अभिनेत्री रेखा थापाको जोडी बन्दै चलचित्र हमेसाबाट नेपाली चलचित्रमा प्रवेश गर्ने अभिनेता हुन्— नरेन खड्का । दीप श्रेष्ठको अचानो भो... गीतको म्युजिक भिडियोमार्फत अभिनय यात्रा थालेका नरेनले उक्त भिडियोका निर्देशक स्व. आलोक नेम्वाङको प्रशंसा पाएका थिए । झन्डै एक दशक लामो अभिनय यात्राका क्रममा नरेनले दर्जनौं म्युजिक भिडियो, थुप्रै टिभिसी तथा पेपर एड, फेसन शो एवं रंगमञ्चमा अभिनय गरिरहेका छन् । ठमेल डट कम, परदेशी, स्वर्ग मेरो गाउँजस्ता चलचित्रका यी अभिनेताले अभिनय गरेको पछिल्लो चलचित्र मञ्जरी प्रदर्शनका क्रममा छ भने अन्य आधा दर्जन चलचित्र एकपछि अर्को गर्दै प्रदर्शनमा आउनेछन् । झन्डै ६ फिट अग्ला व्यवस्थापनमा स्नातक यी अभिनेता लम्की, कैलालीका स्थायी बासिन्दा हुन् । नरेनले आफ्ना सेक्रेट कुरा यसरी सार्वजनिक गरेका छन् :
गणित शिक्षक
अभिनयमा आउनुअघि म शिक्षकका रूपमा कार्यरत थिएँ । यो कुराको जानकारी मेरो परिवारका सदस्य तथा नजिकका साथीहरूलाई मात्र छ । मैले कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेपछि अछामस्थित दीप शिखा बोर्डिङ स्कुलमा दुई वर्ष गणित शिक्षकका रूपमा काम गरेको छु ।
लेखक
विद्यालयमा अध्ययनरत छँदै म कथा तथा गजल लेखनमा रुचि राख्थें, जुन रुचि अहिलेसम्म पनि कायम छ । कलेजमा अध्ययनरत छँदा मेरा रचना कैलालीका स्थानीय पत्र–पत्रिकामा प्रकाशितसमेत भएका थिए । अहिले पनि फुर्सद भएका बेला म केही न केही लेखिरहन्छु, तर ती रचना बाहिर ल्याउने वातावरण भने बनाउन सकेको छैन । भविष्यमा मेरा रचनाहरूको संग्रह बजारमा आयो भने अचम्म नमाने हुन्छ ।
फुटबल खेलाडी
म फुटबल खेलाडी पनि हुँ । विद्यालय, कलेज हुँदै मैले क्लबस्तरीय प्रतिस्पर्धामा पनि सहभागिता जनाएको छु । मैले राष्ट्रिय स्तरको खुकुरी गोल्डकपमा समेत आफ्नो क्लबका तर्फबाट फुटबल खेलिसकेको छु । अहिले पनि म फुटबल भनेपछि हुरुक्क हुन्छु, यद्यपि खेल्ने समय भने पाएको छैन । कहिलेकाहीं मैत्रीपूर्ण फुटबल खेलेर म आफ्नो सौख पूरा गर्न भने पछि पर्दिनँ ।
हिरो बन्न मुम्बई
आईकमको अन्तिम परीक्षा सकिएको भोलिपल्टै म हिरो बन्न भनेर मुम्बई पुगेको थिएँ । मुम्बईमा किशोर कपुरको एक्टिङ इन्स्टिच्युट पनि पुगें तर मेरो आर्थिक अवस्था तथा आत्मविश्वासको कमीका कारण प्रशिक्षणमा सहभागी हुन सकिनँ र खाली हात फर्किएँ । मुम्बईको अभिनय सिक्ने धोकोलाई मैले गत वर्ष मात्र पूरा गरें । अनुपम खेरको स्टुडियोमा करिब ६ महिना लामो प्रशिक्षणले मेरो अभिनय कौशललाई निखारेको अनुभव गरेको छु ।
पशुपतिको आरती
मन्दिरमा गरिने आरती सुन्न र हेर्न मन लाग्ने मेरो सानैदेखिको बानी अहिलेसम्म छुटेको छैन । म सानो छँदा घरमा गरिने आरती भनेपछि हुरुक्क हुन्थें, नजिककैको मन्दिर पनि धाउँथें । अहिले पनि फुर्सद भयो भने साँझ पशुपतिनाथ मन्दिर पुगेकै हुन्छु । त्यहाँ आयोजना हुने साँझको आरतीले मेरो मनै आनन्दित तुल्याउँछ ।
मादल
मलाई राम्रो सुर–तालमा मादल बजाउन आउँछ । गाउँघरका सांस्कृतिक कार्यक्रमहरूमा मैले धेरै पटक मादल बजाएको छु । अभिनयमा सक्रिय भएपछि मादल बजाउने क्रम छुटेको छ तर केही दिन अभ्यास गरें भने म व्यवसायिक कलाकारले बजाएझैं मादल बजाउन सक्छु ।
मेडिकल रिप्रजेन्टेटिभ
स्नातकलगत्तै म मोडलिङमा सक्रिय भएको थिएँ । त्यसक्रममा साइड जबका रूपमा मैले मेडिकल रिप्रजेन्टेटिभ अर्थात् एमआरको काम पनि गरें । चलचित्र हमेशामा आबद्ध हुनुभन्दा केही अघि मात्र मैले एमआरको काम छाडेको हुँ । अहिले पनि मलाई धेरै प्रकारका औषधीका सम्बन्धमा राम्रो ज्ञान छ।