साप्ताहिक संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल) लाई नजिकबाट पछ्याउनेमध्ये एक हुन्— सुभाष खकुरेल । नेपाली राष्ट्रिय क्रिकेट टिमका महफ्वपूर्ण सदस्य सुभाषका लागि आईपीएल एक अर्थमा धेरै कुरा सिक्ने अवसर पनि हो । सुभाष खेलाडी मात्र पनि होइनन्, यो प्रतियोगिताका राम्रा प्रशंसक पनि हुन् । खकुरेल यो प्रतियोगितामा कुनै दिन नेपाली खेलाडीको पनि सम्भावना देख्छन् । आईपीएलको वरिपरि रहेर खकुरेलसँग गरिएको पाँच प्रश्न :
यसपल्टको आईपीएलाई कति पछ्याइरहनुभएको छ ?
भर्खर प्रतियोगिता प्रारम्भ भएको छ र अहिलेसम्मका सबै खेल हेरेको छु, तर पहिलो इनिङ्स मात्र । दोस्रो इनिङ्समा खेल कसरी अघि बढ्छ, त्यसका आधारमा मात्र पूरा खेल हेर्छु । यो प्रतियोगितालाई मैले राम्रैसँग पछ्याउने गरेको छु । यसपल्ट पनि त्यही क्रम जारी रहनेछ । हामीले यस्ता प्रतियोगिता हेरेर धेरै कुरा सिक्न सक्छौं, विशेषत: खेलको स्थिति बुझ्ने कला ।
हाम्रा लागि यस पटकको प्रतियोगिताको सबैभन्दा विशेष कुरा के हो ?
यसपटक आईपीएलमा दुई जना अफगानी खेलाडी पनि खेलिरहेका छन् । उनीहरूले टेस्ट नखेल्ने देशका खेलाडीको प्रतिनिधित्व गरिरहेका छन् । त्यसैले उनीहरूले कसरी खेल्नेछन्, त्यो हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यो तथ्य हाम्रा लागि पनि विशेष छ ।
के आईपीएलमा नेपाली खेलाडीले खेल्ने सम्भावना छ ?
अफगानी खेलाडीको प्रवेशले हाम्रा लागि पनि सम्भावनाको ढोका खोलेको छ, तर त्यसका लागि खेलाडी आफैंमा राम्रो त हुनुपर्छ नै, त्यसमाथि हाम्रो क्रिकेट बोर्ड पनि उत्तिकै बलियो हुनुपर्छ । नेपाली खेलाडीले भविष्यमा आईपीएल खेल्ने सम्भावनालाई नकार्न सकिँदैन, तर यसमा सम्बन्धित सबैको सहयोग एवं सक्रियता चाहिन्छ ।
यसपल्टको प्रतियोगितामा कुन कुन टिम बलियो छ ?
हैदराबाद र कोलकाताको टिम बलियो छ, किनभने दुवै टिम निकै सन्तुलित छन् । हैदरावाद त डिफेन्डिङ च्याम्पियन नै हो ।
तपाईंको समर्थन भने कुन टिमलाई छ ?
मुम्बईको टिमलाई । मुम्बईबाट सचिन तेन्दुलकर खेल्थे । म उनको ठूलो प्रशंसक हुँ । त्यसैले मुम्बईले जितोस् जस्तो लाग्छ । अहिलेका कप्तान रोहित शर्मा पनि मलाई मन पर्ने खेलाडी हुन् ।