साप्ताहिक संवाददाता
९ जेठमा गोदावरी–११, तीनघट्टेमा बिहान सबेरै एक व्यक्ति मृत भेटिए । स्थानीयले देखेपछि प्रहरीमा खबर गरे । प्रहरीले उक्त घटनामाथि खोजबिन अगाडि बढायो । स्थानीय व्यक्तिहरूसँग सोधपुछ गर्दा मृतकको पहिचान खुल्यो । उनी थिए— गोदावरी–९, छम्पीका स्थायी बासिन्दा ५५ वर्षीय दीपक परियार ।
परियार जिल्ला दलित संघका उपाध्यक्षसमेत हुन् । उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढायो । अनुसन्धान अगाडि बढाउँदै जाँदा त्यसको तार जोडियो, सिन्धुलीको दुधौली नगरपालिका–१२ स्थायी घर भएका कुमार पाख्रिनसँग ।
ललितपुरको छम्पीमै बस्ने पाख्रिन पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा म्यादी प्रहरीसमेत रहेका थिए । ती दुवैले ८ जेठको साँझ रक्सी सेवन गरे । रक्सी सेवन गरेपछि घर फर्कने क्रममा परियार र पाख्रिनबीच पटक–पटक वादविवाद र झगडा भयो । राति १०:३० बजे ललितपुरको तीनघट्टे पुग्दा उनीहरूको झगडाले ठूलो रूप लियो ।
म्यादी प्रहरीको संलग्नतामा हत्या भएको देखिएको छ, चापागाउँ प्रहरी वृत्तका डीएसपी श्यामकुमार राईले साप्ताहिकसँग भने, छम्पीमा सँगै बस्ने, पहिलेदेखिकै चिनजान रहेछ । चापागाउँमा साँझपख सँगै रक्सी खाए । घरतिर जाने क्रममा बाटोमा दुईबीच नशाको झोकमा घरायसी विषयमा झगडा पर्यो । त्यसपछि दुवैबीच हानाहान भएको थियो । यतिकैमा पाख्रिनले रिसको झोकमा परियारको टाउकोमा ढुंगाले प्रहार गरे । त्यही ढुंगा प्रहार नै परियारको हत्याको कारण बन्यो ।
झगडाका क्रममा पाख्रिनको पनि हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनले रिसको झोकमा आफूले ढुंगाले हानेको बयान प्रहरीलाई दिएका छन् । प्रहरी अनुसन्धानबाट पाख्रिनले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गर्न प्रहरीले अप्रेसन अगाडि बढायो । यही क्रममा चापागाउँबाट गएको प्रहरी टोलीले पाख्रिनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले रक्सीको नशा र साथीसँग घरायसी विवाद नै हत्याको मुख्य कारण भएको जनाएको छ ।