साप्ताहिक संवाददाता
सम्भवत: दोलखा गौरीशंकरका ३३ वर्षीय कुलबहादुर तामाङलाई वडाध्यक्षमा लडेका आफ्ना बुवाका लागि भोट माग्न जाँदा सांघातिक आक्रमणमा परेर ज्यान गुमाउनुपर्ला भन्ने कल्पनासम्म थिएन । श्रीमती विदेशमा थिइन्, आफू पनि विदेश जाने भिसा लिएर बसेका थिए उनी । उनका दुई सन्तानमध्ये एकजना आफ्नै घरमा थिए भने एक जनालाई उनीहरूकै मावलीमा छाडेका थिए । यत्तिकै गाउँमा स्थानीय निर्वाचनको चहल–पहल सुरु भयो । उनका बुवा गोरे तामाङले गौरीशंकर गाउँपालिका–२ मा एमालेबाट वडाध्यक्षको टिकट प्राप्त गरे ।
बुवाले नै टिकट पाएपछि कुलबहादुर गाउँमा चुनावी प्रचार–प्रसारमा जुटे । त्यही चुनावी प्रचार अभियानमा जुट्नु नै उनका लागि ज्यान गुमाउनुपर्ने कारण बन्यो । २६ वैशाखमा गौरीशंकर गाउँपालिका–२ रेशमडाँडामा लक्षु जिरेलको जस्तापाताको कटेरामा खाना खान पसेका बेला माओवादी कार्यकर्तासँग उनीहरूको झडप भयो । त्यही झडपका क्रममा उनको ज्यान गयो । झडपमा करिब आधा दर्जन घाइते भए । प्रहरीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
एमालेले आफ्ना कार्यकर्ताहरू खाना खाइरहेको ठाउँमा माओवादी पोलिटब्युरो सदस्य देवी खड्कासहितको टोलीले आक्रमण गरेको दाबी गरेको छ । माओवादीले भने आफ्नो पार्टीकी पोलिटब्युरो देवी खड्कासहितको टोलीमाथि एमाले कार्यकर्ताहरूले ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा उनको मृत्यु भएको जनाएको छ । दोलखामा माओवादी र एमालेका प्रभावशाली नेताहरूको गाउँमा भएको उक्त घटनाको सत्यतथ्य अझै बाहिर आइसकेको छैन । मृतकका परिवारले माओवादी पोलिटब्युरो सदस्य खड्कासहित ४९ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
स्थानीय चुनावमा मृत्यु हुनेहरूको यो श्रृखलामा यतिमै रोकिएन् । स्थानीय चुनावका दिन ३१ बैशाखमा बुथ कब्जा गर्ने, मतपत्र लुट्नेलगायतका विवाद नियन्त्रणमा लिने क्रममा भएको झडपमा थप दुई जनाको मृत्यु भयो । बुथ कब्जा गर्न खोजेपछि दोलखाको मेलुङ गाउँपालिकाको पवटीस्थित मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षीय नकुल भुजेलको ज्यान गयो भने अन्य आधा दर्जनभन्दा बढी घाइते भए । यसैगरी, कालिकोटमा मालकोटको नन्दादेवी मतदान केन्द्रको मतपेटिका लुट्न खोज्ने विप्लव माओवादीका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नरहरिनाथ नगरपालिका—६ मा राप्रपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार ४३ वर्षीय धनरुप बटालाको मृत्यु भयो ।
३१ गते मतदान सकिएपछि धादिङमा एमाले कार्यकर्ताको हत्या भयो । धादिङको बेनीघाट रोराङ नगरपालिका—९ जोगीमारास्थित पिपलभन्ज्याङस्थित आफ्नै घरमा रहेका ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठी प्रहार गरेर हत्या गरिएको हो । ३० गते राति काभ्रेको नमोवुद्धमा अज्ञात समूहको गोली प्रहारबाट काभ्रे मेथिनकोटका २८ वर्षीय नवराज पाठकको मृत्यु भयो । जसका कारण नमोवुद्ध नगरपालिकाको निर्वाचन नै स्थगित भयो ।
