साप्ताहिक संवाददाता
परीको कथा खेलकुदमा प्राय: दोहोरिन्छ । परीको कथामा सुरुमा जस्तै दु:ख र समस्या भए पनि पछि खुसी प्राप्त हुन्छ । खेलकुदमा पनि त्यस्तै हुन्छ । त्यसैले त यसले धेरैलाई लोभ्याउँछ । क्रिकेटमा त झन् त्यस्तो सम्भावना अझ बढी हुन्छ । धनगढी प्रिमियर लिग (डीपीएल) मा पनि यस्तै भयो । धनगढीमा भएको प्रतियोगितामा धनगढी नाम बोकेकै टिम विजेता भयो । पूरा नाम थियो, धनगढी चौराहा टिम । धनगढीले जितसम्म तय गरेको यात्रा आफैमा अद्वितीय थियो ।
लिग चरणको सुरुमा धनगढीको सुरुवात राम्रो हुन सकेन । सुरुका तीन खेलमा धनगढी पराजित रह्यो । यस्तोमा प्रश्न उठ्न थालिसकेको थियो, कतै कप्तान पारस खड्काको जादुयी नेतृत्व कमजोर हुन थालेको त होइन ? सुरुका तीन खेल गुमाएयता उसका लागि त्यसपछि प्रत्येक खेल फाइनलजस्तै रहे । जिते अघि बढ्ने । होइन, हार्ने हो भने प्रतियोगितामा चुनौती समाप्त । सुरुमा हार्ने बानी बसालेको धनगढीले निर्णायक मोडमा पुगेपछि भने हार्न बिर्सियो ।
त्यसैले धनगढी उपाधिका लागि बढी हकदार देखियो । प्रतियोगिताको अन्त्यमा धनगढी वास्तविक विजेता सावित भयो । खेलकुदको भाषामा यसका लागि प्रयोग हुने शब्दावली हो— ‘ट्रयु विनर’ । धनगढी लिग चरणको सुरुवाती तीन खेलमा विराटनगर, कञ्चनपुर र अत्तरियासँग लगातार पराजित भएको थियो । यस्तोमा टिम अंक तालिकाको पुछारमा थियो । उसको चौथो खेल काठमाडौंविरुद्ध थियो । त्यसमा पहिलो जित निकालेयता ऊ रूपन्देहीलाई समेत हराउन सफल भयो ।
यस्तोमा धनगढी बल्लतल्ल चौथो स्थानमा पुग्यो र अघि बढ्ने सम्भावना जीवन्त राख्न सक्यो । इलिमिनेटरमा धनगढीले फेरि काठमाडौंलाई हरायो । क्वालिफायर टुमा पनि उसले फेरि रूपन्देहीलाई नै हरायो । रूपन्देही त्यही टिम हो, जसले लिग चरणको समाप्तिमा शीर्ष स्थान हात पारेको थियो । फाइनलमा धनगढीले विराटनगरलाई ६२ रनले सजिलै हरायो । आफ्नो पहिलो खेल धनगढीले विराटनगरसँगै गुमाएको थियो र फाइनलमा उसैलाई हराएर बदला पनि लियो ।
फाइनलको कथा पनि उस्तै रह्यो, धनगढीका लागि । टस जितेर उसले पहिले ब्याटिङको निर्णय गर्न दुई पल्ट सोचेन, तर उसको सुरुवात कमजोर रह्यो । चार रन पनि बनेको थिएन, धनगढीले दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाइसकेको थियो । इनिङ्सको अन्त्यतिर आरिफ सेख र अमर रौतेलाले गज्जबको आक्रामक ब्याटिङ गरे । नतिजा धनगढी २० ओभरमा पाँच विकेट गुमाएर १ सय ५९ रन बनाउन सफल भयो । जवाफमा विराटनगरले कहिल्यै सम्हालिएर खेल्न सकेन् ।
लगातार एकपछि अर्को विकेट गुमाएको विराटनगर १८ दशमलव १ ओभरभित्र ९७ रनमै समेटियो । एक अर्थमा फाइनल एकपक्षीय जस्तै रह्यो । धनगढीको अगाडि विराटनगर आत्तिएको जस्तो देखियो । खासमा धनगढीले जसरी प्रतियोगितामा आफ्नो यात्रा तय गरेको थियो, त्यसले उसका खेलाडीहरूमा आत्मविश्वास बढाएको थियो । खेलाडीहरूले मनस्थिति बनाइसकेका थिए, जस्तै स्थितिमा पनि जित्न सकिन्छ । धनगढीको यही यात्राको बेगले अन्तत: विराटनगरलाई बगायो । यो यात्रा वास्तवमै परीको कथा जस्तै थियो ।