डिजाइनर कुर्ती
कुर्ती गत वर्ष नेपाली पुरुषहरूका लागि लोकप्रिय पहिरनका रूपमा देखा पर्यो । सबै उमेरका पुरुषलाई सुहाउने कुर्तीले विशेषगरी अधबैंसे युवाहरूको मन जितेको देखियो । लामो स्टाइलको कुर्ती पाइन्ट तथा कुर्तीकै सेटमा तयार गरिएको ट्राउजरमा लगाउन सकिन्छ । यसैगरी छोटो स्टाइलको कुर्ती हाफ पाइन्ट तथा चुजी पाइन्टका साथ लोकप्रिय देखियो । सेतो, खैरो, कालो आदि रंगमा बढी प्रयोग भएको कुर्तीको माग यो वर्ष पनि कायमै रहने देखिन्छ ।
ढाकाको पहिरन
केही वर्षयता स्वदेशमै उत्पादित ढाकाका पहिरनमा नेपाली पुरुषहरूको आकर्षण बढ्दै गएको छ । विशेष गरी सभा–समारोह, विवाह, पार्टीजस्ता अवसरमा ढाकाका दौरा–सुरुवाल, स्टकोट तथा टोपी लगाउने पुरुषको संख्या गत वर्ष ह्वात्तै बढेको देखियो । ढाकाको यस्तो क्रेज यो वर्ष थप उचाइमा पुग्ने अनुमान छ । स्मार्ट लुक्स प्रदान गर्ने ढाकाका पहिरनप्रति नयाँ पुस्ता आकर्षित हुनु यसको सकारात्मक पक्ष हो।
टु पिस र थ्री पिस
पार्टी वेयरका रूपमा सदावहार मानिने पहिरन टु पिस तथा थ्रि पिसको क्रेज गत वर्ष अलिकति पनि कम भएन । पाश्चात्य पहिरन भए पनि नेपालीहरूमाझ यो पहिरनको छुट्टै क्रेज छ । सामान्य अवस्थामा भन्दा पनि विशेष सार्वजनिक कार्यक्रमहरूमा लगाइने सुट आजभोलि कामकाजी पुरुषहरूको क्याजुयल पहिरनका रुपमा परिभाषित हुन थालेको छ । विगतका वर्षहरूमा झैं टु पिस र थ्रि पिसको क्रेज यो वर्ष पनि कायमै रहने छ ।
प्रिन्टेड कोट
परिवर्तित फेसनसँगै आजभोलि प्रिन्टेड कोटले नेपाली युवाहरूको मन जितेको छ । बजारमा भित्रिएको छोटो समयमै यसले लोकप्रियता कमायो । यस्तो डिजाइनर कोट पार्टी तथा क्याजुअल वेयरमा म्याच गराएर लगाइएको पाइन्छ । यो वर्ष पनि यस्तो कोटको लोकप्रियता कायमै रहने फेसन विज्ञहरूको धारणा छ ।
क्याजुअल जिन्स
जिन्सले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका पुरुषको मन जितेको छ । विशेषगरी क्याजुअल जिन्स अहिले लोकप्रिय मानिन्छ । यस्तो जिन्स सर्ट तथा टिसर्टसँग लगाउन सकिन्छ । विशेषगरी कालो र नीलो रंगमा लोकप्रिय जिन्सको क्रेज बितेका वर्षहरूमा जति थियो यो वर्ष पनि त्यति नै रहने अनुमान छ । अहिले नेपाली डिजाइन दिएर तयार पारिएको क्याजुयल जिन्सले समेत नेपाली फेसन बजारलाई तताएको छ ।