तपाईंलाई अधिकांशले मिस नेपालकै दावेदार मानेका थिए नि ?
मैले पनि सुनेकी थिएँ, तर यो एउटा प्रतिस्पर्धा हो । यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धी नै विजेता हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।
आफूले प्राप्त गरेको उपाधिप्रति खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु । हामी चारै जना मिस नेपाल हौं भन्ने कुरा मैले बुझेकी छु । हामीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्लेटफर्ममा उपस्थित हुने अवसर पाएका छौं । यो ठूलो अवसर तथा चुनौती पनि हो ।
परिणामप्रति केही भन्नु छ कि ?
म परिणामप्रति अत्यन्त सकारात्मक छु । मलाई यो परिणामप्रति कुनै गुनासो छैन । मेरा साथीहरूले नै जितेका छन् । म यो कुरामा खुसी छु ।
निर्णायक चरणमा तपाईं अलि नर्भस हुनुभएको हो ?
अन्तिम चरणको जवाफ दिने क्रममा मलाई केही असहज भएकै हो । म नर्भस भएँ त भन्दिनँ, तर केही क्षणका लागि म ब्ल्यांक भएकी थिएँ । जवाफ दिने क्रममा म हल्का अलमलिएँ, यद्यपि मेरो जवाफलाई उत्कृष्ट मानिएकाले नै मैले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेकी हुँ ।
मिस नेपाल नबन्दा तपाईंका प्रशंसकहरू निराश भएजस्तो लाग्दैन ?
त्यस्तो होइन । धेरैलाई म तेस्रो भएँ भन्ने लागेको छ । वास्तवमा हामी चारै जना मिस नेपाल हौं ।
मिस इन्टरनेसनलको तयारी कसरी गर्दै हुनुहुन्छ ?
नोभेम्बर महिनामा जापानमा हुने उक्त प्रतियोगिताका लागि मैले तयारी प्रारम्भ गरिसकें । अघिल्ला वर्षका भिडियोहरू हेरेर त्यसको तयारी थालेकी छु । मिस इन्टरनेसनलका सहभागीहरूको उचाइ देखेर भने म छक्क परेकी छु, कति अग्ला–अग्ला प्रतिस्पर्धी ?