केही छिट्टुफुट अपहरणका घटना पनि घटे । ३० बैशाखको राति माओवादी केन्द्रको तर्फबाट राप्ति नगरपालिकामा वडा नंं. ९ का अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमालको अपहरण भयो भने माओवादी केन्द्रकै तर्फबाट मकवानपुर मनहरि गाउँपालिका—१ हाडीखोलका वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेती पनि अपहरणमा परेको माओवादी केन्द्रले जनाएको छ । उसले आफ्ना दुवै उम्मेदवारको अपहरण विप्लव माओवादीले गरेको दाबी गरेको छ ।
देशका केही ठाउँमा पार्टी कार्यकर्ता त केही ठाउँमा उम्मेदवारमाथि पनि गोली प्रहार भयो । १७ वैशाखमा चितवनमा भरतपुर महानगरपालिका–१९ मा मालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भयो । उनले आफू भोट मागेर गाउँकै चौतारामा बसिरहेका बेला अज्ञात समूहले गोली हानेको बताएका छन् । यसैगरी भोजपुर जिल्लाको भोजपुर नगरपालिकाकी एमाले कार्यकर्ता शारदा तामाङमाथि २८ वैशाखमा गोली प्रहार भयो । केही परबाट आफूमाथि बन्दुक ताकेको देखेपछि उनले भुइँमा सुतेर आफ्नो ज्यान जोगाएकी थिइन ।
यी त केही प्रतिनिधि घटनामात्र हुन्, स्थानीय निकायको निर्वाचनसम्बन्धी गतिविधि प्रारम्भ भएदेखि पहिलो चरणको निर्वाचन सम्पन्न हुँदासम्म देशभर अपहरण, गोलीकाण्ड, आगजनी तथा झडपका थुप्रै घटना घटेका छन् । १८ वैशाखमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट नेपाली कांग्रेसका उम्मेदवार जसबहादुर पुन अपहरणमा परे । कांग्रेस वडा कार्यसमितका सभापति पुन पार्टी बैठकमा सहभागी हुन बेनी जाने क्रममा अपहरणमा परेका थिए । प्रहरीले तीव्र खोजी गरेपछि उनलाई जिल्लाको बरंजामा छाडेर अपहरणकारीहरू फरार भए ।
यो निर्वाचनमा बम आतंक पनि उत्तिकै छायो । मुलुकका विभिन्न जिल्लाका स्थानीय तहका उम्मेदवारहरूको घरमा बम राखिएपछि सुरक्षाकर्मीहरूले त्यसलाई निष्क्रिय पारे । २३ वैशाखमा चितवनको खैरहनी नगरपालिकामा कांग्रेसका उपमेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा पेट्रोल बम प्रहार भयो । चौधरीको पार्किङ गरेर राखिएको बा ८ च १५६२ नम्बरको गाडीमाथि राति ११ बजे बम प्रहार भएको थियो । २१ वैशाखमा नेपाली कांग्रेसका तर्फबाट पर्वतको कुश्मा नगरपालिकाबाट मेयरका उम्मेदवार रामचन्द्र जोशीको घरमा सकेट बम भेटियो । उक्त बम राखेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गर्यो । यस्तै नवलपरासीमा त सकेटबम आतंक नै चल्यो । नेपाली कांग्रेसका तर्फबाट कावासोती नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र पोखरेल तथा गैंडाकोट नगरपालिकामा माओवादीका मेयरका उम्मेदवार दुर्गादत्त ढुंगानाको घर नजिक बम फेला परेपछि सुरक्षाकर्मीहरूले त्यसलाई निष्क्रिय पारेका थिए भने पुरानो कावासोतीमा २८ वैशाखमा बम नै विस्फोट भयो ।
