साप्ताहिक संवाददाता
अंग्रेजी महिनाको अन्तिम शुक्रबार हुने सांगीतिक कार्यक्रम पलेंटीमा यो महिना युवापुस्ताका गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । लामो अन्तरालपछि पलेँटीले पुन: आफ्ना कार्यक्रम सञ्चालनमा ल्याउन थालेको छ । गत महिना कवि तथा गीतकार दिनेश अधिकारीका गीत तथा कवितामार्फत पलेँटीको पुन: थालनी भएको हो ।
यसपालि प्रस्तुत हुने विधान श्रेष्ठ नेपाली युवागायनमा फरक शैलीका कलाकारका रूपमा सुपरिचित छन् । बेग्लै किसिमको स्वर र त्यसलाई सुहाउँदो गीत छनौट गर्न सक्ने खुबी नै उनको विशेषता हो । वि.सं. २०३१ मा सुनसरीमा जन्मिएका विधानको पारिवारिक परिवेश नै सांगीतिक थियो । पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठको माया एवं प्रेमबाट संगीतमा पाइला चालेका विधान मूर्धन्य संगीतकार अम्बर गुरुङका शिष्य पनि हुन् । विधान आफ्ना गीत एवं सांगीतिक अनुभव बोकेर आज शुक्रबार साँझ (मे २६ तारिख) नेपालयको आर’शालामा प्रस्तुत हुने बताइएको छ ।