म २२ वर्षीय युवा हु । हालसालै कलेज अध्ययनरत एक युवतीसँग परिचय भयो, नजिक भइयो र चाँडै नै अर्थात् सप्ताहन्तमा यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएजस्तो लागेको मैले महसुस गरेको छु । हामीले सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं तर अहिले उनी कम मात्रामा मेरो नजिक आएको महसुस भैरहेको छ । मसँगको यौनसम्पर्कले उनलाई अप्ठेरो परेजस्तो लागेको छ । मैले सुनेको छ, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन । मैले यही कुरा उनलाई भनेको पनि छु तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौन सम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । उनी मसँग एकान्त वातावरणमा बस्न तथा टाढाको यात्रामा निस्कन चाहन्नन् । यसले यौनसम्पर्कका लागि उपयुक्त वातावरण बनाउने थियो भन्ने मलाई लाग्छ तर उनले यही कुरा बुझेर मेरो त्यस्तो प्रस्ताव इन्कार गरेजस्तो लाग्छ । म उनीप्रति असाध्यै आकर्षित छु र उनैलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति शंका एवं अविश्वास गरेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्बन्धका लागि छिटो यौनसम्पर्कमा पुग्नु नराम्रो नै हुन्छ ?
ए
तपाईंहरू दुवै जना कलेज अध्ययन गर्ने युवा हुनुहुँदो रहेछ । यस्तो बेला विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वभाविक हो । अर्को कुरा के पनि हो भने तपाईंहरू दुवै जना अहिले अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने जोडी हुनुहुन्छ । यही समय प्रेममा फस्ने उमेर पनि हो । जीवनलाई सफल बनाउन केही सम्झौता गर्नुपर्ने हुन्छ । त्यसैले तपाईंहरूले प्रेमलाई भन्दा अध्ययनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ, तर तपार्इंहरू प्रेममा पनि अघि बढिसक्नुभएको र यौनसम्पर्क पनि भैसकेको अवस्थामा हुनुहुन्छ ।
त्यति मात्र होइन, तपाईंहरूमा नजिक हुनासाथ यौनसम्पर्कमै पुगिहालियो, यसले अध्ययन वा समाजमा वा परिवारमा असर पार्ला कि भन्ने चिन्ता बढ्न थालेको पनि देखिन्छ । निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौनसम्पर्कमा पुगिहालेकाले प्रेमीलाई केही आत्मग्लानि भएको हुनसक्छ । त्यो कुरा तपार्इंले संकेतका रूपमा प्राप्त गर्नुभएको छ र त्यसले तपाईंलाई छटपटी गराएको छ । हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि उहाँको छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले जोगाएर राखिएको भर्जिनिटी तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपार्इंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका छ ।
पहिलेका अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले पनि त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर गर्दैन, तर पछिल्लो समय बर्मिङहम विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन गुणस्तरीय सम्बन्धमा असर नकारात्मक पार्छ । उक्त अध्ययन १० हजार मानिसमा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका थिए । त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि नराम्रो नहुने प्रतिक्रिया दिएका छन् । बाँकी प्रतिक्रिया नगण्य छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक–पटकको डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ । मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाईंहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरूका बीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तपाईंहरूलाई तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिँदैन । एउटा कौतूहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । पढ्नुपर्ने बेलामा यसले मानसिक शान्ति खलबल्याएको छ । हरेक कुरा स्वभाविक ढंगले अघि बढेको खण्डमा त्यसले राम्रो नतिजा दिन्छ । एक–अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम–कानुनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ । एक–अर्कालाई बुझ्ने, यौन सम्पर्कका सकारात्मक–नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यसमा स्पष्ट हुने, जीवनका उच्च तथा न्यून प्राथमिकताहरूका बारेमा थाहा पाउने एवं आपसमा सञ्चार गर्ने व्यवहारले सामीप्यता अझ बढाउँछ, प्रेम सम्बन्ध घनिभूत हुन्छ ।
यसले विभिन्न शंका–उपशंका पैदा हुन दिँदैन भने मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ । प्रेमीलाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाईं बढी छटपटिनुभएको हुन सक्छ । यसका लागि तपाइंले उनलाई राम्रोसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ, अर्थात् आफ्नी प्रेमिकाको प्रतिक्रिया के छ भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउनुहोस्, समाधान त्यही निस्कन सक्छ । उनमा नकारात्मक असर परेको छ भने पनि आपसमा छलफल गरेर मन माझ्न सकिन्छ । यसले तपाईंहरू दुवै जनालाई थप नजिक ल्याउन मद्दत पुर्याउँछ ।