निर्वाचनका क्रममा देशभर थुप्रै झडप भए, जसमा दर्जनांै मानिस घाइते भएका छन् । रुकुममा दैनिकजसो कांग्रेस, एमाले तथा माओवादी केन्द्रका कार्यकर्ताबीच ठाउँ–ठाउँमा झडप भैरहे भने गोरखा, दोलखा, धादिङ, तनहुँ आदि स्थानमा पनि साना–ठूला झडपहरू भए, जसमा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् । कतिपय ठाउँमा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायरसमेत गर्नुपरेको थियो ।
देशका विभिन्न भागमा चुनावी कार्यक्रममा प्रयोग भएका सवारी साधनमा समेत आगजनी भएको छ । २३ वैशाखमा कास्कीमा नेपाली कांग्रेसका उम्मेदवारले प्रयोग गरेको गाडीमा निर्वाचनको विरोध गर्दै आएको विप्लव माओवादीका कार्यकर्ताले आगो लगाए भने नुवाकोटको शिवपुरी गाउँपालिकामा कांग्रेस उम्मेदवार रामकृष्ण थापाको गाडीमा अज्ञात समूहले आगजनी गर्यो । यसैगरी २७ वैशाखमा गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भयो । उक्त झडप साम्य पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गर्यो । माओवादी कार्यकर्ताहरूले कांग्रेस कार्यकर्ता चढेको बा १४ च ६८५१ नम्बरको गाडीमा समेत आगजनी गरिदिए । सवारी साधनमा आगजनी गरिएका यस्ता घटना देशका विभिन्न ठाउँमा घटे । हत्या, बुथ कब्जा र विवादका कारण काभ्रेको नमोवुद्ध—४ को जनक उच्च मावि केन्द्र, दोलखाको मेलुङ गाउँपालिकाको पवटीस्थित सत्येश्वर मावि र कालिकोटको कालिका गाउपालिका तालाचौरको आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको चुनाव स्थगित भयो ।
विप्लवको अवरोध
स्थानीय निर्वाचनको प्रमुख सुरक्षा थ्रेट रह्यो, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी । विप्लव माओवादीले ठाउँ–ठाउँमा उम्मेदवारहरूलाई धम्काउनेदेखि निर्वाचन बहिष्कार गर्न पर्चा र पम्पेलेटिङ सम्म गर्यो । विप्लव समूहले ठाउँ—ठाउँमा सकेट बम राखेर उम्मेदवार तथा मतदातामा समेत त्रास उत्पन्न गर्ने प्रयास गरेका थियो । प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेका कारण देशका विभिन्न स्थानबाट विप्लव माओवादीका नेता–कार्यकर्तालाई पक्राउसमेत गर्यो ।
स्थानीय निर्वाचनमा अवरोध पुर्याउन थालेपछि विप्लव समूहका कार्यकर्तालाई रुकुम, रोल्पा, सुर्खेत, चितवन, महोत्तरी, काभ्रे आदि जिल्लाबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा दायर गरिएको छ । २२ वैशाखमा उम्मेदवारी फिर्ता लिन धम्क्याएको भन्दै चितवनबाट विप्लव माओवादीका १२ जना कार्यकर्ता पक्राउ परे । ११ वैशाखमा सुर्खेतमा चुनाव विरोधी र्याली निकाल्ने तयारी गरिरहेका विप्लव माओवादीका दुई केन्द्रीय सदस्यसहित ३२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो भने वैशाख २६ गते मंगलबार विप्लव माओवादीका चितवन जिल्लाको चारकिल्ला ब्युरो हेर्ने ब्यूरो इन्चार्जसहित २ जना पक्राउ परे । पुरन राई र शंकर गुरुङलाई प्रहरीले चितवनको शिवघाटबाट एक डिब्बा विस्फोटक पदार्थ, एउटा खोलसहितको नक्कली रिभल्बर तथा २ वटा डेटोनेटरसहित पक्राउ गर्यो ।