सुर्खेतको वीरेन्द्रनगर प्रदेश नम्बर ६ को सम्भावित राजधानी हो । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका देवकुमार सुवेदी मेयर निर्वाचित भए । मध्यपश्चिमको चर्चित सुर्खेत क्याम्पस, शिक्षा संकायमा स्ववियु सभापति तथा नेविसंघको केन्द्रीय सदस्य रहिसकेका ४१ वर्षीय सुवेदी नेविसंघको राजनीति गर्दै दुई कार्यकाल कांग्रेसको नगर सभापति भैसकेका छन् । उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।
तपाईंका प्राथमिकता के हुनेछन् ?
वीरेन्द्रनगर नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा चुस्त–दुरुस्त बनाउनु पहिलो काम हुनेछ । धेरै वडामा वडा कार्यालय व्यवस्थित छैनन्, सुशासन कायम गर्नुपर्नेछ । विकास–निर्माणको वर्तमान अवस्था अध्ययन गरी थप योजनाबद्ध, समानुपातिक र शीघ्रतामा ध्यान दिइनेछ । वीरेन्द्रनगरसँग पुरानो गुरुयोजना पनि छ । पछि थपिएका गाविससहितको नगर क्षेत्रको विस्तृत गुरुयोजना तत्काल बनाउनुपर्नेछ । अर्को ठूलो समस्या खानेपानी हो । त्यसका लागि अल्पकालीन एवं दीर्घकालीन योजना निर्माण मुख्य प्राथमिकता हुनेछन् ।
कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?
सम्बन्धित क्षेत्रका विज्ञ, स्थानीयवासी, राजनीतिक दललगायत सरोकारवालाहरूसँग समन्वय गरेर वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउने प्रयास गर्नेछु । भौतिक पूर्वाधारले सम्पन्न, सफा सुग्घर, व्यवस्थित पयर्टकीय स्थल, उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षण, हरियाली सहरका साथै प्रदेश नम्बर ६ को राजधानी सहरका रूपमा विकास गर्नेछु । पहिलोपटक यहाँ आउने आगन्तुकलाई ‘आहा π क्या राम्रो वीरेन्द्रनगर’ भन्न लायक बनाउनेछु ।
साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?
स्थानीय स्रोतहरूको समुचित परिचालन एवं केन्द्रीय सरकार तथा निजी क्षेत्रसँगको साझेदारीका आधारमा नगरपालिकाको साधन–स्रोत व्यवस्थापन गर्नेछु । जनताको सहभागिताबिना विकास सम्भव छैन । त्यसैले नगरपालिकाका हरेक योजनामा जनताको साझेदारी खोजिनेछ । वीरेन्द्रनगर औद्योगिक सहर होइन । त्यसैले यहाँ निकै कम कर उठ्छ । तैपनि संकलित करको सदुपयोग गरिनेछ । भ्रष्टाचार निवारण गरी फजुल खर्चलाई समेत निरुत्साहित गरिनेछ । उपलब्ध प्राकृतिक स्रोत–साधन, वन जंगल, गिटी बालुवाको सही व्यवस्थापन गरिनेछ । पर्यटक आकर्षित गर्ने हिसाबले यहाँका पर्यटकीय सम्पदाहरूको प्रवद्र्धन गरी आन्तरिक आय वृद्धि गर्ने योजना छ ।