साप्ताहिक संवाददाता
रामेछाप रनास्लु—८ की सञ्चिता पाख्रिन (तामाङ) कहिलेकाहीं साथी गंगालाई भेट्न चाबहिलस्थित उनको डेरामा पुग्थिन् । चाबहिलमा उनकी साथी गंगा तामाङ आफ्ना श्रीमान्सँग बस्थिन् । त्यही सञ्चिताको भेट दोलखा, बैतेश्वरका प्रशान्त तामाङसँग भयो । प्रशान्त नाताले गंगाका श्रीमान्का काका पर्थे । प्रशान्त आफ्नो भतिजा र सञ्चिता आफ्नी साथीलाई भेट्न जाँदा उनीहरूबीच पहिलो पटक चाबहिलमा भेटघाट भएको थियो— दुई वर्षअघि ।
पहिलो भेट हुँदा प्रशान्त २२ वर्षका थिए भने सञ्चिता २१ वर्षकी । उमेरका हिसाबले उनीहरू दुवै युवा थिए । दुई–तीन पटक गंगाको कोठामा भएको भेटका क्रममा सञ्चिता र प्रशान्तका आँखा जुधे । एक–अर्काप्रति आकर्षण बढ्दै गयो । बाक्लिँदा भेटहरूका कारण उनीहरू दुवै जना नजिकिँदै गए ।
एक–अर्कासँग बढेको आकर्षणले गंगाको कोठामा मात्र हुने उनीहरूको भेटघाटको संसार बदलियो । प्रशान्त र सञ्चिता सुटुक्क एक–अर्कालाई फोन गर्थे र भेट्न निस्कन्थे । प्रशान्त सञ्चिताप्रति निकै आकर्षित थिए, सम्भवत: सञ्चिता पनि । त्यसैले उनीहरूको आकर्षण चाँडै प्रेममा परिणत भयो । प्रेममा परेपछि प्रशान्त र सञ्चिता धेरै पटक डेटमा गए ।
हात्तीवनमा मूर्तिकलाको काम गर्ने दोलखाका प्रशान्त र चाबहिलस्थित एक होटलमा काम गर्ने रामेछापकी सञ्चिता कहिलेकाहीं सँगै रातसमेत बिताउन थाले । कोठामा सँगै रात बिताउँदा उनीहरूबीच शारीरिक सम्बन्ध स्थापित भयो । सञ्चिता बस्दै आएको कोठामा समस्या देखिएपछि केही महिनाअघि प्रशान्तले सञ्चिताका लागि काठमाडौं महानगरपालिका गंगाहिटीमा छुट्टै कोठा खोजी दिए । उनले त्यसको भाडा पनि आफैंले तिरिदिने गरेका थिए । त्यति मात्र होइन, प्रशान्तले सञ्चितालाई खर्चसमेत दिने गरेको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । विवाह नै गर्ने उद्देश्यले प्रशान्तले ७०/८० हजार रुपैयाँ सञ्चितालाई दिएको देखिन्छ, –गौशाला प्रहरी वृत्तका प्रहरी निरीक्षक राजकुमार राईले साप्ताहिकसँग भने ।
पटक–पटकको शारीरिक सम्पर्कपछि सञ्चिता गर्भवती भइन् । सञ्चिता गर्भवती भएपछि प्रशान्त फुरुङ्ग भए । उनीहरूले २०७४ असारमा विवाह गर्ने योजना बनाएका थिए । म सञ्चितालाई निकै माया गर्थें, उनलाई गुमाउन चाहदिनथें, प्रशान्तले प्रहरीसँगको बयानमा भनेका छन्— त्यसैले उनले मलाई छाड्लिन भन्ने डर मलाई लागिरहन्थ्यो । सञ्चिता गर्भवती भएपछि भने प्रशान्त अलि ढुक्क भएका थिए । सञ्चिता र आफूले असारमा विवाह गर्ने योजनासमेत बनाएको प्रशान्तले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।
यता गर्भवती भएको केही समय नबित्दै सञ्चिताको मुड परिवर्तन हुन थाल्यो । उनले प्रशान्तलाई थाहै नदिई आफ्नो गर्भपतन गराइन् । आफूलाई थाहै नदिई सञ्चिताले गर्भपतन गराएको थाहा पाएपछि प्रशान्त रिसले आगो भए । उनले सञ्चितासमक्ष आफ्नो असन्तुष्टि व्यक्त गरे तर सञ्चिताले आफूले अर्को मान्छे भेटेको र अर्कैसँग विवाह गर्ने कुरा प्रशान्तलाई सुनाइन् ।
