साप्ताहिक संवाददाता
मिना निरौला, गायिका
काले दाइ र ठमेल बजार दुवै गीत अहिले चर्चामा छ, मेहनत कत्तिको गर्नुभएको थियो ?
मेहनत त गर्नुपर्छ तर मैले एक दुई टेकमै गाएको गीत हो यो । मलाई यो गीत गाउँदा खासै गाह्रो भएन । ठमेल बजार गीतको शब्द, संगीत, एरेन्जअनुसार मेरो स्वर म्याच गरेको छ ।
गीत चर्चामा आउनुमा स्वरबाहेक शब्द र संगीतमध्ये कुनको बढी भूमिका देख्नुहुन्छ ?
यो गीत लोकप्रिय हुनुमा शब्द, संगीत, एरेन्ज सबैको भूमिका बराबर छ । काले दाइ गीत चलचित्र प्रदर्शनमा आउनुअघि नै हिट भयो । गाउने क्रममा यो गीतले यति धेरै चर्चा कमाउला भन्ने लागेको थियो ? मेहनत गरेकी थिएँ, तर यति धेरै चर्चा हुन्छ भन्ने थिएन ।
तपार्इं पहिलो टर्निङ प्वाइन्ट कुन गीतलाई मान्नुहुन्छ ?
‘ठमेल बजार’ नै हो । हुन त म संगीत क्षेत्रमा एक दशक अघिदेखि नै निरन्तर सक्रिय छु, तर ‘ठमेल बजार’ गीतले मलाई सांगीतिक क्षेत्रमा स्थापित गरेको छ ।
चर्चासँगै कत्तिको चुनौती थपिँदो रहेछ ?
एक पछि अर्को गर्दै गीत हिट हुन थालेपछि चुनौती त थपिन्छ नि । चर्चा कमाउनु मात्र ठूलो कुरा होइन, अडियन्सलाई मनपर्ने गीत दिइरहन सक्नु ठूलो कुरा हो ।
तपाईं आफूलाई कस्तो गायिकाका रूपमा चिनाउनुहुन्छ ?
म सबै प्रकारको गीत गाउन सक्छु, तर ठमेल बजार मन पराउनेहरूले चाहिँ मेरो टोन मन पराएको पाएँ।