सिन्धुलीको कमलामाई नगरपालिकाका नवनिर्वाचित मेयर खड्ग खत्री सामान्य किसान परिवारमा ०२२ साल जन्मिएका हुन् । नगरपालिकाकै ७ नम्बर वडाका बासिन्दा खत्रीले ०४१ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । खत्री ०४९ सालको स्थानीय निर्वाचनमा सिद्धेश्वर गाविसको वडाध्यक्ष भएका थिए । प्रमाणपत्र तहसम्म अध्ययन गरेका खत्री ०५४ सालको स्थानीय निर्वाचनमा आफ्नो वडाबाट सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक यात्राका क्रममा उनी पार्टीको इलाका सदस्य, उपसचिव हुँदै ०७० मा अञ्चल समिति सदस्य भएका थिए ।
तपाईंको प्राथमिकता के–के हुनेछन् ?
कमलामाई नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउनु मेरो पहिलो प्राथमिकता छ । तत्कालीन समयमा ब्रिटिस सेनालाई पराजित गरेर फर्काएको ऐतिहासिक सिन्धुलीगढीलाई पहिलो प्राथमिकता दिएर पर्यटकीय क्षेत्र बनाउने तथा त्यसबाट समग्र नगरवासीको आयआर्जनमा वृद्धि गराई नगरलाई समृद्ध बनाउनेछु । नगरमा विद्युत्, खानेपानी तथा सिँचाइ मेरो प्राथमिकतामा रहनेछन् । भूकम्प पीडितलाई अनुदान तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने एवं मुख्य सहरी क्षेत्रमा सहरी सडक निर्माण गर्ने लक्ष्य छ ।
कमलामाईलाई कस्तो सहर बनाउने परिकल्पना गर्नुभएको छ ?
कमलामाईलाई सुन्दर नगर बनाइ नगरवासीको चाहना पूरा गर्ने जिम्मेवारी हामीमाथि छ । स्थानीय स्रोत–साधन जुटाउने एवं त्यसको परिचालन गर्ने काम हुनेछ । विकास–निर्माणमा कमलामाईलाई अन्य नगरपालिकाको तुलनामा अब्बल बनाउने सोच छ । कमलामाईलाई नेपालकै नमुना नगरपालिका बनाउने मेरो लक्ष्य छ ।
साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?
ऐतिहासिक सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्र बनाउने एवं सिद्धबाबा मन्दिर तथा कमलामाई मन्दिरलाई धार्मिक एवं पर्यटकीय स्थलका रूपमा विकसित गर्ने लक्ष्य छ । त्यसका अतिरिक्त करको दायरा फराकिलो बनाई आम्दानी लिन सकिन्छ । स्थानीय स्रोत बाहिरिँदा उठ्ने कर पनि नगरको प्रमुख आयस्रोत हो ।