सुर्खेतको पुरानो तथा प्रदेश नम्बर–६ को सम्भावित राजधानी हो–वीरेन्द्रनगर । प्रदेशको सम्भावित राजधानी भएकाले प्रमुख तीन दल कांग्रेस, एमाले तथा माओवादी केन्द्रले वीरेन्द्रनगरको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
कांग्रेसले आफ्ना नगर सभापति देवकुमार सुवेदीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । दुई कार्यकाल नगर सभापति भएका सुवेदी विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा प्रभावशाली मानिन्छन् । उनको चुनावी नारा योजनावद्ध सहर, समृद्ध वीरेन्द्रनगर हो ।
वीरेन्द्रनगर उपत्यकालाई उत्कृष्ट प्लानिङ गरेर त्यसभित्र समृद्धिका आधारहरू खोज्ने, सबैभन्दा ठूलो समस्या खानेपानीको आपूर्ति, फोहरमैलाको व्यवस्थापन एवं ढल निकास उनका चुनावी मुद्दा हुन् । कर्णाली अञ्चलको प्रवेशद्वार, मानसरोवर यात्राका लागि छोटो मार्गका साथै उपत्यकाभित्रकै काँक्रेविहार, देउतीबज्यै, बुलबुले ताल आदि क्षेत्रको संरक्षण एवं प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने खालका कार्यक्रमलाई सुवेदीले दोस्रो प्राथमिकतामा राखेका छन् ।
एमालेले पूर्व मेयर बालाराम शर्मालाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । पार्टी अनुशासन आयोगका केन्द्रीय सदस्य शर्मा पत्रकार महासंघ सुर्खेतका संस्थापक तथा पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनको चुनावी नारा वीरेन्द्रनगरमा एमालेको साथमा, बजेट र विकासमा जनताको हात हो । शर्माले आफूले सुरु गरेका अधुरा काम पूरा गर्न उम्मेदवारी दिएको बताएका छन् । उपत्यकालाई प्लानिङ गर्दै वीरेन्द्रनगरलाई शैक्षिक, प्रशासनिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्नु उनको प्राथमिकता हो ।
राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने तथा खानेपानीको समस्या हल गर्न भेरीको पानी उपत्यकामा ल्याउने योजना शर्माको छ ।
माओवादी केन्द्रले रत्न गाहा मगरलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य गाहा समाज कल्याण परिषद्का पूर्व कोषाध्यक्ष हुन् । उनको चुनावी नारा तपाई हामीलाई अमूल्य भोट दिनुहोस्, हामी सुन्दर र समृद्ध वीरेन्द्रनगर बनाउँछौं हो । मगरले वीरेन्द्रनगरलाई समृद्ध र सुन्दर नगरका रूपमा विकास गर्नका लागि उम्मेदवारी दिएको बताए ।
वीरेन्द्रनगरलाई चौबीसै घण्टा खुला सहर बनाउन उज्यालो सहरका रूपमा विकास गर्ने, उपत्यकालाई प्लानिङभित्र समेटेर यसको दीर्घकालिन गुरुयोजना तयार पार्नुका साथै कृषि एवं उद्योग आदिको विकास गरेर रोजगारी सिर्जना गर्नु मगरका चुनावी एजेन्डा हुन् ।
जनसंख्या : १ लाख ४ हजार ५ सय ५८
क्षेत्रफल : २ सय ४५ दशमलव ०६ वर्ग किलोमिटर
मतदाता संख्या : ५० हजार ७ सय ९९
वडा संख्या : १६