लेखनाथ, पोखराका सुवास गुरुङ पछिल्ला साढे तीन महिनादेखि एउटा प्रतियोगितामा व्यस्त थिए । प्रतियोगिताको पहिलो अडिसनमा छनोट भएदेखि बढेको उनको व्यस्तता करिब बीसवटा प्रतिस्पर्धा हुँदै निर्णायक चरणसम्म पुग्यो । फाइनलमा उनको प्रस्तुति यति बेजोड थियो कि निर्णायक तथा दर्शकले उनलाई नै रोजे । अन्तत: उनी नै घोषित भए सातौं बिग आइकन ।
पोखराको बिग एफएमले आयोजना गरिरहेको गायनमा आधारित राष्ट्रिय स्तरको रियालिटी शो ‘बिग आइकन’ को सातौं संस्करणमा बाजी मार्न त्यति सजिलो भने थिएन । यसअघि चौथो संस्करणको बिग आइकनमा अडिसनबाटै बाहिरिएका सुवासले हिम्मत नहारी छैटौं चरणको प्रतिस्पर्धामा पनि भाग लिए । उक्त प्रतियोगितामा उत्कृष्ट २० बाट बाहिरिँदासमेत उनले खासै चित्त दुखाएनन् । ‘अर्को वर्ष चाहिँ जितेरै छाड्छु’ भन्ने अठोटका साथ उनी सातौं संस्करणका लागि तयार भए, त्यसका लागि उनले करिब एक वर्षभन्दा बढी मेहनत गरे । लेखनाथको सैनिक वस्तीमा चार वर्षअघि आफैंले स्थापना गरेको ‘सैनिक सेभियर ब्यान्ड’ का सहकर्मीहरूको हौसला तथा दिनरातको मेहनतले उनी तेस्रो पटकको प्रयासमा उपाधि विजेता भएका हुन् ।
स्नातक तह अध्ययनरत सुवास बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिए । विद्यालयका कार्यक्रममा समेत गीत गाउने सुवासले एसएलसी दिएपछि भने संगीतलाई नै करियर बनाउने निर्णय गरे । त्यसैका लागि उनले बिग आइकनको चौथो संस्करणमा सहभागिता जनाएका थिए । यद्यपि आफू संगीतमा काँचो भएकाले पहिलो चरणबाटै बाहिरिँदासमेत उनी दु:खी भएनन् ।
तीन साताअघि पोखराकै सभागृहमा सम्पन्न ग्रान्ड फिनालेमा विजयी भएपछि सुवासको दिनचर्या नै परिवर्तन भएको छ । पोखरादेखि राजधानी काठमाडौंसम्मका सञ्चारमाध्यमलाई अन्तरर्वार्ता दिन तथा फोटोसेसन गराउन सक्रिय सुवास अब भने बिग आइकनको गरिमालाई उच्च स्थानमा पुर्याउने कार्यमा तल्लिन हुनेछन् । रक गायनमा विशेष दख्खल राख्ने सुवासले पछिल्लो प्रतिस्पर्धाका क्रममा नेपथ्य समूहका रक गीतहरू गाएका थिए । निर्णायकले उनको प्रस्तुतिलाई ‘रकिङ’ भनेर उत्साह बढाएका थिए । भविष्यमा रक संगीतमै लाग्ने उनको योजना छ । यद्यपि उनमा हरेक विधाका गीत गाउन सक्ने आत्मविश्वास छ ।
लेखनाथकै एउटा स्टुडियोमा आफ्नै शब्द, संगीत तथा स्वरमा ‘अधुरो सपना...’ शीर्षकको गीत रेकर्ड गराएका सुवास बिग आइकनको उपाधिसँगै उक्त गीतलाई पुन: रेकर्ड गरेर श्रोतामाझ ल्याउने तयारीमा छन् । ‘आफ्नो पहिलो गीत आफ्नै शब्द तथा संगीतमा तयार पार्ने निर्णय गरेको छु, सुवास भन्छन्— ‘आफ्नो कम्पोजमा जुन फिलिङ्स आउँछ, अरूको गीत गाउँदा त्यस्तो हुँदैन ।’
बिग आइकनमा प्राप्त सफलताबाट मानिसले जीवनमा कहिल्यै हिम्मत हार्नु हुँदैन भन्ने शिक्षा पाएका सुवास दुई पटकको असफलतापछि तेस्रो पटकमा सफल हुनुमा आफ्नो ब्यान्डका सहकर्मीहरूको साथ, सहयोग तथा उत्साहले ठूलो भूमिका निर्वाह गरेको बताउँछन् । बिहान दुई तथा साँझ चार घण्टाको नियमित अभ्यासले झन्डै १ हजार प्रतिस्पर्धीमध्ये अब्बल हुन सफल सुवास आगामी दिनमा युट्युबमा आफ्नै च्यानल स्थापना गरेर आफ्ना उत्कृष्ट गीतहरू अपलोड गर्ने बताउँछन् ।
भविष्यसम्म पनि आफ्नो ब्यान्डलाई आफूसँगै अघि बढाउने योजना बनाएका सुवास संगीतमा सक्रिय भएर जीवन निर्वाह गर्न सकिने कुरामा ढुक्क देखिन्छन् । ‘अहिले प्रविधिको जमाना छ, यसलाई राम्रोसँग सदुपयोग गर्न सकियो भने कुनै पनि संगीतकर्मीले भोकै बस्नु पर्दैन, सुवासको तर्क छ— ‘आफ्ना सिर्जनालाई क्षणभरमै विश्वभर पुर्याउन सकिने प्रविधिले संगीतकर्मीहरूको भविष्य उज्वल बनाएको छ ।’