केही वर्षयता बुटवलका उच्च मावि तथा कलेजहरूले शैक्षिक गुणस्तर एवं नतिजामा काठमाडौंकेन्द्रित विद्यालय तथा कलेजहरूलाई चुनौती दिने खालका नतिजा ल्याउन थालेपछि प्लस टु अध्ययन गर्न अन्यत्र मन डुलाउने वा भौंतारिने विद्यार्थीहरू अहिले बुटवललाई नै छान्न थालेका छन् ।
औद्योगिक एवं व्यापारिक केन्द्रका हिसाबले रोजगारीको पनि अवसर भएकाले प्लस टु वा उच्च शिक्षाका लागि अधिकांश छिमेकी जिल्लाका विद्यार्थीको रोजाइसमेत बुटवल बन्न पुगेको छ । अहिले बुटवल प्लस टु शिक्षाका लागि काठमाडौं वा अन्य सहरको मुख ताक्नु नपर्ने गरी भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, अत्याधुनिक शिक्षण विधि एवं प्रविधिको प्रयोगका साथै अतिरिक्त क्रियाकलाप सबै कुरामा सम्पन्न हुँदै अघि बढेको छ । एसएलसीमा राम्रो अंक ल्याएका विद्यार्थी राम्रा प्लस टु खोज्दै काठमाडौं जाने प्रवृत्ति रोक्न ई–लाइब्रेरी, सुविधासम्पन्न प्रयोगशाला एवं चिटिक्कका कक्षा कोठा निर्माणमा यहाँका कलेजहरूले ध्यान केन्द्रित गरेका छन् । पठन–पाठन मात्र नभएर भौतिक पूर्वाधार पनि चुस्त र आधुनिक भएका कारण विद्यार्थीको आकर्षण बुटवलमै छ । यहाँका एक दर्जनभन्दा बढी कलेजले अहिले काठमाडौंका प्लस टु कलेजलाई आफ्नो प्रतिस्पर्धी मान्छन् । केही वर्ष अघिसम्म भाडाका घरमा सञ्चालित प्लस टु विद्यालय तथा कलेजहरू अहिले आफ्नै सुविधासम्पन्न भवनमा सरिसकेका छन् । ‘शैक्षिक गुणस्तर त छँदैछ, शुल्क र बसाइ पनि काठमाडौंभन्दा सस्तो पर्ने भएकाले पनि उच्च शिक्षाका लागि विद्यार्थी एवं अभिभावकको रोजाइ बुटवल नै बन्न थालेको छ,’ –बुटवलका शिक्षाविद् डा. आर.सी. आचार्यको ठम्याइ छ । यहाँ शैक्षिण गुणस्तर अब्बल र दिगो बनाउन कलेज सञ्चालकहरूले शिक्षकहरूलाई नै सेयर दिएर विद्यालय तथा कलेज चलाइरहेका छन् । कतिपय कलेज शिक्षकको पूर्ण स्वामित्वमा छन् । शिक्षकको पूर्ण स्वामित्व हुँदा शैक्षिक व्यवस्थापन राम्रो गर्न सकिने तथा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरूले विशेष मेहनत गर्ने शिक्षाविद् आचार्यको बुझाइ छ ।
राष्ट्रिय परीक्षा बोर्ड बुटवलका अनुसार रूपन्देहीमा सरकारी, सामुदायिक तथा निजी गरी १ सय उच्च मावि सञ्चालनमा छन्, जसमध्ये ५१ वटा सामुदायिक तथा ४९ वटा निजी उच्च मावि छन् । ६ वटा सामुदायिकसहित २१ वटा उच्च माविमा विज्ञान विषय पढाइ हुन्छ । व्यवस्थापन संकायका लागि अक्सफोर्ड, क्षितिज इन्टरनेसनल, लुम्बिनी, सिद्धार्थ, गौतमबुद्ध, राममणि, एम्स, नेपथ्य, स्काई, सिद्धार्थ इन्टरनेसनल नाम चलेका र राम्रो नतिजा ल्याउने कलेज हुन् । राष्ट्रिय परीक्षा बोर्ड बुटवलका सूचना अधिकृत बाबुराम भण्डारीका अनुसार सरकारी तथा सामुदायिकको तुलनामा निजी उच्च माविहरूमा विद्यार्थीको आकर्षण एवं नतिजा राम्रो छ । यहाँका कालिका उच्च मावि, नवीन औद्योगिक उच्च मावि तथा कान्ति उच्च मावि आफूलाई निजी सरह उभ्याउन सफल छन् ।
बुटवलका प्लस टु अहिले काठमाडौंका नामी उच्च माविसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा पुगेको ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत न्यु होराइजन उच्च माविका प्राचार्य एवं प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय बताउँछन् । हामी शिक्षकको योग्यता एवं दक्षता, भौतिक पूर्वाधार तथा व्यवस्थापन सबै हिसाबले काठमाडौंका कलेजभन्दा कम छैनौं, –उपाध्यायले साप्ताहिकलाई बताए ।
एसएलसीमा यस क्षेत्रका संस्थाहरू सफलताको उत्कर्षमा पुगेपछि अहिले राम्रा प्लस टु र कलेज प्रवद्र्धन गर्ने होडबाजी चलेको छ । न्यू होराइजन उच्च मावि र तिलोत्तमा कलेज देशकै उत्कृष्ट २५ प्लस टुमा गनिन्छन् । त्यसका अतिरिक्त अक्सफोर्ड, मणिमुकुन्द, ग्लोरियस, कालिका आदि प्लस टु पनि यो क्षेत्रका अग्रणी शैक्षिक संस्था हुन् ।
बुटवलका शिक्षण संस्थाले सबै विषयमा उत्कृष्ट नतिजा दिन सफल हुनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति, शैक्षिक अवलोकन भ्रमण, जब प्लेसमेन्टको सुविधासमेत दिन थालेपछि केही वर्षयता विद्यार्थीले उच्च शिक्षाका लागि बुटवललाई नै रोज्न थालेको अक्सफोर्ड कलेज बुटवलका प्राचार्य दिनेश भुसालले बताए ।
न्यू होराइजन, तिलोत्तमा र कालिकाका विद्यार्थीले इन्जिनियरिङ र चिकित्साशास्त्र अध्ययन संस्थानको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउने गरेका छन् । छात्रवृत्तिमा नाम निकाल्नेहरूको संख्या पनि ठूलो छ ।
ए लेभल पनि बुटवलमै
बुटवलको शंकरनगरस्थित बुटवल पब्लिक स्कुलले तीन वर्षदेखि ए लेभलको पढाइ सञ्चालन गरिरहेको छ । यस क्षेत्रमै पहिलो पटक ए लेभलको अध्यापन सुरु गर्ने बुटवल पब्लिक पहिलो कलेज हो । ए लेभल पढ्न चाहने विद्यार्थीले काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न हामीले ए लेभल कार्यक्रम भित्र्याएका हौं, –बुटवल पब्लिक स्कुलका संस्थापक प्राचार्य हेमलाल शर्मा भुसाल भन्छन्– विज्ञान र ब्यबस्थापनमा २४–२४ जना गरी ४८ विद्यार्थीलाई पढाउन सक्छौं ।