नवलपरासी जिल्लालाई प्रदेश विभाजन गर्दा दुई चिरामा विभाजन गरिएको छ । पहिलो चरणको निर्वाचनमा दाउन्नेदेखि पूर्वका ४ वटा नगरपालिका तथा ४ वटा गाउपालिकाको केन्द्रमा कावासोती नगरपालिका छ । नवलपरासीका ७ वटा नगरपालिकामध्ये धेरै जनसंख्या र तीव्र सहरीकरणका कारण कावासोती नगरपालिका विशेष चर्चामा छ ।
नेपाली कांग्रेसले मेयरमा महेन्द्र पोखरेल तथा उपमेयरमा खगीसरा गुरुङलाई चुनावी मैदानमा उतारेको छ । यस्तै, एमालेले चन्द्रा कुमारी पुनलाई मेयर तथा प्रेमशंकर मर्दनियालाई उपमेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट डाँसीराम बस्याल मेयर तथा रमिला भुजेल उपमेयरका उम्मेदवार छन् । यस्तै, राप्रपाले लोकनाथ काफ्लेलाई मेयर र उमा दमैलाई उपमेयर, नयाँ शक्ति र संघीय समाजवादीका साझा उम्मेदवारका रूपमा मेयरमा मंगल लामा तथा उपमेयरमा पवित्रा भुषालको उम्मेदवारी परेको छ । राजमो र वैद्य माओवादी एवं मालेले सम ेत मेयर–उपमेयरमा आ–आफ्ना उम्मेदवाहरूलाई चुनावी मैदानमा उतारेका छन् । एमालेले महिला नेतृ चन्द्रकुमारी पुनलाई मेयरमा उठाएर आफू एक्लै बलियो रहेको सन्देश दिन खोजेको छ ।
फरक–फरक राजनैतिक एजेन्डा बोकेका दलहरूले यसपटकको निर्वाचनमा पूर्वी नवलपरासीको केन्द्र कावासोतीलाई बनाउने एजेन्डामा सहमति जनाएका छन् । दक्षिणमा नारायणी नदीको किनार र उत्तरमा चिसो हावापानी रहेको पहाडी क्षेत्रलाई पर्यटकीय थलोका रूपमा विकास गर्ने भन्दै सबै दलले एकै प्रकारका विकास एजेन्डा जनतामाझ ल्याइरहेका छन् ।
सबै दलले फोहर व्यवस्थापन, सडक कालोपत्रे, चक्रपथ निर्माण, हराभरा वातावरण, नगरभित्र उच्च शिक्षा एवं सरकारी अस्पताल निर्माणसहित समृद्ध नगरको नारा दिएका छन् । तटबन्धन, फोहरमैला व्यवस्थापन तथा साँघुरा सडक यहाँका मुख्य चुनौती हुन् । औद्योगिक विकासको पर्याप्त सम्भावना बोकेको कावासोतीलाई भारतीय नाकासम्म पुग्ने मुख्य सहरका रूपमा विकास गर्ने आश्वासन दलहरूले बाँडेका छन् ।
यसपटकको निर्वाचनमा यहाँ ९ वटा दल प्रतिस्पर्धामा रहे पनि कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । मगर तथा थारु समुदायको बाहुल्यता रहेको यो नगरमा ती मतदाता रिझाउन सबैले पर्याप्त प्रयास गरेका छन् ।
जनसंख्या : ६३ हजार ८ सय ५१
क्षेत्रफल : १ सय ८ दशमलव ३४ वर्गकिलोमिटर
मतदाता संख्या : ३८ हजार ८ सय ६९
वडा संख्या : १७