याउन सफल भएको छ । अडिसन सम्पन्न भएपछि प्रसारण हुने यो कार्यक्रममा सहरी युवाहरूको उल्लेख्य सहभागिता देखियो । यो कार्यक्रमलाई दर्शकले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको निर्देशक अमनप्रताप अधिकारीले बताएका छन्।
नेपाल टेलिभिजनले वर्ष २०७३ मा खासै प्रभाव पार्न सकेन । ‘हाक्का हाक्की’ बाहेक अन्य कुनै पनि हास्य श्रृंखला यो वर्षको अन्त्यसम्म दर्शकमाझ आएनन् । वर्षको अन्त्यतिर मेरी बास्सै, भद्रगोल जस्ता श्रृंखलाको प्रसारणले निरन्तरता पाए पनि ती श्रृंखलाले विगतमा जस्तो लोकप्रियता बटुल्न सकेका छैनन् । नेपाल टेलिभिजन भन्ने बित्तिकै तितोसत्य, जिरेखुर्सानी सहितका हास्य श्रृंखला दर्शकको मनमा आउँथ्यो, तर मिडिया हब र नेपाल टेलिभिजन बीचको आर्थिक समस्याका कारण लोकप्रिय मानिएका श्रृंखलाहरू रोकिए ।
त्यसो त यही वर्ष व्यापार–व्यवसाय, धर्म, खेलकुद आदिमा आधारित छुट्टाछुट्टै टेलिभिजन च्यानल पनि दर्शकमाझ आए । ती च्यानलको आगमनसँगै दर्शकले आफ्नो रुचिका कार्यक्रमहरू समेत हेर्न पाए ।
न्युज २४ च्यानलबाट प्रेम बानियाँले बिदा लिए भने वर्षको अन्त्यतिर रवि लामिछाने उक्त च्यानलमा ‘जनतासंग सिधा कुरा’ मार्फत प्रस्तुत हुन थाले । यो कार्यक्रममा रविले समाजका विकृति, विसंगति तथा समस्याहरूलाई जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
वर्ष २०७३ नेपाली टेलिभिजन च्यानल तथा कार्यक्रम संख्याको दृष्टिकोणले उत्कृष्ट नै सावित भयो, यद्यपि गुणस्तरीय कार्यक्रमको अभाव खड्किरह्यो । दर्शकहरूले अझै पनि हिन्दी सिरियल हेर्न छाडेका छैनन् । नेपालली च्यानलहरूले पारिवारिक टेलिश्रृंखला प्रसारण गरेर महिला दर्शकहरूलाई आकर्षित गर्ने चेष्टा गरेको पटक्कै पाइएन । टेलिभिजनमा कार्यक्रमको संख्या बढे झैं गुणस्तर समेतमा वृद्धि अहिलेको आवश्यकता भएको छ ।
युट्युबका कारण अहिले टेलिभिजनका दर्शक घटेको अनुमान गर्न गाह्रो छैन । युट्युबमा आफूलाई मन परेका सामग्री आफैंले चाहेको समयमा हेर्ने सुविधाका कारण दर्शकहरू टेलिभिजनबाट टाढिदै गएका हुन् जसलाई रोक्न प्रभावकारी उपायको खोजी अपरिहार्य हुँदै गएको सम्बद्ध विज्ञहरू बताउँछन् ।
(सञ्चारकर्मी नरेश भट्टराईसँगको कुराकानीमा आधारित)