यो सहरमा मानिसको जीवन नाटक हो कि यथार्थ ? यसमा अनेक संशय छन् । नाटकका दृश्यजस्तो लाग्ने कतिपय जीवन यथार्थ प्रतीत हुन्छन् भने कतिपय यथार्थ नाटकजस्तो लाग्छन् । यसको एउटा कारण हो, देशमा नाटक र जीवन दुवै असहज छन् । जसरी मानिसको जीवन आर्थिक, सामाजिक र मानसिक रूपले स्थिर छैन, त्यसरी नै रंगमञ्च पनि स्थिर छैन । पहिलो त कलाकारहरूमा अध्ययनकै अभाव छ ।
तीन महिनाको अध्ययनले रंगमञ्च र नाटकको रूपरेखा थोरै बुझन सकिन्छ, तर यति नै ज्ञानले परिपक्व अभिनयको सिर्जना हुन सक्दैन । सुलक्षण भारती भन्छन्, नेपाली रंगमञ्चको दुर्भाग्य यही नै हो कि हाम्रो समयमा नाटककारहरूको खडेरी छ । जुनसुकै विषय पनि नाटक हुन सक्छ, तर त्यसमा नाटकीय तत्व हुनुपर्छ ।
सुलक्षण भारती यतिबेला नाटक सलेदोमार्फत रंगमञ्चमा चर्चित छन् । सिर्जना अधिकारीको निर्देशनमा बनेको यो नाटकको कथावस्तु सुलक्षण र सिर्जना दुवैलाई मन परेको छ । नाटकमा यस्तो सामाजिक समस्या उठाइएको छ जसमा प्राय: मानिसहरूको ध्यान गएको हुँदैन । समाजको नजिकको कथा हो यो, –सिर्जना भन्छिन् । कथामा ६४ वर्षको एउटा मानिस ७५ वर्षको परिकल्पनामा बाँचेको हुन्छ । विगत सम्झिएर बाँचिरहेको त्यो मानिसको अभिनय सुलक्षण आफैंले गरेका छन् र उम्दा गरेका छन् । दर्शक रुचि श्रेष्ठ भन्छिन्— सुलक्षणको अभिनय जीवन्त छ र अब्बल पनि छ ।
सिर्जना र सुलक्षण वास्तविक जीवनमा एक–अर्काका पूरक हुन् । अभिनय कर्ममा पनि उनीहरू एक–अर्काका पूरक छन् । रंगकर्मका बारेमा दुवैको विचार समान छ : नेपालमा रंगमञ्च भावनात्मक हिसाबले मात्र चलिरहेको छ । यो पेसा र व्यवसाय हुन सकेको छैन । सुलक्षणले नाटकमा अभिनय गरेर राम्रो पैसा कमाएका छैनन् । पारिश्रमिक लिएका छन् पत्रम–पुष्पम । त्यस्तो उल्लेख्य पैसा हात परेको छैन । उनीहरूको आफ्नै प्रोडक्सन बोक्सीको घर र मिल्क टीबाट अलि राम्रै पैसा पाएका हुन् सुलक्षणले । राम्रै भनेको १५ हजार र २५ हजार रुपैयाँ ।
दुवैका लागि अभिनय प्यासन हो । दुवै विचारप्रधान नाटक खेल्न चाहन्छन् ।
नाटक निर्देशकका रूपमा जम्दै गरेकी सिर्जनाका लागि निर्देशन चुनौती र रमाइलो दुवै हो । एउटा गतिलो निर्देशक भनेको टिम लिडर हो । उसले टिमको समायोजन गर्छ । अभिनयकर्ता र प्रविधिका बीच तालमेल मिलाउँछ । यो नै चुनौती हो अनि यो तालमेल मिलाउनुचाहिँ रमाइलो काम हो ।
अहिलेसम्म नेपाली नाटकका कुनै पनि कलाकारले निर्देशकका रूपमा सिर्जनासँग कुनै प्रश्न गरेका छैनन् । सिर्जनासँग मात्र होइन, कुनै पनि निर्देशकसँग । निर्देशकप्रति अदवको भाव छ कलाकारहरूमा । त्यसबाहेक, यसको अर्को पक्ष यो पनि हो कि निर्देशकसँग प्रश्न सोध्ने बौद्धिक हैसियत राख्ने कलाकार धेरै छैनन् । नाटकलाई समग्रमा बुझ्न एउटा जीवन पर्याप्त छैन । पूरै जीवन कि त नाटकको पुनर्निर्माण हो, कि नाटक जीवनको प्रतिविम्ब । नाटक र जीवनलाई अलग–अलग हिसाबले हेर्न सकिँदैन ।
अनि सम्बन्धमा । सिर्जना र सुलक्षणको सम्बन्धलाई उनीहरूको रंगकर्मले थिचेको छ । घर–व्यवहारको कुरा सिरियसली गर्दा पनि नाटकमा अभिनय गरेजस्तो फिल भैरहेको हुन्छ । सिर्जनालाई बाइकमा राखेर हिँडेका बेला सुलक्षणका नजरहरूले आवारागर्दी गर्न पाउँदैनन् । यो उनका लागि रमाइलो पीडा हो । पार्टीहरू र पारिवारिक जमघटमा मात्र उनीहरू बूढाबूढीका रूपमा स्थापित हुन्छन् । दुवै कलाकार हुन् । त्यसैले एक–अर्काको प्रतिस्पर्धीजस्ता देखिन्छन् । एक–अर्काप्रति एक–अर्काको ध्यान कसरी खिच्ने ? यही ध्याउन्नमा हुन्छन् उनीहरू ।
हामीले जन्माएको बच्चा पनि नाटकको हिस्सा होला भन्ने डर भैसक्यो, सिर्जना भन्छिन्— आमा र बाबुका बेग्लै कुरा । बच्चा पेन्डुलमजस्तो ।
त्यसपछि एउटा लामो समवेत हाँसोले वातावरणलाई रमाइलो बनाउँछ ।