त्यसपछि उनीहरूको प्रेम सम्बन्धमा विवादको बादल लाग्न थाल्यो । सञ्चिताले पटक–पटक आफूलाई बेवास्ता गर्न थालेपछि प्रशान्त अझ रिसाउन थाले, जसका कारण उनीहरूबीच पटक–पटक विवाद हुन थाल्यो । प्रशान्त सञ्चितालाई आफ्नी बनाउन चाहन्थे तर सञ्चिताले केही समयदेखि आफूले अर्कैसँग विवाह गर्ने भनेर प्रशान्तलाई टेर्न छाडेकी थिइन् । पैसा लिएको र विवाह गर्न पनि नमानेपछि उनीहरूबीच विवाद बढेको देखिन्छ । प्रहरी निरीक्षक राई भन्छन्— सञ्चिताले पैसा लिइन्, विवाह गर्न मानिनन् अनि गर्भ पनि फालिन् । यी सबै कुराले प्रशान्तलाई अपराधकर्ममा धकेलेको देखिन्छ ।
यसरी भयो हत्या
वैशाख ४ गते साँझ सञ्चिताले आफूलाई मोबाइल किन्न पैसा चाहिएको बताएपछि आफू उनको गंगाहिटीस्थित डेरामा पुगेको बयान प्रशान्तले प्रहरी समक्ष दिएका छन् । डेरामा पुगेपछि प्रशान्तलाई सञ्चिताले आफूले गर्भपतन गराएको र विवाह पनि नगर्ने कुरा सुनाइन् ।
आफूलाई थाहै नदिई गर्भ फालेको र विवाह नगर्ने सञ्चिताको अडान सुनेर प्रशान्त रिसले आगो भए । त्यसैले त्यही साँझ उनी गंगाहिटीस्थित सञ्चिताको डेरा पुगे । त्यहाँ पनि उनीहरूबीच विवाद भयो । प्रेमिकासँगको विवादपछि तनावमा आएका प्रशान्तले राति १२ बजे सँगै जिउने सँगै बाँच्ने कसम खाएकी प्रेमिकाको सलले घाँटी थिचेर हत्या गरे । प्रहरीसँगको प्रारम्भिक बयानमा प्रशान्तले भनेका छन्— उनले गर्भपतन गराएको र विवाह नगर्ने कुरा भनेपछि हामीबीच विवाद भयो, त्यसपछि विवाद बढ्दै गएपछि हामीबीच झगडा भयो र मैले होस गुमाएँ । प्रशान्तले होस गुमाएपछि सञ्चितालाई ओछ्यानमा लडाए, घाँटी थिचे र सलले उनको घाँटी कसेर हत्या गरे ।
सञ्चिताको हत्या गरिसकेपछि उनले लासलाई सोही बेडमा सिरकले छोपे । राति १२ बजे हत्या गरेपछि शंका नहोस् भनेर उनले त्यो रात त्यहीं बिताए अनि बिहान ५ बजे कोठामा ताल लगाएर फरार भए । त्यहाँबाट फरार भएर केही समय भारतमा लुकेका प्रशान्त त्यसपछि दोलखास्थित आफ्नो घर फर्किएका थिए ।
यता सञ्चिताको हत्यापछि भने केही दिनसम्म उनी बस्ने कोठा सुनसान देखियो । घरबेटीहरूले पनि वास्ता गरेनन् । सञ्चिताको हत्या भएको चार दिनपछि वैशाख ८ गते बेलुका उनी बस्ने कोठाबाट गन्ध आउन थालेको थियो । कोठा गन्हाउन थालेपछि घरबेटीले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका खोलेर हेर्दा सञ्चिता पलङमा सिरकले छोपिएको र सलले घाँटी कसिएको अवस्थामा फेला परिन् । उनको शरीर कुहिएर गल्ने क्रममा थियो ।
सञ्चिताको लास भेटिएपछि उक्त घटनामाथि प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा तथा गौशाला प्रहरी वृत्तले अनुसन्धान अघि बढायो । अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले फरार रहेका उनका प्रेमी प्रशान्तले हत्या गरेको पत्ता लगाए थियो । प्रहरी त्यसपछि प्रशान्तको खोजीमा जुट्यो । भागेर दोलखा पुगेको खुल्न आएपछि दोलखा प्रहरीको सहयोगमा जेठ २४ गते प्रहरीले प्रशान्तलाई पक्राउ गरेको हो । हामीले उनलाई दोलखा प्रहरीको सहयोग पक्राउ गरेका हौं, –अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले साप्ताहिकलाई बताए ।
प्रहरीले आफ्नी २३ वर्षीया प्रेमिका सञ्चिताको घाँटी थिचेर हत्या गरेको अभियोगमा २४ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । हामीले अनुसन्धान जारी राखेका छौं, प्रशान्तसँगको प्रारम्भिक बयानमा उनले दिएको भनाइ उदृत गर्दै राई भन्छन्— विवाह गर्छु भन्ने केटीले नमानेपछि र आफूसँग नसोधी गर्भ फालेपछि आवेशमा उक्त घटना घटेको कुरा प्रशान्तले स्वीकार गरेका छन् ।