खेलले सम्बन्धलाई जोड्छ । एक अर्काप्रति आत्मियता बढाउँछ । सबै मिलेर लक्ष्य पूरा गर्न सुझाउँछ पनि । विभिन्न खेलप्रेमीहरू आफूलाई रुचि भएको तथा मन परेको खेलको प्रवद्र्धनमा विभिन्न तरिकाले जुट्ने गरेका छन् । यस्तैमा स्केटिङप्रति लगाव भएकाहरूको समूह यो खेलको प्रवद्र्धन गर्दै स्केटर्सको उत्पादन वृद्धिमा लागि परेको छ ।
खेलप्रेमीहरूकै पहलमा नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण भएको छ । स्केटिङप्रति लगाव भएकाहरूको संस्था मेक लाइफ स्केफ्ट लाइफमा आबद्ध विदेशीहरूको संलग्नतामा यो सेन्टर निर्माण भएको हो । २१ दिनमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम प्रारम्भ गरेका उनीहरूले निर्धारित समयमै स्केटिङ सेन्टरको निर्माण सम्पन्न गरी क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरे ।
यो सेन्टर निर्माणमा रसिया, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, भारत, स्विडेन, बेलायत, फ्रान्स, पोर्चुगल आदि २० देशबाट आएका ५० जनाभन्दा बढी विदेशी खटिएका थिए । उक्त निर्माणमा विदेशका प्रोफेसनल स्केर्टसहरूको समेत सहभागिता थियो ।
यो सेन्टरको निर्माणमा अन्तर्राष्ट्रिय स्केटिङ संघ तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सहकार्य गरेका थिए । सेन्टरको नाम अन्नपूर्ण स्केटपार्क राखिएको छ ।
सन् २०२० मा जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिकमा पहिलो पटक स्केटिङ समावेश हुन लागेकाले अन्तर्राष्ट्रिय स्केटिङ संघ यो खेलको विस्तारमा जुटेको हो । अन्तर्राष्ट्रिय स्केटिङ संघको सहयोगबाट नेपाली खेलाडीहरू उत्साहित भएकाले नेपालको स्केटिङको विकासमा यसले टेवा पुर्याउने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको विश्वास छ । पोखरालाई स्केटिङ खेलको हब बनाउने लक्ष्य राखिएको पौडेलले बताए ।
यसअघि नेपालमा काठमाडौं र पोखरामा निजीस्तरबाट स्केटिङको सामान्य विकास भएको थियो । पोखरा रंगशालामा निर्माण भएको स्केटिङ सेन्टरले सरकारलाई स्केटिङ विकासमा लाग्न बाध्य तुल्याउने खेलाडीहरूको प्रतिक्रिया छ ।
क्यालिफोनियाका जोन चोकोनसको नेतृत्वमा आएको टोलीले छैटौं प्रोजेक्टका रूपमा पोखरामा यसको निर्माण सम्पन्न गरेको हो । यसअघि भारत, बोलेभिया, जोर्डन, इथोपिया तथा म्यानमारमा स्केट सेन्टर निर्माण गरिएको जोनले बताए ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा स्केटिङ खेलको भविष्य राम्रो रहेको बेल्जियमकी किमले बताइन् । पूर्वाधार नभएको ठाउँमा स्केटिङ सेन्टर बनाउने अभियान जारी रहने उनले जनाइन् । पोखरामा बनेको स्केटिङ सेन्टर २२ हजार डलरको लागतमा निर्माण गरिएको हो । यो सेन्टर निर्माण पछि यहाँ स्केटर्सको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । पोखरामा यसअघि रामकृष्ण कोइरालाले निजी स्तरमा स्केटिङ सेन्टर सञ्चालनमा ल्याएका थिए ।