यो वर्षको एभरेस्ट म्याराथन– २०१७ को उपाधि सोलुखुम्बु गुदेलका २६ वर्षीय सुमन कुलुङले जितेका छन् । गत सोमबार सम्पन्न प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी सुमनले ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । सुमन गत वर्ष यही प्रतियोगितामा तेस्रो भएका थिए ।
नेपाली सेनाका सुरेन्द्र बस्नेतले ३ घण्टा ५२ मिनेट ०८ सेकेन्डमा दौड पूरा गरी दोस्रो भए भने नेपाली सेनाकै वेदबहादुर सुनुवार ४ घण्टा ५ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।
महिलातर्फको उपाधि सोलुखुम्बु गुदेलकै निरकला राईले पाइन् । उनले ४ घण्टा ५१ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरिन् । सोलुखुम्बकै पुर्णिमा राई ५ घण्टा ७ मिनेट २६ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् भने ५ घण्टा ३७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरी सोलुखुम्बुकै दावाडोमा शेर्पा तेस्रो भइन् ।
उपाधि विजेता सुमन पर्यटकको भारी बोक्ने भरिया हुन् । हिमालमा भारी बोक्दाबोक्दै यो प्रतियोगिता जित्छु भन्ने लागेपछि उनी दौडमा सहभागी भएका थिए । यो वर्ष एभरेस्ट म्याराथनको उपाधि जित्न पाउँदा निकै खुसी लागेको सुमनले बताए । देश विदेशका अन्य म्याराथनमा सहभागी हुने अवसर पनि खोजिरहेको छु, सुमनले भने— यो उपाधिले मेरो हौसला बढाएको छ ।
विदेशीतर्फ पोल्यान्डका पेटर
विदेशीतर्फको उपाधि पोल्यान्डका पेटर हेर्काेगले जितेका छन् । पेटरले ४ घण्टा ३८ मिनेट २२ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरेका थिए । त्यस्तै ४ घण्टा ४८ मिनेट ४८ सेकेन्डमा दूरी पार गरी पोल्यान्डकै रोबर्ट सेलिन्सकी दोस्रो भए । रोबर्ट गत वर्षका उपाधि विजेता हुन् । फ्रान्सका फव्रिक अर्मान्डले ५ घण्टा २८ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान प्राप्त गरे ।
प्रत्येक वर्ष मे २९ अर्थात् एभरेस्ट डेको अवसर पारेर उक्त म्याराथन आयोजना गरिन्छ । ६४ औँ एभरेस्ट डेको अवसरमा आयोजित यो वर्षको म्याराथन १५ औं संस्करण हो । यो म्याराथन समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरदेखि ३ हजार ४ सय ४६ मिटर उचाइमा रहेको नाम्चेसम्म सञ्चालन गरिन्छ ।
सगरमाथाको आधार शिविरबाट सुरु भएको उक्त म्याराथन गोरखसेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङजुमा हुँदै नाम्चे बजारमा आएर टुंगिएको थियो ।
हाफ म्याराथनमा चीन
सोही अवसरमा आयोजित २१ किलोमिटरको हाफ म्याराथनतर्फको उपाधि चीनकी चाउ पिन चाईको पोल्टामा गएको छ । उनले २ घण्टा १८ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरिन् । भारतकी अमर सुब्बाले उक्त दूरी २ घण्टा ३३ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोस्रो एवं अमेरिकाकी बु्रस एलेन २ घण्टा ४१ मिनेट १६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएकी छन् ।
अल्ट्रामा सेना
सोमबार नै सम्पन्न एभरेस्ट अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका तीर्थबहादुर तामाङले हात पारेका छन् । उनले ६० किलोमिटर दूरी ६ घण्टा ३८ मिनेट ५६ सेकेन्डमा दौड पूरा गरेका थिए ।
उक्त प्रतियोगितामा नेपाली सेनाकै मोहनदेव जोशी दोस्रो भए । उनले ७ घण्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपाली सेनाकै पुर्ण तामाङले ७ घण्टा ३० मिनेटमा दूरी पूरा गरी तेस्रो स्थान प्राप्त गरे ।
एभरेस्ट अल्ट्रा म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भएर गोरखसेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचेबाट फोर्चे हुँदै घुमेर आउनुपर्ने हुन्छ ।