साप्ताहिक संवाददाता
नेपाली क्रिकेटमा एक दिवसीयको मौसम फर्किएको छ । विश्वास नहुन सक्छ, नेपाली घरेलु क्रिकेटमा माथिल्लो स्तरमा एक दिवसीय क्रिकेट नभएको पनि तीन वर्ष हुन लागेको छ । एक दिवसीय क्रिकेट अर्थात् ५० ओभरको क्रिकेट । आईसीसी वल्र्ड क्रिकेट लिगमा राम्रो प्रदर्शनसँगै नेपालले एक दिवसीय विश्वकपमा छनोटको सपना अझै बिसाएको छैन, तर दु:खद तथ्य के हो भने नेपालमा यही एक दिवसीय क्रिकेटको कुनै प्रतियोगिता नभएको धेरै भैसकेको छ ।
पछिल्लो समय ठूलो पुरस्कार राशिका अरू क्रिकेट प्रतियोगिता नभएका होइनन्, तर ती सबै ट्वान्टी–२० फम्र्याटमा खेलिएका थिए । ट्वान्टी–२० क्रिकेटमा सबै खालको रोमाञ्चकता र दर्शक तान्न सक्ने क्षमता भए पनि यसले राम्रा र स्तरीय खेलाडी उत्पादन गर्न भने सघाउ पुर्याउँदैन । क्रिकेटको विकास एवं खेलाडी उत्पादनका दृष्टिकोणले नेपालमा मात्र नभै विश्व क्रिकेटमै एक दिवसीय क्रिकेटले ठूलो महत्व राख्छ । नेपाल क्रिकेट संघको अस्तित्व नभएको स्थितिमा अहिले राष्ट्रिय खेलकुद परिषद् आफैं राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न तम्सिएको छ ।
परिषदकै आयोजनामा सर्वाधिक पुरस्कार राशिको एक दिवसीय प्रतियोगिता प्रधानमन्त्री कप हुन लागेको हो । यो प्रतियोगिता जेठ ९ गतेदेखि काठमाडौंमा सञ्चालन हुनेछ । यो प्रतियोगिताको पुरस्कार राशि पनि लोभ्याउने खालको छ । कुल आठ टिमको सहभागिता रहने यो प्रतियोगितामा पहिलो हुनेले २० लाख रुपैयाँ जित्नेछ भने दोस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले १ लाख रुपैयाँ तथा बेस्ट ब्याटसम्यान र बलरले ५०/५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै इमर्जिङ प्लेयरले २५ हजार रुपैयाँ र प्रत्येक खेलका म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुई समूहमा विभाजित सहभागी टिमबीच लिग चरणका खेल हुनेछन् । यो प्रतियोगितालाई लिएर परिषद्का सदस्य सचिव केशवकुमार विष्ट निकै उत्साहित छन् र आउने वर्ष यो प्रतियोगिताले अझ बृहत् स्वरूप प्राप्त गर्ने दाबी गर्छन् । विष्टका अनुसार आउने वर्ष यसको आकार (बजेटदेखि पुरस्कार राशिसम्म) अझ ठूलो हुनेछ । भविष्यमा यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिताको स्वरूप दिने योजना समेत छ ।