साप्ताहिक संवाददाता
गत शनिबार ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा विशेष रौनक थियो । विभिन्न प्रकारका बाइकमा सवार करिब ९० जना युवा आफ्ना बाइकलाई रेसिङ ट्रयाकमा गुडाइरहेका थिए । त्यहाँ टिकट काटेर बाइक रेसिङ हेर्नेहरूको राम्रै भीड थियो । यो प्रतियोगिता विभिन्न तीन क्याटागोरीमा सम्पन्न भएको थियो । नोभिस क्याटागोरी ‘ए’ समूहमा १९८ सिसीसम्मका र नोभिस क्याटागारी ‘बी’ मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी थिए ।
नेसनल क्याटागोरीमा विवेश श्रेष्ठले प्रथम स्थान हासिल गरे भने प्रत्युश कुइँकेल दोस्रो तथा निखिल ठकुरी तेस्रो भए । नोभिस क्याटागोरी ए समूहमा आशिक लामा पहिलो, जेबक तुलाधर दोस्रो तथा रोशन रानामगर तेस्रो भए । नोभिस क्याटागोरी बी समूहमा विनोद कठायत पहिलो, सुभाष श्रेष्ठ दोस्रो र निखिल ठकुरी तेस्रो भए । नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरूले यामाहा आर १५ मोटरसाइकल कुदाएका थिए । अन्य प्रतियोगीले भने आफ्नै फरक–फरक मोटरसाइकल कुदाएका थिए।
पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव–२०१७ अन्तर्गत यो प्रतियोगिता सञ्चालन भएको हो । यो इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा राष्ट्रिय खेलकुद परिषदले सहयोग गरेका थिए । रेसमान्डुको यो पाँचौं संस्करण हो । नासाले यसअघि चारवटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो प्रतियोगिताको आयोजना नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले गरेको हो ।
इन्टरनेसनल फिमेल राइड डे मनाइयो
गत शनिबार नै नेपालमा पनि इन्टरनेसनल फिमेल राइड डे मनाइएको छ । यो राइड सानोठिमीस्थित सानोठिमी प्राविधिक शिक्षालयबाट प्रारम्भ भै सातदोबाटोस्थित स्वीमिङ पुल कम्पाउन्डमा पुगी सम्पन्न भएको थियो । प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार ‘इन्टरनेसनल फिमेल राइड डे’ मनाइन्छ । यो दिवसले संसारको जुनसुकै स्थानमा भए पनि महिलाहरू पनि मोटरसाइकल वा कुनै पनि सवारी साधन चढ्न र त्यसमा रमाउन चाहन्छन् र हरेक महिलाले आफ्नो यो चाहना पूरा गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्छ ।