स्नेह आश्रमले के गर्छ ?
भूकम्पमा आमा–बाबु गुमाएका बालबालिकालाई कृत्रिम बाबु–आमा दिलाएको छ ।
कृत्रिम भन्नाले ?
इकु र इकुकी श्रीमती सम्झना शंकर हामी दुई उनीहरूका आमा–बुबा बनेका छौं ।
उनीहरूलाई आश्रय दिनुको कारण ?
केही छैन, मात्र यति हो, म आज यो ठाउँमा बालबालिकाका कारणले आएँ, मैले कमाएर लाने केही होइन । जति कमाउनु बालबालिकाहरूले कमाइदिसके, मैले त्यसैको गुन तिर्न खोजेको हुँ ।
गार्हो होला नि ?
आर्थिक कठिनाइ त छ, म एक्लैले धान्नु छ तर छोराछोरी हुन पाल्नचाहिँ गाह्रो छैन । भगवान्ले ‘तँ चिता म पुर्याउँछु’ भन्नुभा’ छ ।
संघ–संस्था तथा साथीभाइबाट सहयोग ?
संघ–संस्थाबाट चाहिँ छैन, केही साथीभाइबाट सानोतिनो सहयोग पाएको छु ।
आश्रममा कति जना बालबालिका छन् ?
९ जना ।
यसमा तपाईंको उद्देश्य के हो ?
मेरो भविष्य उनीहरूले बनाए, उनीहरूको भविष्य मैले बनाउने हो ।
एक्लैले पालन–पोषण गर्न गाह्रो होला नि ?
सुरुवात गरें । मेरी बूढी सम्झना र एक जना सहयोगीले सहयोग गरेका छन् । उनले स्याहार–सुसार गर्छिन् । बच्चाहरू ज्ञानी छन् । म बाहिर स्टेज कार्यक्रममा हुन्छु । चलेकै छ, हेरौं के हुने हो ? भोकै बस्छु तर उनीहरूलाई बचाउँछु ।
बाधा–अवरोध त आउँछन् होला नि ?
मजस्तो एउटा सामान्य कलाकारले सामाजिक काम गरेको छु, हौसला पाएको छु, बाधा छैन ।
आश्रम कहाँ छ ?
काठमाडौं जोरपाटीको मूलपानीमा ।
तपाईं त कलाकार, सहयोगीहरू भेट्नुहुन्न र ?
धेरैले गर्छु भन्नुभएको छ, गर्नुहुन्छ होला । मैले त पालेको मात्र हो, तिनीहरू आमजनताका छोराछोरी हुन । सहयोग गर्नु होला, मरेर लानु के छ र ?