साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्र सानो छ । उद्योग भनिए पनि उद्योगको मान्यता नपाएको नेपाली चलचित्र क्षेत्रमा चलचित्रको बजार मानक बक्सअफिस ०७३ मा पनि लागू हुन सकेन । कुरा काट्नु, खुट्टा तान्नु, गुटबन्दी गर्नु नेपाली चलचित्र क्षेत्रमा सामान्य भैसकेको छ । त्यसबाहेक वर्ष ०७३ मा केही घटना एवं विवादले मिडियामा पनि राम्रै स्थान ओगटे ।
प्रेमगीत विवाद
गत वर्षको सर्वाधिक सफल चलचित्र ‘प्रेमगीत’का निर्माता सन्तोष सेन तथा निर्देशक सुदर्शन थापाबीचको विवादले ठूलै रूप लियो, जसका कारण प्रेमगीतका नायक–नायिकामा पनि भागबण्डा भएझैं भयो । नायक प्रदीप खड्का निर्मातातर्फ लागे भने नायिका पूजा शर्मा निर्देशकतर्फ । निर्माता सन्तोष सेनले अरू नै निर्देशकलाई लिएर ‘प्रेमगीत टु’ निर्माण गरे, जसमा प्रदीप नै नायक छन्, तर नायिका भने नयाँ अनुहार । उता चलचित्र ‘प्रेमगीत’को चर्चित गीत ‘म यस्तो गीत गाउँछु’ लाई नै शीर्षक बनाउँदै सुदर्शन थापाले चलचित्र निर्माण गरे, जसमा नायिका पूजा शर्मा छिन् भने नायक पल शाह । संगीतकार अर्जुन पोखरेलले दुवै चलचित्रमा संगीत दिने भएका थिए, तर निर्माता सन्तोष सेनसँगको विवादका कारण अर्जुनले ‘प्रेमगीत टु’मा संगीत दिएनन् । सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु’का संगीतकार भने अर्जुन नै हुन् ।
पाइरेसी काण्ड
गत वर्ष भुवन केसीको सफल चलचित्र ‘ड्रिम्स’को पाइरेसी भएपछि केसीले पाइरेसी गर्ने व्यक्ति पत्ता लगाएर हर्जानासमेत तिराए । लगत्तै वर्षको सुपरहिट चलचित्र ‘छक्कापञ्जा’ पाइरेसी भयो । दोषी पत्ता लगाउने क्रममा केही युवासँग सोधपुछ गरिएको थियो । तीमध्ये कृष्ण सुवेदीले आत्महत्या गरेपछि उक्त पाइरेसी काण्डले अर्कै रूप लिएको थियो ।
निर्देशक आउट
साउन महिनामा पुरानो बानेश्वरमा चलचित्र निर्माता/निर्देशक रोज राणामाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेर घाइते बनाए । यही वर्ष राणाले बलिउड चलचित्र ‘भूतनाथ’का निर्देशक विवेक शर्मालाई लिएर नेपाली चलचित्र ‘मेरो पैसा खोइ’को निर्माण थाले, तर आन्तरिक विवादका कारण १४ दिन छायांकन गरेको सबै फुटेज डिलेट गरेर निर्देशक शर्मा बिनासूचना मुम्बई फर्किएपछि रोज राणाले अर्को तनाव झेल्नुपर्यो । रोज अहिले आफ्नै निर्देशनमा उक्त चलचित्र निर्माण गरिरहेका छन् । अर्को चलचित्र पलाँसको छायांकनकै क्रममा निर्माता तथा अभिनेत्री रेखा थापासँग विवाद भएपछि निर्देशक सुवास कोइराला चलचित्रबाट बाहिरिए । अन्तत: निर्माता कृषा चौंलागाईं आफैंले चलचित्रको सबै कार्य सकेर पलाँसलाई प्रदर्शनमा ल्याइन् ।
हात हालाहाल
गएको भदौमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई तथा निर्माता माधव वाग्लेबीच राईकै कक्षमा हात हालाहालको स्थिति सिर्जना भयो । निर्माता संघका तत्कालीन अध्यक्ष राईसँग तत्कालीन कार्यसमितिका सदस्य वाग्लेको विवाद हुँदा अप्रिय स्थिति सिर्जना भएको दुवैले स्वीकार गरे । माघ महिनामा चलचित्र संघ परिसरमा चलचित्र वितरक गोविन्द शाहीले अर्का निर्माता तथा वितरक गोपाल कायस्थलाई हातपात गरेपछि वितरक कायस्थले प्रहरीमा समेत उजुरी हाले भने शाही माफी माग्न बाध्य भए ।
प्रेम र ब्रेकअप
नम्रता श्रेष्ठ यो वर्ष आफ्ना प्रेमी दावा शेर्पासँगको प्रेममा चुर्लुम्म डुबिन् भने उनी प्रेमी शेर्पासँग सार्वजनिक रूपमै देखा पनि पर्न थालिन् । यो वर्षकी चर्चित नायिका वर्षा राउत पनि आफ्ना प्रेमी संजोग कोइरालासँगको प्रेममा मख्ख परिरहिन् । वर्षको अन्त्यमा आएर प्रियंका कार्की आफूभन्दा कान्छा आयुष्मान देशराज श्रेष्ठसँगको प्रेममा परेको हल्ला चल्यो । निर्माता छवि ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गर्ने हल्ला पनि चलाए । यद्यपि अहिलेसम्म विवाह भने गरेका छैनन् । अर्कातर्फ सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको प्रेमको चर्चा पनि निकै चल्यो भने सौगातलाई आफ्नो प्रेमी बताउने मोडल सोनी केसीले सृष्टिको अनुहारमा तेजाब फ्याँक्ने धम्की दिएपछि सौगातले सोनीविरुद्ध प्रहरीमा उजुरी गरे । दुई वर्षदेखि सार्वजनिक रुपमै प्रेममा रहेका नीता ढुंगाना र आमेशबीचको प्रेम भने छुट्यो ।
सबै एवार्ड विवादित
यसपटक चलचित्रसम्बन्धी एवार्ड समारोह निकै भए । विदेशमा मात्र होइन, समुद्रमुनि र सगरमाथासम्ममा एवार्ड कार्यक्रम सम्पन्न गरियो । नेपाल सरकारले प्रदान गरेको राष्ट्रिय पुरस्कारबाहेक बाँकी सबै एवार्ड विवादमुक्त रहन सकेनन् । निर्देशक दीपेन्द्र के खनालले दुबईमा वितरीत नेफ्टा एवार्डमा पाएको एवार्डसमेत फिर्ता गरिदिए ।
अरू पनि,
- गाँजाबाजा चलचित्र विकास बोर्डमा दर्ता भएन, मुद्दा सर्वोच्चमा पुगेको छ । रेखा थापा राप्रपा प्रवेश मात्र गरिनन्, केन्द्रीय सदस्यको चुनाव पनि जितिन् ।
- करिश्मा मानन्धर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीकी सक्रिय सदस्य भइन् ।
- अनमोल केसीले चलचित्रको पारिश्रमिक बढाएपछि हौसिएका अन्य कलाकारले पनि आ–आफ्नो पारिश्रमिक बढाउन थाले ।
- लुट–टुबाट राम्रो प्रतिक्रिया नपाए पनि प्रतिभाशाली निर्देशक निश्चल बस्नेत अभिनय तथा आइटम डान्समा समेत रमाउन थालेका छन् ।