सगरमाथा दिवसको अवसरमा हङकङमा आयोजना भएको हाईक फर नेपाल र च्यारिटी डिनरवाट हामी उठ्ने छौं फाउण्डेसनले १० लाख रुपैंया संकलन गर्न सफल भएको छ ।
सगरमाथा दिवसको अवसरमा प्रत्येक बर्ष आयोजना हुदैं आएको हाईक फर नेपालको आयोजना हामी उठ्ने छौं फाउण्डेसनले दोस्रो पटक आयोजना गरेको हो । नेपालको पर्यटनलाई टेवा पुर्याउने उद्धेश्यले आयोजना गरिएको यो कार्यक्रममा यसपटक सगरमाथा आरोही एवं अभिनेत्री निशा अधिकारीका साथ करिव ४ सय ब्यक्तिले हङकङको लायन रक पहाडमा हाईकिङ गरेका थिए भने सोही साँझ आयोजना भएको ब्ल्याक टाई च्यारिटि डिनरमा निशाको सगरमाथा आरोहणको कथा सुनेका थिए ।
फाउण्डेसनले हङकङवाट सगरमाथा आरोहण गर्ने पहिलो महिला एडा साङ यिन होङलाई सम्मान गर्दै यसपटक संकलन भएको रकम सार्वजनिक गरेको हो । फाउण्डेसनका संस्थापक तुलसीकुमार गुरुङका अनुसार यस बर्ष हङकङमा बस्ने नेपालीको मात्र नभएर धेरै देशका ब्यक्तिहरुले हाईकिङ गर्दै नेपाल प्रति चासो राखेको बताउनु भयो । भूकम्प पछि खस्कदै गएको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्धेश्यले आयोजना भएको यो कार्यक्रम धेरै राम्रो भएको गुरुङले बताउनु भयो । फाउण्डेसनले संकलन गरेको रकम नेपालको कुनै दुर्गम क्षेत्रको शिक्षा क्षेत्रको विकास गर्न खर्च गरिने बताउनु भयो ।
फाउण्डेसनले यसपटक आयोजना गरेको ‘हाईक फर नेपाल’ र ‘एभरेष्ट डे’ मा हङकङ स्थित महावाणिज्य दूताबास, गैह्र आवासिय नेपाली संघ, नेपाल चेम्बर अफ कमर्स हङकङ, नेपाली महिला संघ लगायत करिव एक दर्जन संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमा विभिन्न १४ देशका वाणिज्यदूतहरुका कर्मचारीहरुको सहभागिता रहेको थियो । फाउण्डेसनका अर्का संस्थापक सुरज गुरुङका अनुसार यो कार्यक्रमले हङकङमा बसोबास गर्ने नेपालीलाई मातृभूमी प्रति प्रेम जगाउनुका साथै विदेशीहरुलाई नेपाल प्रति आकर्षण बढाउन सफल भएको बताए । उनका अनुसार फाउण्डेसनले प्रत्येक बर्ष सगरमाथा दिवसको अवसरमा यस्तै किसिमको कार्यक्रम गर्ने जनाए ।
फाउण्डेसनका अनुसार आगामी अगष्ट १९ तारिखमा बेलायतमा पनि यस्तै प्रकृतिको कार्यक्रम गर्ने जनाएको छ । बेलायत स्थित पोखरेली मञ्चसंगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको तुलसी गुरुङले जानकारी गराउनु भयो ।