साप्ताहिक संवाददाता
सुरबिना कार्कीले ढिलै भए पनि आफ्नो कमजोरी कम गर्ने प्रयत्न गरिरहेकी छिन् । उनको पहिलो कमजोरी जस्तो पायो त्यस्तो भूमिका निर्वाह गर्नु र जसको पनि चलचित्रमा काम गर्न खोज्नु थियो, जसलाई उनले बिस्तारै कम गरिन् ।
सौगात मल्ल र कर्मसँग चलचित्र ‘लुकामारी’मा उनले गरेको भूमिकाको प्रशंसा पनि भयो । उनको दोस्रो कमजोरी चलचित्र क्षेत्रको ‘ख’ श्रेणीको कलाकारका रूपमा प्रस्तुत हुनु थियो । त्यही प्रकारको संगतका कारण उनलाई हेर्ने दृष्टिकोण पनि फरक थियो । सुरविना अहिले आफूलाई ‘क’ वर्गको कलाकारका रूपमा प्रस्तुत गर्ने प्रयासमा छिन् । उनको तेस्रो र महत्वपूर्ण कमजोरी भनेको अभिनय थियो ।
मुम्बईमा अनुपम खेरसँग अभिनयको तीनमहिने विशेष कक्षा लिएर केही समयअघि सुरबिना स्वदेश फर्किएकी छिन्, तर अहिले उनलाई अभिनयका लागि कसैले प्रस्ताव गरिरहेका छैनन् । सुरबिना भन्छिन्– मैले आफूमा भएका धेरै कमजोरी सुधारिसकेँ । अहिले म गतिलो र पावरफुल भूमिकाको प्रतीक्षामा छु । अब मलाई नायिका होइन, नेपाली चलचित्रकी असल अभिनेत्रीका रूपमा भएर चिनिनु छ ।’