साप्ताहिक संवाददाता
मुम्बईमा बसोबास गर्ने गायक आदित्य नारायण झाले जीवनमा पहिलो पटक एउटा आधुनिक नेपाली गीतमा स्वर दिएका छन् । मुम्बईमै रहेका नेपाली संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा आदित्यले ‘फूलजस्तै...’ गीत गाएका हुन् । तीन महिनाअघि नै मुम्बईको कृष्णा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको लिरिकल भिडियो जेठ ७ गते आइतबार सार्वजनिक भएको छ । गायक उदितनारायण झाका छोरा आदित्य पछिल्लो समय जिटिभीबाट प्रसारण भैरहेको सारेगम लिटल च्याम्समा भिडियो जक्कीका रूपमा आबद्ध छन् । हिन्दी गीत गाइरहने आदित्यले यसअघि चलचित्र ‘कुसुमे रुमाल’ का लागि पाश्र्व गायन गरेका थिए । मुम्बईकै संगीतकर्मी रोबिन तमुद्वारा संगीत संयोजन गरिएको फूलजस्तै गीतका शब्द मोनी शर्मा रिजालले रचना गरेका हुन् । गीत रेकर्ड गरेपछि आदित्यले शिखर सन्तोषको कम्पोजको प्रशंसा गर्दै भविष्यमा पनि नेपाली गीत गाउने प्रतिक्रिया दिएको संगीतकार सन्तोषले बताएका छन् । ‘सारेगममा व्यस्त भएकाले यो गीत मध्यरातमा रेकर्ड गरिएको थियो,- सन्तोषको भनाइ छ ।