पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, अखण्ड नेपाल पार्टी आदि दल अस्तित्वमा छन् ।
२०४९ मा नेपाली कांग्रेस तथा २०५४ सालमा एमालेले मेयर जितेको पोखरामा यसपालि कसले बाजी मार्ला, यसै भन्न सकिने अवस्था छैन । खासगरी पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । स्थानीय निर्वाचन भएका कारण मतदाताले दलगत भन्दा पनि उम्मेदवार हेरेर मत दिने भएकाले ठोकुवा गर्ने स्थित हुँदैन भन्ने मान्यता विश्लेषकहरूको छ ।
पहिलो पटक महानगर भएको पोखराको मेयर छनोटमा सबै दलभित्र रस्साकस्सी देखियो । त्यसमा पनि ठूलो दल नेपाली कांग्रेसको तानातान विपक्षीका लागि रोचक बन्यो । एक जना मेयर पदका लागि ३३ जनाले दावेदारी दिए । ३३ जनाबाट कसलाई अघि सार्ने भनेर छलफल चलाउन खोजिए पनि निष्कर्षमा पुग्न नसकेपछि ३३ जनाकै नाम केन्द्रमा पठाइयो । उपमेयरमा १५ जना आकांक्षी थिए । नेकपा एमालेले मेयरको उम्मेदवार छान्न आन्तरिक चुनाव नै गरायो, जसबाट पूर्वमेयर तथा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज मानबहादुर जीसी तथा मित्रकुमारी गुरुङ (सुवेदी) लाई मेयरमा सिफारिस गरियो । मेयरका आकांक्षी युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीको यात्रा आन्तरिक मतदानमै टुंगियो ।
जिफानका अध्यक्ष गाउँ प्रमुखका उम्मेदवार
कास्की जिल्लाको मादी गाउँपालिकाको प्रमुखमा गुरुङ फिल्म एसोसिएसन जिफानका अध्यक्ष वेदबहादुर गुरुङ श्याम उम्मेदवार भएका छन् । उनले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् । उनको नेपाली कांग्रेसका उम्मेदवार देवीजंग गुरुङसँग मुख्य प्रतिस्पर्धा हुनेछ ।