साप्ताहिक संवाददाता
सांगीतिक कार्यक्रमका क्रममा स्वदेशका कुनाकाप्चादेखि विदेशका भव्य सहरसम्म पुगिरहने गायक हुन्— प्रमाद खरेल । हालै दुई महिना लामो अमेरिका, क्यानाडा तथा जापानको सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका गायक खरेलले बढ्दो गर्मीमा छुट्टी मनाउन जाने केही स्थानका बारेमा यस्तो धारणा व्यक्त गरेका छन् :
इलाम
पूर्वी नेपालको सहर इलाम यो गर्मीको मौसमका लागि सबैभन्दा उपयुक्त छुट्टी मनाउने गन्तव्य हुन सक्छ । फिक्कलको चियाबारी, पशुपतिनगरको चिसो बताससहित इलामका अन्य रमणीय दृश्यले जो–कोहीलाई गर्मी बिर्सन बाध्य बनाउँछ ।
नगरकोट
काठमाडौंबाट अत्यन्त नजिकको हिल स्टेसन नगरकोट पनि गर्मीमा शीतलता प्राप्त गर्न सकिने सुन्दर ठाउँ हो । काठमाडौंमा भएका बेला म परिवारसँग नगरकोट पुगेर विकेन्ड बिताउँछु ।
भेडेटार–धनकुटा–हिले
धरानबाट उकालो लागेपछि नै रमणीय दृश्य देखिन थाल्छ । हिल स्टेसनका रूपमा विकास भएको भेडेटार पुग्दा गर्मीमा पनि चिसो अनुभव हुन्छ । धनकुटा र हिले नै पुग्न पाइयो भने त यो गर्मीमा खुसीको सीमा हुँदैन ।
डडेलधुरा
पश्चिम नेपालको सुन्दर सहर डडेलधुरा पुगेपछि तराई झर्नै मन लाग्दैन । गर्मीमा पनि चिसो हुने यो ठाउँको प्राकृतिक सौन्दर्य पनि अद्वितीय छ ।
रारा ताल
मुगुको रारा ताल त मेरो ड्रिम प्लेस नै हो । त्यहाँ पुग्न अलि कठिन छ, तर पुगेपछि फर्कन मन लाग्दैन । अहिले नेपाली चलचित्रका गीतमा समेत त्यहाँको सुन्दरता कैद भएको देख्दा खुसी लागेको छ।
दार्जिलिङ
इलामको पशुपतिनगरबाट केही घण्टाको ड्राइभिङबाट पुग्न सकिने दार्जिलिङ गर्मी मौसमका लागि अति नै उपयुक्त छ । हिउँदमा अत्यधिक चिसोका कारण पुग्न नसकिने दार्जिलिङको रमणीयता अवलोकन गर्न अहिलेको मौसम नै उपयुक्त हुन्छ ।
फुकेट
समरमा प्राय: समुद्री किनारमा राम्रै भीडभाड हुन्छ । मलाई भने थाइल्यान्डको फुकेटको समुद्री किनार असाध्यै रमणीय लाग्छ । फुकेटको समुद्री किनारमा साँझको मौसम निकै मनमोहक हुन्छ ।