साप्ताहिक संवाददाता
सडक साना छन्, त्यसमाथि ती खनिएका छन्, सवारी साधनको चाप उच्च छ जसले गर्दा खुम्चिएर हिंड्नुपर्ने स्थिति छ । यसकारणले आफू छेउमा छु भन्ने अवगत गराउन पनि पटक–पटक हर्न बजाउनैपर्छ । बटुवाहरूलाई छेउ लाग भन्न पनि हर्न बजाउनैपर्ने बाध्यता छ । त्यसैले यो नियम लगाउनु ठीक लागेको छैन, बरु एक्सेसिभ हर्न बजाएर हुइँकिने गाडी वा बाइकलाई कारबाहीको दायरामा ल्याउनु उपयुक्त हुन्छ ।
संजोग कोइराला, अभिनेता
लौ, गाडीले हर्न नबजाए के बजाउनु त ?
रञ्जन रिजाल, मोडल/अभिनेता
ध्वनि प्रदूषण कम गर्न हर्न निषेध सही कदम हुनसक्छ, तर अब चालक र पदयात्री दुवै बढी सतर्क हुनु जरुरी छ ।
अरुण तिवारी, गीतकार
ध्वनि प्रदूषण कम गर्न ठीक त हो, तर सरकारले ट्राफिक व्यवस्थापनमा चाहिँ बढी ध्यान पुर्याउनुपर्छ।
नवनीत प्रधान, मोडल/अभिनेता
साह्रै बेठीक नि † आजकाल त्यही कारणले हर्न बजाएर केटी जिस्क्याउने काममा ९० प्रतिशत कमी आएको छ रे ।
आकाश खड्का, सञ्चारकर्मी
१. भाडाका सार्वजनिक बस, माइक्रो साथै इँटा–बालुवा बोक्ने मिनी ट्रक तथा पानीका ट्यांकरको गति निश्चित हुनुपर्छ । त्यसपछि अन्य गाडी तथा मोटरसाइकलको स्पिड लिमिट तोकिनुपर्छ ।
२. नयाँ होस् वा पुरानो धूवाँ बढी फाल्ने कुनै पनि सवारी साधन रद्द गरिनुपर्छ ।
३. ट्राफिक प्रहरी पनि कसरी हुन्छ सानो गल्ती देखाएर कर मात्र उठाउने मनस्थितिबाट माथि उठ्दै साँच्चिकै गल्ती गर्नेहरूलाई दण्ड दिने कार्यमा अग्रसर हुनुपर्छ । यी कुरा पूर्ण रूपमा लागू भए हर्न आफैं कम भएर जानेछ ।
आनन्द राई, संगीतकार
ध्वनि प्रदूषणका बारेमा धेरैजसो चालकमा चेतना छैन, त्यसैले उनीहरू अनावश्यक अवस्थामा पनि हर्न बजाउँछन् । हस्पिटल, स्कुलजस्ता स्थान नजिक हर्न बजाउन कडाइ गरे पनि केही स्थान जस्तो कि हाइवे, जथाभावी बाटो काट्नेहरूको सामु, दुर्घटना हुने जस्तो अवस्थामा वा अगाडि केही नदेखिने मोडहरूमा हर्न बजाउन छुट दिनुपर्छ ।
अलिशा राई, अभिनेत्री
मलाई त ठीक लागेको छ, किनभने जाममा पर्दा वा ओभर टेक गर्न टि..टिट्.. गर्यो, गाडी चलायो । योचाहिँ अलि बढि नै भएको थियो, तर बाटो नै हाम्रो हो, यहाँ हामी हिँडने हो, गाडी होइन जस्तो गरेर हिँड्नेहरूलाई चाहिँ यसले असर गर्छ कि ?
वसन्त सापकोटा, संगीतकार
हर्न भनेको विशेष परिस्थितिमा बजाइन्छ । हर्न बजाउनै रोक्नुभन्दा त बरु हर्न बजाउने परिस्थिति सिर्जना हुने अवस्थामा रोक लगाउने व्यवस्था गरे कसो होला ?
