हलो, कहाँ आइपुग्नु भयो ?
अहिले निजगढमा आईपुगें, मलाई पनि खाना पकाउँदै गर है ।
भोलि बिहानको ?
हैन, आज बेलुकाको ।
आज बेलुका ? अहिले ६ बजिसक्यो । राति हिँड्नु पर्दैन । बिहान आइस्यो ।
कहाँ मध्यरात भन्या ? म डेढ घण्टामा काठमाडौं आइपुग्छु ।
बहुलाइस्यो कि क्या हो ? निजगढबाट डेढ घण्टामा काठमाडौं कसरी पुगिन्छ ?
फास्टट्रयाकबाट आउने हो क्या ।
ए हो त हगि ! भर्खर बनेको भएर होला, मैले त भुसुक्कै बिर्सिएको ।
खाना पकाउन पनि बिस्र्यौली नि ।
बिर्सिन्न, बिर्सिन्न । पकाउन थालें, हजुर आइपुग्दा ठ्याक्कै तयार हुन्छ ।
० ० ०
ल, हजुर । कालिमाटी तरकारी बजारमा बर्दिबासको ताजा गोलभेंडा आयो ।
बर्दिबासको ताजा गोलभेंडा काठमाडौंमा ? कति दिनअघिको ताजा हो भाइ ?
दिन ? घण्टा भन्नोस् न घण्टा ! तीन घण्टाअघि टिपेको । नपत्याए यी हेर्नोस्, गोलभेंडाको चोप अझै निस्किरा’छ ।
हैन, बर्दिबासमा तीन घण्टाअघि टिपेको गोलभेंडा यति चाँडो काठमाडौंमा ? इमेलबाट मगायौ कि क्या हो ?
हैन, तपाईं कुन युगमा हुनुहुन्छ हो ? बर्दिबासबाट निजगढ एक घण्टा, निजगढबाट काठमाडौं डेढ घण्टा ।
ए हो त, फास्टट्रयाकबाट । फास्टट्रयाकको चमत्कार त भुसुक्कै बिर्सिएछु । ल, आधा किलो दिनोस् त । भोलि फेरि ताजा लिन आउँला ।
० ० ०
बाबा, मलाईं एउटा अक्सफोर्डको डिक्सनरी चाहिएको थियो ?
यही निजगढ बजारमा पाइहाल्छ नि ?
सर्टेज छ रे । हिजो रक्सौल गएकी थिएँ, त्यहाँ पनि पाइएन ।
अहिले साथीहरूको सेयर गर्दै गर । म काठमाडौं गएका बेला ल्याइदिन्छु ।
मलाई आजै चाहिएको छ । गएर ल्याइदिस्यो न ।
के कुरा गर्या छोरी । निजगढबाट अहिले काठमाडौं पुगेर पुस्तक ल्याउन सम्भव छ ?
किन सभव छैन हजुर, दूध पुर्याउन दैनिक त गैसिन्छ । साढे नौ बजे आइहालिसिन्छ त ।
हैन, के भन्छे छोरी । सपना हो कि बिपना हो ?
क्या त फास्टट्रयाक बाबा ।
हत्तेरिका, हो त । ल, म हिंडे । १० बजेसम्ममा ल्याइदिन्छु ।
० ० ०
हेल्लो, र्यापिड रेक्यू कन्ट्रोल ?
सर, म फास्टट्रयाकको १९ नम्बर पुलबाट बोल्दैछु ।
भन्नोस्, के सेवा गरौं ?
सर, यहाँ मेरो गाडी दुर्घटनामा पर्यो ।
के छ अवस्था ?
मेरो साथीलाई अलि बढी चोट लागेको छ ।
पिएर चलाउनुभएको थियो कि क्या हो ?
कहाँ पिउनु सर ? निजगढ चेकपोस्टले जाँच गरिवरी पठाएको । पहिलो पटक भएर अलि ब्यालेन्स भएन होला ।
ए, ठिक छ ।नआत्तिकन बस्नोस् । ५ मिनेटमा रोड सेफ्टीको गाडी आइपुग्छ ।
सर, घाइते साथीलाई अलि गाह्रै होलाजस्तो छ ।
चिन्ता लिनु पर्दैन । रोड सेफ्टीको गाडीले घाइतेलाई नजिकको हेलीप्याडमा पुर्याउँछ । रेक्यू हेलिकप्टर १५ मिनेटमा आइपुग्छ ।
० ० ०
तपाईंको पेट्रोल पम्प । डिजेल ६५ प्रतिलिटर, पेट्रोल ५५ प्रतिलिटर ।
हैन ओ भाइ, डिजेल–पेट्रोल नक्कली आउन थाल्यो कि
क्या हो ?
किन र दाइ ?
अकस्मात् सस्तो भएछ त इन्धन ?
कहाँ अकस्मात हजुर ! चार वर्षदेखिको प्रयास हो ।
भन्नाले ?
भन्नाले फास्टट्रयाक बनेपछि त भाउ घट्ने नै भयो नि । भन्नोस्, कति राखिदिऊँ डिजेल ।
ए, हो त हगि ।हाल्नोस् न फुलट्यांकी ।
फास्टट्रयाक सुरु भएपछि इन्धन ढुवानीमा हुने १० अर्ब रुपैयाँ बच्ने भएपछि सस्तो त हुने नै भयो नि ।
० ० ०
ओ हो हल्दारसा’ब । आज त फ्रेस देखिनु हुन्छ त ?
फ्रेस त हुने नै भइयो नि हजुर ।काम हल्का छ आजकाल ।
ट्राफिकबाट प्रहरीतिर आउनुभयो कि क्या हो ?
हैन, ट्राफिकमै छु तर रोड बिजी छैन आजकाल ।
बन्द हैन, फास्टट्रयाक ।
ए हो त है ।
हो नि ! फास्टट्रयाक बनेपछि काठमाडौंका आधा मान्छे बाहिरिइहाले । अफिस टाइममा अलि–अलि बिजी हुने हो । अरू बेला जाम पनि हुँदैन । भीड पनि हुँदैन ।
त्यही त । अफिस गर्न काठमाडौं आयो, बास बस्न बाहिर निस्कियो । कस्तो मज्जा हगि ।
० ० ०
म विश्वस्त, फास्टट्रयाक निर्माणपछि काठमाडौंवासी सुखी हुनेछन् । किनभने, यसले सहरको उकुस–मुकुसलाई खुकुलो बनाउनेछ । म आश्वस्त छु, तराईवासी खुसी हुनेछन्, किनभने यसले राजधानीसँगको पहुँच बलियो बन्नेछ । अपेक्षा राख्छु, फास्टट्रयाकले सबै नेपालीलाई बलियोसँग जोड्ने छ, किनभने राष्ट्रिय गौरवको यो आयोजनामा कुनै पार्टीले कमिसनको खेल खेल्न पाउने छैनन् । आशावादी छु, फास्टट्रयाकमा हामी चार वर्षभित्रै गुड्न पाउनेछौं, किनभने यसको जिम्मा नेपाली सेनाले लिएको छ ।