क्षेत्रफलको दृष्टिकोणले नेपालको सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाको वागडोर समाल्ने मौका ५७ वर्षीय मानबहादुर जिसीले प्राप्त गरेका छन् । मध्यम वर्गीय किसान परिवारमा जन्मिएका जिसी स्वच्छ छवि भएका नेता हुन् । नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका जीसीले अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । केही समय शिक्षण पेसामा आबद्ध भएका जीसीलाई राजनीतिमा लागेको अभियोगमा पञ्चायतले जागिर खोसेको थियो । २०३७ सालबाट सक्रिय राजनीतिमा होमिएका जीसी त्यसयता निरन्तर पार्टीमा सक्रिय छन् ।
तपाईंका प्राथमिकता के हुनेछ ?
पहिलो प्राथमिकता प्रशासनिक सुधारले पाउनेछ । बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसरको सिर्जना गर्नेछौं । पोखरालाई सफा सुन्दर र हराभरा बनाउने योजना छ । तत्कालीन पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र वरपरका गाविस मिलेर बनेको बृहत् पोखराको सहरीकरण हाम्रो प्राथमिकता हुनेछ । सबै गाउँलाई सडक सञ्जालमा जोड्ने, सूचना र प्रविधिको पहुँच गाउँ–गाउँमा पुर्याउनेछौ । पोखराको पार्किङ व्यवस्थित बनाउने, सबै क्षेत्रलाई समेटेर भित्री र बाहिरी चक्रपथ बनाउने योजना प्राथमिकतामा राखेका छौं । विश्वकै उत्कृष्ट १० औं पर्यटकीय गन्तव्यलाई पर्यटन हबका रूपमा विकास गर्ने, यहाँ रहेका फेवाताल, बेगनास ताल, रूपाताल, मैदी ताल, खास्टे ताल, दिपाङ ताल, गुँदेताल, न्युरेनी गरी ८ वटा तालको संरक्षण प्राथमिकतामा पर्नेछ । खानेपानी समस्या समाधान गर्न सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्नेछौं । चुनाव लड्दा एमालेको तर्फबाट लडे पनि अब विपक्षीलाई पनि समेटेर अघि बढ्नेछु ।
पोखरा लेखनाथ महानगरपालिकालाई कस्तो महानगरको रूपमा परिकल्पना गर्नुभएको छ ?
नेपालकै उत्कृष्ट महानगरपालिकाका रूपमा पोखरा लेखनाथलाई देश विदेशमा चिनाउने परिकल्पना गरेको छु । सभ्य, सु–संस्कृत, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनाउँदै पर्यटकको बसाइ अवधि बढाउनेछौ । साहसिक पर्यटन, धार्मिक पर्यटनलगायतको पकेट एरियाको विस्तृत गुरुयोजना बनाई यसको प्रचारप्रसार गरिनेछ । पोखरा लेखनाथका ३३ वटै वडालाई सडक सञ्जालमार्फत जोडिनेछ । दुई–तीन वर्षभित्रमा ग्रामीण भेगको सबै सडक सञ्जाललाई कालोपत्रे गरिनेछ । सबै वडाबाट बिरामी हुँदा जुनसुकै समयमा एम्बुलेन्समार्फत अस्पतालसम्म पुग्न सक्ने बनाउनेछौ ।
महानगरपालिकाका प्रमुख स्रोत के–के हुन् ?
चुहावट नियन्त्रण मुख्य स्रोत हुनेछ । सबैलाई करको दायरामा ल्याउनेछौ । कर तिरेबापत महानगरवासीले सेवा–सुविधा सहज तरिकाले लिन पाएको महसुस गर्नेछन् । कर कसरी लिने भनेर कर विज्ञहरूसँग छलफल गरेर निर्णय गर्दै स्वत:स्फूर्त रूपमा कर तिर्ने बानीको विकास गर्नेछु । अन्य विभिन्न स्रोतको खोजी गर्दै समृद्ध पोखरा बनाउनेछौ ।
पदभार ग्रहण गर्दा के–के निर्णय गर्नुभयो ?
पोखरा लेखनाथ महानगरपालिकामा मेयरको पदभार ग्रहण गर्दा महत्त्वपूर्ण तीन निर्णय गरेका छौं । वृद्धभत्तामा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका छौं । नेपाल सरकारले दिँदै आएको मासिक भत्तामा महानगरभित्र रहेका ज्येष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट बेहोर्ने गरी १० प्रतिशद्ध वृद्धिको निर्णय गरिएको हो । यो निर्णय आगामी आर्थिक वर्ष ०७४/७५ देखि लागू हुनेछ । त्यस्तै महानगरको सेवालाई १० दिनभित्र प्रभावकारी बनाउने निर्णय गरिएको छ । महानगरपालिका कार्यालयबाट महिला हिंसापीडितका लागि नि:शुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।