वर्षा राउत, अभिनेत्री
सडकमा मनपरी बाटो काट्ने एवं लापरबाहीपूर्वक मोटरसाइकल तथा गाडी हाँक्नेहरूको बिगबिगी छ । यस्तो अवस्थामा हर्न नबजाए आफैंलाई नोक्सान हुन्छ । हर्न बजाउने नियममा कडाइ गर्नुभन्दा पहिले त त्यस्ता लापरबाही रोक्न पहल गर्नुपथ्र्यो । हामीलाई पनि जथाभावी हर्न बजाउने रहर त कहाँ छ र ?
सन्तोष अधिकारी, बस चालक
एकदम ठीक लागिरहेको छ । हर्न नबजेपछि वातावरण शान्त हुन्छ । हर्न नबजेपछि कानको जालीलाई पनि असर पर्दैन । अझ केही गाडीवालाले राम्री केटी बाटोमा उभिएको देख्यो कि अनावश्यक रूपमा हर्न बजाएर तनाव दिन्थे । त्यस्तो तनावबाट मुक्ति पनि पाइएको छ ।
ऋतु कँडेल, गायिका
नियम पालन गर्न सकियो भने कडाइ गर्नु एकदमै राम्रो हो, तर सबैभन्दा पहिले सवारी चालकहरूले पनि बटुवालाई पहिलो प्राथमिकता दिएर बाटो काट्ने बेलामा उनीहरूको सम्मान गर्नुपर्छ ।
सविना कार्की, गायिका
ध्वनि प्रदूषण रोक्नु ठीक हो । अब काठमाडौंमा धुलो पनि उड्न नपाउने आदेश जारी गरे श्वास फेर्न अलि राहत मिल्थ्यो कि ?
अजयबाबु शिवाकोटी, सञ्चारकर्मी
विदेशको संस्कृति र सभ्यता हेर्दा त ठीक हो । केही सवारी साधनका चालकले यो भन्दा अगाडि यात्रु बोलाउन तथा केटी जिस्क्याउन पनि हर्न बजाउँथे, तैपनि यहाँको कथा बेग्लै छ । यहाँका बटुवा पनि सडकमा छोडिएका साँढे जत्तिकै छन्, हर्न नबजाएसम्म डेग चल्दैनन् । त्यसैले अब चालकलाई हर्न बजाउन नदिने भए, ट्राफिकको जस्तै एक–एकवटा सिट्ठी दिए हुन्थ्यो बजाउनलाई । नत्र त बटुवाको ढाडमै गाडी बजाइदेलान् ।
दीपकराज गिरी, अभिनेता
हर्न बजाउँदा त यहाँका मानिस र गाडीहरू ? नबजाउँदा त झन् के होला ? मेरो त बिनाकारण हर्न बजाउने बानी छैन । बरु हर्न निषेधित क्षेत्र तोकिदिए हुन्थ्यो ।
जेम्स प्रधान, गायक/संगीतकार
बेठीक, किनभने यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । अति आवश्यक परिस्थितिमा बजाउन पाउनुपर्छ ।
बीबी फुयाँल, निर्देशक
नियम राम्रो हो, तर जुनसुकै नियम लागू हुन आमजनताले त्यसलाई मान्न त्यसको विकल्प तयार हुनु जरुरी हुन्छ ।
आमेश भण्डारी, अभिनेता
नियम लागू गर्नुभन्दा पहिले त्यसको सकारात्मक एवं नकारात्मक प्रभावको अध्ययन गर्नु जरुरी थियो । स्पिड मेन्टेन, लेन मेन्टेन, जेब्रा क्रसिङको प्रयोग जस्ता कुरामै जनचेतना नपुगेका बेला हर्न नबजाउँदा के होला ?
प्रनब जोशी, निर्देशक
यो एउटा राम्रो सुरुवात हो । यसलाई पालना गर्नुपर्छ ।
लोकराज अधिकारी, गीतकार
वातावरणीय र स्वास्थ्यको दृष्टिकोणले एकदम ठीक छ, तर साँँघुरा सडक, हर्न प्रेमी चालक तथा मुल सडकप्रेमी पैदल यात्रीको बानी पो कसरी परिवर्तन गर्ने ?
मनोज गजुरेल, हास्य अभिनेता
अब ट्रकहरूको पछाडि लेखिएको
हर्न प्लिज मेट्न अर्को आदेश जारी गर्नुपर्यो सरकार !
प्रकाश पौडेल, गायक