साप्ताहिक संवाददाता
ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो आकाशैको नौलाखे तारा रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरेका हुन् ।
छिरिङरितार शेर्पा निर्देशित भिडियोमा ऋचा, टीकाभक्त जिरेल र गलैंचा उत्पादनमा सक्रिय कामदारहरुले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै निर्देशक शेर्पाले जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउँदा निकै खुशि महसुस भएको बताए ।
अभिनेत्री शर्माले यथार्थ पात्रको जीवनमा अभिनय गर्न पाउनु आफ्ना लागि हर्षको विषय भएको बताइन् । ‘संगीत भएपनि यसले आमनेपालीको वास्तविकता चित्रण गरेको छ’ शर्माले भनिन् । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको सुरुआत काठको बाकस चित्रणबाट गरिएको छ ।
निर्मातामध्येका एक जोन केथले नेपाली वास्तविकतालाई चित्रण गरेर सन्देश प्रवाह गर्नु भिडियो निर्माणको उद्देश्य रहेको बताए । ‘म चाहन्छु, भिडियो हेरेर विदेशिएका नेपाली घर फर्कन सक्छन् र यही रोजगारी पाउन सक्छन्’ उनले भने, ‘नेपाली कार्पेट उद्योगले रोजगारी सिर्जनामा भूमिका खेल्न सक्छ ।’ भिडियो निर्माता लेवल स्टेपका विशाल रानामगरले युवापुस्तामाझ सन्देश प्रवाह गर्नु भिडियोको उद्देश्य रहेको बताए ।
कालोपोथी, उमा, मुकुन्डो निर्माण गरिसकेको फिल्म निर्माण कम्पनी मिला प्रोडक्सनले पोस्टप्रोडक्सनमा सहयोग गरेको हो ।
भिडियोलाई प्रशान्त तामाङ र युनाइटेड मल्टी आर्ट्सले संयुक्त नृत्य निर्देशन गरेका हुन् ।
आकाशैको नौलाखे तारको म्युजिक भिडियो